८ वैशाख २०८१ शनिबार
अर्थ

उखु अभावमा चिनी उद्योग बन्द

रौतहट - उखु अभावमा रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ। गत माघ २७ गतेदेखि सञ्चालनमा आएको उद्योगलाई किसानले उखु दिन नमानेपछि बन्द भएको हो। करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उद्योगलाई रौतहटका उखु किसानले नपत्याएपछि सबैभन्दा कम क्रसिङ गर्दै उद्योग बन्द भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताए।

२०५१ देखि उखुको क्रसिङ थालेको उद्योगले चालू आर्थिक वर्षमा एक लाख क्विन्टल पनि पुर्‍याउन सकेन। गत वर्ष करिब १५ लाख क्विन्टल उखु क्रसिङ थालेको चिनी मिलले चालू सिजनमा मुस्किलले ७० हजार क्विन्टल उखु क्रस गरेको छ। अढाइ दशकभन्दा लामो अवधिमा सबैभन्दा कम उखु पाएको वर्ष नै यही भएको संघका अध्यक्ष यादवले बताए। उद्योगले किसानलाई समयमा उखुको मूल्य भुक्तानी गर्दैन। हरेक वर्ष भुक्तानी पाउन किसानले झमेला गर्नु परिरहेको थियो। अहिले पनि करोडौं रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको किसानले चालू आर्थिक वर्षमा पनि उद्योगलाई उपलब्ध गराएको उखुको पैसा पाउन बाँकी नै छ।

किसानको उखु चाहीँ लिने तर पैसा चाहीँ दिनै नचाहने उद्योगको कारणले किसानमा निराशा आएको किसानको भनाइ छ। चिनी मिलप्रति भुक्तानीको अविश्वासले किसानले यसपालि उखु उपलब्ध नगराएको संघका सदस्य सफिन्द्रप्रसाद यादवको भनाइ छ। समयमा उद्योग सञ्चालनमा ल्याएको भए र किसानलाई भुक्तानी दिन उद्योगले आनाकानी नगरेको भए चालू आर्थिक वर्षमा पनि कम्तीमा १० लाख क्विन्टल उखु उद्योगले पाउने निश्चित थियो। जिल्ला बाहिरका उद्योगले रौतहटबाट अहिले पनि उखु किनेर लैजाने क्रम जारी छ। यसपालि समयमै उद्योगले भुक्तानी दिएमा अर्को वर्षदेखि फेरि किसानले पत्याउने वातावरण बन्ने सम्भावना रहेको यादवको भनाइ छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App