८ वैशाख २०८१ शनिबार
कला

मिथिलाञ्चलमा होलीको रौनक सुरु

लहान – ‘रामजीके हाथ कनक पिचकारी, सीयाजीके हाथ अबिर झोरी’ गीतसँगै मिथिलाञ्चलमा होलीको रौनक सुरु भएको छ। धनुषाको कञ्चन वनमा सुरु भएको होलीमा स्थानीयहरूले एक अर्कालाई अबिर लगाएर यसको स्वागत गरेका थिए।

सहरीकरणसँगै सामाजिक सद्भावमा कमी आएपछि होलीको मौलिकता हराउँदै गएका स्थानीयहरू बताउँछन्।‘होलीको रौनक फरक हुँदै गएको छ। पहिला वसन्त पञ्चमीदेखि दिवाना हुन्थ्यो। अहिले होली मनाउन संस्कृतिमा विकृति धेरै आएको छ। नयाँ पुस्ताले होलीको सांस्कृतिक महत्व बुझ्न सकेका छैनन्। सामाजिक सद्भावको पर्व भनिएपनि अहिले गाउँले भेटिन्न्,’सिरहा लालपुर टोलका ८० वर्षीय स्थानीय झमन यादवले भने।

‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग,
कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम,

जोगिरा सररर..’
श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म टोलभर यो गीत बज्ने गरेको छ। अहिले होली पर्वमा बजाइने ढोल, मृदंग, डम्पा र झालीजस्ता बाजा हराउँदै गएका छन्। ‘होलीको अवसरमा बजाइने स्थानीय भाकाहरू हराउँदै गएका छन्। पहिला जोगिरा गाएर विभिन्न घरमा पुगेर आशीर्वाद लिन प्रचलन थियो। अहिले होली पर्वको नाममा विकृति आएको छ,’ स्थानीय बिल्टु यादवले भने।

होली मनाउन नवविवाहितहरू पतिसँगै माइती आउने प्रचलन छ। मिथिलाको होली महिलाको पूजाबाट सुरु हुन्छ। मालपुवा, खीरजस्ता परिकार कुल कुल देवतालाई अर्पण गरिन्छ। योसँगै अबिरपनि पतल (प्रसाद) मा राखिन्छ। महिलाको पूजा सकेपछि होलीको रौनक सुरु हुन्छ। एक दशक अघिसम्म मिथिलाञ्चलका वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै होली गीत गाइन्थ्यो। ग्रामीण क्षेत्रमा लोप हुन लागेको होली गीतलाई जगेर्ना गर्न मिथिला नाट्य कला परिषद (मिनाप)ले विगत २५ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ । फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने महोत्सवमा होली गीत प्रतियोगिता र महामूर्ख सम्मेलनको आयोजना हुने गरेको छ।

जोगिरा गीतको सांस्कृतिक पृष्ठभूमिअनुसार होलिकालाई जलाएसँगै जोगीहरूले खुसीयाली मनाउन गीतहरू प्रस्तुत गरेका थिए। वसन्त ऋतुअन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने होली दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिका नामबाट नामाकरण भएको हो। हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान घोषित गरी प्रजालाई आफ्नो पूजा गर्न निर्देशन दिएका थिए। उनका छोरो प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान विष्णुको पूजा गरिरहे। प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरियो। ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काँखमा राखेर चारैतिरबाट आगो लगाएपछि उनी जल्छिन्। असत्यमाथि सत्यको विजय भएको अवसरमा होली पर्व मनाइन्छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App