४ वैशाख २०८१ मंगलबार
खेल

आयोजक सुदूरपश्चिमलाई उपाधि

धनगढी - आयोजक सुदूरपश्चिम–११ ले ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई हराउँदै पहिलो पटक सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको उपाधि जितेको छ।

शनिबार धनगढी रंगशालामा भएको फाइनलमा सुदूरपश्चिमले ललितपुरे टोली थ्री स्टारमाथि १–० को रोमाञ्चक जित निकाल्दै उपाधि चुमेको हो। निकै प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा स्ट्राइकर विक्रमसिंह ठकुरीले गरेको गोल सुदूरपश्चिमलाई चौथो संस्करणमा आएर पहिलो पटक विजेता बन्न पर्याप्त बनेको हो। थ्री स्टारका रक्षक अन्तत तामाङले रक्षापंक्तिमा गरेको गल्तीको फाइदा उठाउँदै ठकुरीले बललाई जाली चुमाएका थिए।

यसअघि सुदूरपश्चिमले दोस्रो संस्करणमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो। यता थ्री स्टार भने लगातार दोस्रो पटक प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भयो। अघिल्ला खेलमा लिएको अनुभव र बलियो थ्री स्टारविरुद्ध बनाएको राण्नीति सफल भएको सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले बताए। ‘हामीले क्वार्टरफाइनलमा कञ्चनजंघा एफसी र सेमिफाइनलमा एपिएफविरुद्ध जुन रणनीति लिएका थियाैँ, फाइनलमा थ्री स्टारसँग पनि सोही रणनीति लियाैँ,’ सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले भने, ‘हामीले अन्य खेलमा जस्तै यसमा पनि पहिलो हाफमै अग्रता लिन सफल भयौं। लिएको अग्रतालाई अन्त्यसम्म कायम राख्न सफल भयौं। विक्रममाथि पूरै टोलीको पूर्ण विश्वास थियो, जुन उनले प्रमााणित गरे। यो जित सारा सुदूरपश्चिमप्रति समर्पण गर्न चाहन्छु।’

प्रतियोगिताको विजेता टोली सुदूरपश्चिमले नगद २१ लाख १ रुपैयाँ हात पार्दा उपविजेता थ्री स्टारले नगद १० लाख १ रुपैयाँ प्राप्त ग¥यो। त्यस्तै विधागततर्फ सुदूरपश्चिमका विक्रम ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्दा सुदुरपश्चिमकै रक्षक धनबहादुर थापा उत्कृष्ट रक्षक, थ्री स्टारका सुशील राई उत्कृष्ट मिडफिल्डर, थ्री स्टारकै पूर्ण चेमजोङ उत्कृष्ट गोलकिपर र सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट सबैले जनही १५ हजार रुपैयाँ हात पारे। त्यस्तै आयोजक टोलीका विक्रमले सर्वोत्कृष्ट खेलाडी बन्दै मोटरसाइकल प्राप्त गरे।

प्रकाशित: २१ फाल्गुन २०७६ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App