१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पश्चिम अफगानिस्तानमा ६ तालिबान लडाकुद्वारा आत्मसमर्पण

कला ए नाउ – अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसको प्रान्तीय राजधानी कला ए नाउमा सोमबार ६ तालिवानी लडाकुले आत्मसमर्पण गरेका प्रान्तीय गभर्नरका प्रवक्ता निजामिदिन बुर्हानीले मंगलबार बताएका छन्।

तालिबानका कमान्डर शरीफको नेतृत्वमा रहेका ती पूर्व आतंककारीहरू दुई वर्षदेखि अब कमारी जिल्लामा सरकारविरोधी गतिविधिमा संलग्न रहदै आएका थिए। उनीहरूले आफूसँग रहेको हातहतियार प्रहरीलाई सोमबार बुझाए र प्रान्तमा शान्ति स्थापनाका लागि काम गर्ने वाचा गरेका समाचारमा जनाइएको छ। संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच गत शनिबार अर्थात् फेबु्रअरी २९ का दिन शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।

सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी समूहका नेताहरू बतारको राजधानीमा पुगेका थिए। सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ। ‘सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ आठ हजार ६ सय सैनिकलाई आगामी १३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

सम्झौता अनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ। दोहा सम्झौताले १८ वर्षदेखि अफगानिस्तानमा तैनाथ भई लड्दै आएका हजारौँ अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ। अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिवान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App