८ वैशाख २०८१ शनिबार
कला

क्यानभासमा पाँच देशका कला

काठमाडौं – मानिसका असिमित सपनाहरू हुन्छन्। तीमध्ये कति पूरा हुन्छन् भने कुनै चाहेर पनि पूरा हुन नसक्ने। तर पूरा गर्न नसक्ने भए पनि मानिस सपना देख्न भने छोड्दैन्। मानिसको मनस्थितिमा हुने सपनालाई नेपाली चित्रकार शौरगंगा दर्शनधारीले आफ्नो कलामार्फत प्रस्तुत गरेकी छन्। उनका पाँचवटा चित्रहरू प्रदर्शनीमा देख्न सकिन्छ। ‘चरा’ शीर्षकको चित्रमा उनले सुन्दर मयूरमार्फत मानिसले देख्ने अनेकौं सपनाको संसारलाई प्रस्तुत गरेकी छन्। वाटर कलरको प्रयोगमार्फत चित्र कोरेकी उनले सपनालाई देखाउन चरासँगै जनावर, फूडलगायतका बस्तुहरू प्रयोगमा ल्याएकी छन्।

परिवारभित्रको माया, प्रेम र सद्भावलाई उक्त चित्रले व्यक्त गरेको छ। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा गत ८ गतेबाट सुरु भएको ‘नाउदेयर’ शीर्षकको संयुक्त कला प्रदर्शनीमा पाँच देशका चित्रकारको ४० वटा चित्रकला समेटिएको छ। नेपाल, भारत, बंगलादेश, पाकिस्तान र स्विजरल्याण्डका चित्रकारको सहभागी रहेको उक्त प्रदर्शनीमा परम्परागत पौवा चित्रमार्फत दर्शकलाई फरकपनाको अनुभूति गराउने प्रयास गरिएको छ।

प्रदर्शनीमा राखिएका प्रयाः चित्रमा वाटर कलरको प्रयोग गरिएको छ। नेपाली तथा विदेशी चित्रकारले तयार गरेका सबै चित्रमा नेपालका पौभा र थाङ्का चित्रकारले आफ्नो कला थप गरेका छन्। कुनै चित्रको पृष्ठभूमि त कुनै चित्रको मध्यभागमा पौभा र थाङ्का कला देख्न सकिन्छ। यसो गरेमा चित्रकलामा नयाँपना भित्रिनुका साथै अन्य कलाभन्दा फरक देखिने चित्रकारको भनाइ छ। नेपाली पौवा तथा थाङ्का चित्रलाई संगठनात्मक रूपले अघि बढाउने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रदर्शनीमा चित्रकार पृथ्वी श्रेष्ठका पाँच वटा चित्रहरू राखिएको छ।

मानिस र छायाँबीचको सम्बन्धलाई प्रस्तुत गरेको उनको चित्रमा पनि वाटर कलरको प्रयोग गरिएको छ। श्रेष्ठले आफ्नो चित्रलाई ‘म र मेरो छायाँ’ शीर्षक दिएका छन्। छायाँ मानिसको प्रतिबिम्ब भएकाले मानिस जीवित रहँदासम्म छायाँ पनि आफूसँगै रहने चित्रकार बताउँछन्। पाँच देशको कलालाई समेटिएको उक्त प्रदर्शनीमा चित्रकारहरूले देशका नेताहरूको अनुहार चित्र, भूकम्पपछिको भग्नावशेष अवस्था, महिलाका विषय र पारिवारिक सम्बन्धलाई समेटेको उनी बताए।

सम्पूर्ण चित्रको कुनै पनि भागमा पौभा कलाको प्रयोग गर्नाले फरकपना आउने, पौभा कलाको संरक्षण हुने र पौभा कलाका चित्रकारलाई पनि नयाँ अनुभव हुने उनको भनाइ छ। कुनै पनि संस्थाको आयोजनामा नभइ विभिन्न देशका चित्रकारहरूको सहकार्यमा प्रदर्शनी सञ्चालन भइरहेको बताइएको छ। प्रदर्शनीमा पाँच देशका दुई÷दुई चित्रकारको कलालाई समेटिएको छ। पौभा र थाङ्का चित्रको विकासका लागि योभन्दा पहिले भारतमा पनि यी चित्रको प्रदर्शनी भइसकेको कलाकारले जानकारी दिएका छन्। नेपालमा प्रदर्शनी सकिएपछि पाकिस्तान, बंगलादेश हुँदै स्विजरल्याण्डमा हुनेछ बताइएको छ। नेपालमा फागुन २७ सम्म प्रदर्शनी सञ्चालन हुने भएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App