coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोबाइलमा रातो नम्बर : एप्सको खेल

काठमाडौं- मोबाइलको स्त्रि्कनमा विशेष ध्वनिसहित रातो नम्बरबाट फोन आउने र आएको नम्बर उठाए दुर्घटना हुने हल्लामात्रै भएको पुष्टि भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नम्बरको रङ परिवर्तन गर्न मिल्ने एप्स प्रयोग गरी फोन गर्ने र दुर्घटना भएको अफवाह फैलाउने दुईजनालाई पक्रेपछि घटना मिथ्या भएको पुष्टि भएको हो।

ब्युरोले एप्स प्रयोगबाट रातो नम्बरमा कल गर्ने दीपक बराइली र सो खबर सामाजिक सञ्जालमा बढाई चढाई पोस्ट गर्ने प्रश्ना पाण्डेलाई नियन्त्रणमा लिएको हो। गायिका प्रश्नाले आफूले गल्ती गरेको बताउँदै माफी मागेकी छन्। केही दिनयता सामाजिक सञ्जाल तथा केही अनलाइनमा यस्तै अफवाहसहितका खबर बढाई चढाई आइरहेका थिए।

ब्युरोका प्राविधिक अधिकारीले बुधबार सञ्चारकर्मी माझ रातो नम्बर आउने एप्सबाट फोन गरी देखाएका थिए। रातो नम्बरबाट फोन आउने सत्य भए पनि त्यसबाट कुनै असर नपर्ने प्राविधिकले जानकारी दिएका हुन्। केही दिनअघिदेखि सामाजिक सञ्जालमा पोस्ट भइरहेका यस्ता सामग्रीको त्रासले गौशालाका एकजना अस्पतालसमेत पुगेका थिए। गौशाला प्रहरीका अनुसार सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारपछि घर फर्किएका उनी रातो नम्बर आएपछि अत्तालिँदा बिरामी भएका हुन्।

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले केही दिनयता सामाजिक सञ्जालमा फैलिएको हल्ला र अफवाहको सत्यता बाहिर आएको बताए। उनले समाजमा आतंक फैलाउने गरी अफवाह गर्नु गम्भीर अपराध भएको बताउँदै प्रविधिजन्य अपराधमा संलग्न पाण्डे र बराइलीलाई आवश्यक कारबाही हुने जानकारी दिए।

'रातो नम्बर एप्सको प्रयोगबाट देखिएको हो, हल्लाका पछाडि नलाग्न र यस्ता खबर सामाजिक सञ्जालमा नराख्न अनुरोध गर्छौं', डिआइजी सिलवालले भने।

महानगरीय प्रहरी वृत्त गौशालाको सम्पर्कमा आएका तीन घटनामध्ये एकजना बिरामी भएको डिएसपी नवराज कार्कीले बताए। उनका अनुसार घटनाको जानकारी आएपछि अस्पतालमा सम्पर्क गर्दा त्रासका कारण बिरामी भएको जानकारी चिकित्सकले दिएका हुन्।

शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ मनोचिकित्सक सरोज वझाले तनाव सहन नसक्ने कमजोर मन भएका व्यक्तिलाई यस्ता घटनाले बिरामी बनाउने बताए। उनका अनुसार यस्ता व्यक्तिको मनमा पहिलेबाटै त्रास हुने र घटना भए तत्काल बेहोससम्म हुने गर्छन्। 'मानसिक रुपमा पहिलेबाट त्रासमा रहेका कमजोर व्यक्ति प्रभावित हुन्छन्। यस्ता मिथ्या विषयमा नसोच्ने र भरसक सत्य जान्न प्रयास गर्नुपर्छ,' वझाले नागरिकसँग भने।

प्रकाशित: २१ पुस २०७३ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App