coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जो निरन्तर दौडिरहेछन्

खेलकुद क्षेत्रमा सुनौलो पहिचान स्थापित भइसकेको नाम हो, वैकुण्ठ मानन्धर। नेपाली म्याराथनका महापुरुष भनेर चिनिने उनले सक्रिय खेलकुद जीवनबाट सन्न्यास लिएकै साढे दुई दशक पुग्न लागिसक्यो। औपचारिक रूपमा खेल जीवन सकिएको भए पनि उनको सक्रियता घटेन। बरु अझ बढ्यो। धेरैलाई फुर्सद मिल्ने शनिवारको दिन उनका लागि 'भ्याइ–नभ्याइ' हुन्छ। कहीँ सम्मान, पुरस्कार वितरण त कहीँ ग्रहण। सामाजिक सेवा क्षेत्रका धेरै कार्यक्रमले पनि उनको उपस्थिति खोजिरहेका हुन्छन्। जसले उनको व्यस्तता बढाइदिन्छ।

काठमाडौँ, कलंकी, सुनारगाउँस्थित उनको निवासमा मंगलवार दिउँसो पुग्दा उनी एक छिमेकीसँग पारिलो घाममा बदाम चपाउँदै गफिँदै थिए।
हिजोआज व्यस्तता घटेको हो? प्रश्न गर्दा उनले शुक्रवारकै लागि समय छुट्टाएर कुरिबसेको बताए। कुराकानीको क्रम उनको दैनिकबाट सुरु भयो। बिहान साढे ४ बजे ओछ्यान छोड्ने वैकुण्ठ झिसमिसेमै घरको सरसफाई गर्छन्। पाँच बजे रेडियोमा बज्ने भजन सुन्न नछुटाउने उनी आफैँ चिया बनाउँछन्। बिहान साढे ५ बजेदेखि नै उनको दौडधुप सुरु हुन्छ। 'दौडँदै स्टेडियम (दशरथ रंगशाला) पुग्छु। कम्तीमा २० राउन्ड लगाउँछु,' उनले भने। उनी अहिले पनि दैनिक १२–१५ किलोमिटर दौडने बताउँछन्। १० बजेतिर घर फर्केर खाना खाएपछि उनी बैठक कोठामा थुप्रिएका आमन्त्रणपत्र खोताल्छन्। दिनभरको दौडधूप सकेर साँझ घर फर्कन्छन्। परिवारसँग गफगाफ गर्दै खाना खाएर ९ बजेतिर ओछ्यानमा पल्टिहाल्छन्। 'अचेल चिसोमा त झन् चाँडै सुतिहाल्छु,' वैकुण्ठले भने, 'चाहिएजति आराम भएन भने शरीरमा अशान्ति पैदा हुन्छ।' सरल जीवनशैली अपनाउन चाहने वैकुण्ठको खानापिन पनि सादा नै छ। बिहान दालभात, तरकारी। साँझ रोटी। बिहानको खाजामा अण्डा त दिउँसो चियाबिस्कुट र मौसमी फलफूल। चिसो पानी पिउन डराउँछन् उनी। 'मुटुको अपरेसन गरेकालाई चिसो पानी र चिसो मौसम कत्ति नसुब्ने रै'छ,' ११ वर्षअघि मुटुको अपरेसन गरेका वैकुण्डले भने, 'कोलेस्ट्रोलको समस्या भएकाले रातो मासुदेखि पनि टाढै बस्छु।' खेलकुदसँग मायापिरती गाँसेको उनी सधेँ स्पोर्ट्स परिहनमा देखिन्छन्।


२००९ कात्तिक वैकुण्ठ चतुर्दशीमा जन्मेका उनको जीवनगाथा समेटेर किताब लेखिँदैछ। जसका लागि पनि उनले समय छुट्याउनुपर्छ। सानै उमेरदेखि लामो दूरीमा दौडन सुरु गरेका उनले जीवनभर दौडेर धेरैलाई जिते। र, अन्तिममा आफैँलाई पनि जिते। 'आफ्नो मनलाई जित्न सकेमात्र सन्तुष्ट हुन सकिँदो रै'छ। सन्तुष्टिबिनाको जीवन कहिल्यै पूर्ण हुँदैन। अनुशासनसहितको मेहनत भयो भने मात्र सफल भइन्छ,' उनले भने। उनको दौड प्रतिस्पर्धाको शृंखला सन् १९८९ मा इस्लामाबादबाट औपचारिक रूपमा टुंगियो। त्यो चौथो संस्करणको दक्षिण एसियाली प्रतियोगितामा कास्यमा सीमित हुनु परेपछि उनले खेलाडी जीवनबाट सन्न्यास लिए। यद्यपि, उनले दौडन भने कहिल्यै छोडेनन्। 'अहिले म समाजका लागि दौडन्छु,' उनले भने, 'प्रेरणाको यो दौड जीवनभर जारी रहनेछ। समाजसेवाको मेरो सपना अहिले पूरा गर्दैछु। त्यो पनि कुनै चर्चा बटुल्नका लागि नभई आत्मसन्तुष्टिका लागि मात्र।' उनको २ घण्टा १५ मिनेट ३ सेकन्डमा ४२ दशमलव १ सय ९५ किलोमिटरको म्याराथन रेकर्ड आजसम्म अविजित छ। सन् १९८७ मा कोलकातामा सम्पन्न तेस्रो संस्करणमा म्याराथनको स्वर्ण जित्दै दÔिण एसियाली पदकमा ह्याटि्रकमात्र गरेनन्, दÔिण एशियाली कीर्तिमान बनाउन पनि उनी सफल भए।


राजनीतिको आडमा संगठित रूपमा लागेका माफियाले नेपालको खेलकुद क्षेत्र तहसनहस पारेको उनको सोचाइ छ। खेलकुद क्षेत्रले व्यवस्थित रूप लिएको हेर्न चाहन्छन् उनी। जीवनभर दौडेर आर्जन गरेका सिल्ड र सम्मानपत्रले भरिभराउ छ उनको घर। दौडेर कहिल्यै नथाक्ने वैकुण्ठ जीवनदेखि थाकेर भाग्न खोज्नेलाई देखेर छक्क पर्छन्। 'चुनौतीदेखि डराएर भाग्ने होइन, डटेर सामना गर्नुपर्छ। असफतापछिको सफलताले सोच्दै नसोचेको खुशी दिन्छ। जसले जीवनलाई अमूल्य बनाइदिन्छ,' उनको बुझाइ छ। भीष्म प्रतिज्ञासाथ कर्म गर्नेका लागि सफलताले कुरिबसेको उनी बताउँछन्। 'खेलाडी होस् वा जुनसुकै क्षेत्रको मानिस। दानवको जस्तो बल र देवीदेवताको जस्तो बुद्धिविवेक बनाउने प्रयास गर्नुपर्छ,' उनले भने। दौडेर वा हिँडेर धेरै लामो दूरी पार गर्ने हुटहुटी अहिले पनि कायमै छ उनमा। महेन्द्रनगरदेखि काँकडभिट्टासम्म दौडेर पार गरिसकेका उनी टाढाका धेरै जिल्ला हिँडेरै पुगेका छन्। 'पहिला त मलाई बौलाहा भन्थे,' उनले सम्भि्कए। जसले जे भने पनि उनी आफ्नो लक्ष्यबाट कहिल्यै डगेनन्। 'नेपाली खेलाडी पलायन हुने क्रमप्रति उनी निराश छन्। 'पैसाका लागि खेल्ने जे पनि गर्न तयार हुन्छन्। पैसै कमाउने सोच भएको भए म पनि धेरै गर्न सक्थेँ,' उनले भने, 'मेरो नशामा रगतसँगै देशप्रेम पनि कुदिरहेको छ।'


नेपालको नक्सालाई पृष्ठभूमि बनाएर भित्तामा झुन्डिएको छ घडी। नेपालको झण्डा अंकित त्यो घडीको सेकेन्ड सुईले झैँ आफूलाई पनि प्रत्येक सेकेन्डमा देशको झण्डा फहराउन रहर लाग्ने बताउँछन् उनी। 'मैले सक्नेजति गरेँ। अब नयाँ पुस्ताले पनि थप गर्न सकोस् भनेर बाटो देखाउने काम गरिरहेकै हुन्छु,' उनले भने।

प्रकाशित: ९ वैशाख २०७३ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App