७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल-चीन सैन्य अभ्यासले भारतलाई असर नपर्ने

काठमाडौं- भारत सरकारले नेपाल र चीनबीच हुने सैनिक अभ्यासले नेपाल–भारत सैनिक सम्बन्धलाई प्रभाव पार्न नसक्ने बताएको छ। भारतीय विदेश मन्त्रालयद्वारा आयोजित मध्यावधि समीक्षा पत्रकार सम्मेलनमा विदेश राज्यमन्त्री भिके सिंहले नेपाल–भारत सैनिक सम्बन्धलाई तेस्रो देशको नजरबाट हेर्न आवश्यक नभएको बताए। नेपाल–भारत खुला सीमा र चीनसँग भारतको  जटिल बन्दै गएको सम्बन्ध सन्दर्भ जोडेर सञ्चारकर्मीले नेपाल–चीनबीच हुन लागेको सैनिक अभ्यासमा भारतले केही गर्दै छ भनी सोधेको प्रश्नमा राज्यमन्त्री सिंहले यस्तो जबाफ दिएका थिए। 

'नेपाल–भारत सैनिक  सम्बन्ध निकै प्रगाढ रहेको छ', सिंहले भने, ''नेपालमा भारतीय सेनाबाट पेन्सन खाने थुप्रै पूर्वभारतीय सैनिक छन्। भारतीय सेनाका पूर्वसेनापति समेत रहेका विदेश राज्यमन्त्री सिंहले भने, 'हाम्रो यस प्रकारको सम्बन्ध हो।'

 दुई देशबीच हुने सैनिक अभ्यासलाई अर्काका रुपमा लिन नहुने पनि उनले बताए। 'हामीले पनि चीन, रुस, फ्रान्स र रुससँग सैनिक अभ्यास गर्ने गरेका छौं', उनले भने।

नेपालले भारतसँग करिब एक दशकदेखि प्रतिआतंकवादी र अमेरिकासँग प्राकृतिक विपत्सम्बन्धी सैन्य अभ्यास गर्दै आएको छ। नेपालले चीनसँग पहिलोपटक माघको अन्तिम साता प्रतिआतंकवादी सैनिक अभ्यास गर्ने तयारी छ।

नेपाल–चीनबीच हुने सैनिक अभ्यासलाई लिएर भारतका सामरिक मामिलाविज्ञले दुई देशबीचको खुला सीमा र सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई देखाउँदै आपत्ति जनाउँदै आएका छन्।

भारतीय विदेश मन्त्रालयको युट्युब च्यानलमा राखिएको सो पत्रकार सम्मेलनको भिडियोमा पछिल्लो समयमा नेपालसहितका छिमेकी देशसँगको सम्बन्धलाई भारतले मजबुत बनाउँदै लगेको दाबी गरिएको छ।

राज्यमन्त्री सिंहले कूटनीतिक माध्यमबाट मात्रै नभएर अन्य सहयोगका माध्यमबाट पनि सम्बन्ध बढाएको बताए।  उनले नेपालमा भूकम्पपछि भारतले विविध क्षेत्रमा सहयोग गरेको पनि जनाए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी देशसँग सम्बन्ध सुधारमा जोड दिएको पनि बताए।

प्रकाशित: २१ पुस २०७३ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App