coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टोकियो ओलम्पिक शंकामा

टोकियो – कोरोना भाइरसका कारण टोकियो ओलिम्पिक स्थगित गर्नुपरेमा देशले नै आयोजना गुमाउन सक्ने प्रति चिन्ता व्यक्त गर्दै जापानिज सरकारका मन्त्रीले मंगलबार छिट्टै नयाँ मिति तय गर्नुपर्ने बताएका छन्।

जापानकी ओलम्पिक मन्त्री सेइको हासिमोतोले पूर्वसम्झौताअनुरूप निर्धारित समय २०२० भित्र ओलम्पिक आयोजना नभए अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले यहाँबाट आयोजनाको जिम्मेवारी खोस्न सक्नेप्रति चिन्ता व्यक्त गरेकी छन्। मन्त्री हासिमोतोले संसद्को उच्च सदनमा बोल्ने क्रममा आयोजना खोस्न सक्नेप्रति चिन्ता व्यक्त गर्दै छिट्टै नयाँ मिति तय गर्नुपर्ने बताइन्। ओलम्पिक आयोजक टोकियो र आइओसीले निर्धारित मितिमै ओलम्पिक हुने भनिरहे पनि तीव्र रूपमा फैलिएको भाइरसले आयोजनाप्रति खतरा पैदा हुने देखिएको छ।

‘एक पटक हामीले सम्झौता हेर्‍यौं भने धारा–६६ मा सन् २०२० भित्र आयोजना हुन सकेन र सम्झौताअवधि सकियो भने आइओसीसँग आयोजना सार्ने अधिकार हुन्छ,’ मन्त्री हासिमोतोले भनिन्, ‘त्यसैले टोकियो २०२० आयोजक कमिटी, आइओसी र टोकियो सहर सरकारले समयमै निर्णय लिनुपर्छ।’ ग्रीष्मकालीन ओलम्पिक आगामी जुलाई २४ देखि सुरु हुनेछ। हासिमोतोले त्यसप्रति केन्द्र सरकारको पूर्ण सहयोग हुने बताएकी छन्। कोभिड–१९ का कारण करिब ७६ देशमा संक्रमण  फैलिँदा ३ हजार १ सय १६ व्यक्तिको निधन भइसकेको छ। त्यसैले पछिल्ला समय विश्व खेलकुदका ठूला आयोजना रद्द या मिति सारिएको छ। जापानमा हालसम्म १२ व्यक्तिको मृत्यु भइसकेको छ।

जसका कारण जापानका प्रधानमन्त्री सिन्जो अवेले पनि केही हप्ताका लागि विद्यालय बन्द, ठूलो कन्सर्ट र आयोजना रद्द गर्न निर्देशन दिइसकेका छन्। मंगलबारदेखि हुने भनिएको पारा ओलम्पिक खेलतर्फको ह्विचियर रग्बी खेल पनि रद्द भएको थियो। हासिमोतोले पनि जहिले भए पनि निर्णय लिने समय आइसकेको बताएकी छन्। ‘आइओसीका सदस्यले मेको अन्तिमसम्म निर्णय दिनुपर्ने बताएका छन्,’ हासिमोतोले भनिन्,‘त्यसैले मेरो विचारमा मेको अन्तिमभित्रै निर्णय गर्नुपर्छ।’ साथै उनले कोरोना संक्रमण केही नियन्त्रण हुन सके यही वर्षभित्र या वर्षको अन्तिमतिर आयोजना गर्न सकिने पनि बताएकी छन्। जापानलाई सन् २०१३ मा २०२० ओलम्पिक आयोजनाको जिम्मेवारी दिइएको थियो। पछिल्ला सात वर्षभित्र जापानले १२ बिलियन डलर खर्च गरिसकेको छ।

यस पटक ओलम्पिक जापानमा हुन नसके उसको अर्थतन्त्रमा पनि समस्या पर्ने सरकारले बताइरहेको छ।

यस वर्ष पनि जापानले ओलम्पिक आयोजनाका लागि १०२.७ ट्रिलियन यन छुट्याएको छ। यस पटक ओलम्पिक जापानमा हुन नसके उसको अर्थतन्त्रमा पनि समस्या पर्ने सरकारले बताइरहेको छ। आइओसीका सदस्य डिक पाउन्डले पनि तीन महिना मात्र समय बाँकी रहेकोले आयोजनाको भविष्यबारे छिट्टै निर्णय लिन अनुरोध गरेका छन्। जापानमा ओलम्पिक सञ्चालन हुन नसके १ सय २४ वर्षपछि चौथो निर्धारित ओलम्पिक रद्द हुनेछ। यसअघि सन् १९१६, १९४० र १९४४ मा पनि विश्वयुद्धका कारण ओलम्पिक रद्द भएको थियो।

प्रकाशित: २१ फाल्गुन २०७६ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App