coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

समयमै उपचार गरे बहिरोपनमा ६० प्रतिशत कम हुने

काठमाडौं – बच्चा जन्मेलगत्तै अनिवार्य जाँच गराए कानमा हुने संक्रमणबाट बच्न सक्ने चिकित्सकको सुझाव छ। बच्चाको कानमा हुने समस्या समयमै उपचार गरेमा ६० प्रतिशत बहिरोपन रोकथाम हुने चिकित्सकको भनाइ छ। नेपालमा पछिल्लो समय कानको समस्यामा लापरबाही गर्दा बहिरोपन हुनेको संख्या बढ्दै गएको नेपाल नाक–कान घाँटी समाजका महासचिव डाक्टर योगेश न्यौपानेले बताए।

विश्व २०औँ श्रवण दिवसको अवसरमा भएको कार्यक्रममा डाक्टर न्यौपानेले नेपालमा कानको समस्यालाई हल्का रूपमा लिने गरेका कारण बहिरोपन बढ्दै गएको बताए। बहिरोपनका कारण बच्चा अवस्थामा नै विभिन्न समस्या झेल्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। जन्मजात श्रवण समस्या भएका बालबालिकामा विभिन्न विधिको प्रयोग गरेर श्रवण क्षमता बढाउन सकिने भएकाले बालबालिका जन्मेलगत्तै कानको श्रवण जाँच गर्नु पर्ने डाक्टर न्यौपानेको सुझाव छ।

नेपालमा कानको सरसफाइ, गर्भवती आमाको उचित हेरचाह नपुग्दा बालबालिकामा श्रवण समस्या हुने गरेको चिकित्सकको भनाइ छ। ध्वनि प्रदुषण, कलकारखाना, सार्वजनिक सवारीको ध्वनि, ठूलो आवाज गीत तथा कार्यक्रम सुन्नुलेलगायतका कारणले पनि कानमा समस्या आउने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आँखा, कान, नाक, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले बताए।

विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वका १४ प्रतिशत युवा ध्वनि प्रदुषणको जोखिममा छन्। काठमाडौंमा ध्वनि बढ्दै गएर श्रवन समस्या भएपछि सरकारले २०७४ सालदेखि हर्न बजाउन बन्द गरेको थियो। तर पछिल्लो समय सार्वजनिक तथा निजि सवारीसाधनले हर्न बजाउने क्रम भने बढ्दै गएको छ। चिकित्सककाअनुसार कानलाई विभिन्न रोगबाट बचाउनको लागि कानमा जथाभावी तेल नराख्ने, गर्भवती भएको पहिलो तीन महिनामा आफूखुसी औषधी सेवन नगर्ने, गर्भवती आमाले धुम्रपान तथा मादकपदार्थ सेवन नगर्न स्वास्थ्यकर्मीको सुझाव छ। पछिल्लो समय विश्व स्वास्थ्य संघकाअनुसार विश्वभर ७६ करोड मानिसमा श्रवणको समस्या रहेको छ ती मध्ये ३४ करोड बालबालिका मात्रै रहेको बताइएको छ। नेपालमा ३० लाख मानिसमा श्रवण समस्या रहेको बताइएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App