७ वैशाख २०८१ शुक्रबार
अर्थ

कृषिजन्य उपज बंगलादेश निर्यातको पहल भएन

दमक - नेपालबाट कृषिजन्य उपज बंगलादेश निर्यातका लागि सरकारले पहल नगरेको व्यवसायी गुनासो गर्दै आएका छन्। बंगलादेशले नेपालभन्दा भुुटानबाट कृषिउपज ल्याउने गरेका कारण नेपाली बस्तुको बजार पाउन नसकेका हुन्। नेपाली वस्तुलाई उच्च भन्सार रेट लगाएका कारण यस्तो समस्या आएको हो।

मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला कृषिजन्य उपजलाई सहजै रुपमा बंगलादेश निर्यात गर्ने अवस्था आए नेपाली उपजले बजार पाउने अपेक्षा गर्छन्। ‘नेपालबाट लैजाने कृषिउपज भन्सारमा रोकिदिने, उच्च भन्सार दर लगाउने समस्या छ,’ उनले भने, ‘त्यसकै कारणले समेत नेपाली उपज अहिले निर्यात हुन सकेको छैन। उनका अनुसार अहिले नेपालबाट जम्मा मुसुरोको दालमात्रै निर्यात हुँदै गरेको छ। तर सरकारले पहल गरे अन्य कृषिउपजले समेत बजार पाउने उनको दाबी छ। ‘भुटानलाई बंगलादेशले सहुलियत दिएको छ, तर भुटानभन्दा बढी रुचाइएको नेपाल कृषिउपजनिर्यातमा समस्या छ,’ निरौलाले भने, ‘सरकारले पहल गरेकै देखिएको छैन।’

निरौलाले सचिवस्तरीय बैठकमा छलफल हुने मुख्य बुँदा यसलाई पनि बनाउनुपर्ने माग गर्छन्। ‘हामी नेपाली गुणस्तरीय कृषि उत्पादन गर्छौं, तर बिक्री नभएर फाल्नुपर्ने अवस्था छ, तर सरकारको सानो पहलले नेपाली उत्पादन बंगलादेश निर्यात हुने थियो,’ निरौलाले भने, ‘यसका लागि कूटनीतिक पहल जरुरी छ।’ नेपालबाट कृषिजन्यसहित अन्य वस्तु निर्यात गर्न भन्सार शुल्कमात्रै बंगलादेशले २५ प्रतिशत राखेको छ। त्यसबाहेक अन्य भ्याट, ड्युटी सबै गर्दा करिब एक सय ३० प्रतिशत शुल्क तिर्नुुपर्ने बाध्यता रहेको छ। तर नेपालमा भने कृषिजन्य वस्तु आयात गर्दा १३ प्रतिशत भन्सार तिर्दा हुन्छ। निरौलाले असामान्य भन्सारसहितका अन्य दरमा पुनर्विचार गरिनुपर्ने बताए।

मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले भारतीय असहयोगका कारण पनि नेपाली वस्तु निर्यातमा समस्या रहेको बताए। ‘भारतले नेपाली सीमादेखि बंगलादेशको सीमासम्म स्कर्टिङ गर्ने गर्छ, यसको बेग्लै खर्च भारतलाई पनि दिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘भारतलाई नेपाली सीमामा सिल गरेर बंगलादेशको सिमानामा चेक गर्ने व्यवस्था भए राहत हुने थियो।’ उनका अनुसार भारतले शंका गर्ने गरेका कारणले यस्तो समस्या आइरहेको छ। भुटानलाई बंगलादेशले कम भन्सारसहितका अन्य शुल्कमा सहुलियत दिएको छ। जसका कारण कम गुणस्तरको भए पनि भुुटानी वस्तुले महत्व पाउँदै आएको बस्नेतले बताए। ‘हामीले भुटान सरहको भन्सार महसुल लगाइदिनु भनेर भन्यौं,’ उनले भने, ‘तर अहिलेसम्म सुनुवाइ भएको छैन। बंगलादेशमा वर्षायाम लागेसँगै सबै जलमग्न हुने गरेको छ। त्यसैले उनीहरुले कृषि उत्पादन उत्पादन गर्न सक्ने अवस्था छैन।’

नेपालबाट त्यो समस्यामा इस्कुस नै मात्रै लगेर बिक्रीगर्न सके नेपाली उत्पादनको बजारीकरण पनि हुने थियो,’ बस्नेतले भने, ‘तर अहिलेसम्म सरकारले त्यता सोचेको छैन।’ व्यवसायीले बंगलादेशबाट आयात हुने जुसमा नेपालले रोक लगाएपछि समस्या भएको दाबी गर्छन्। ‘जुस ल्याउन रोक लगाएपछि बंगलादेशी पनि रुष्ट छन्,’ एजेन्ट संघका अध्यक्ष निरौलाले भने, ‘नेपाली व्यवसायीको लगानी पनि संकटमा छ।’

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App