coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सीमा नाकामा उच्च सतर्कता

नेपाल–भारत सीमा नाका जमुनाहामा भारतबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षण गरिँदै। तस्बिर: नागरिक

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन विभिन्न सीमा नाकामा आवश्यक सतर्कता अपनाइएको छ। कोरोना त्रास बढ्दै गएपछि संघीय सरकारले प्रदेश १ मा पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलको संयोजकत्वमा तीन सदस्यीय टोली पठाएको छ।

टोलीले प्रदेश सरकार, कोसी अस्पताल विराटनगर र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीसँग पूर्वतयारीबारे छलफल गरेको छ। टोलीले नेपाल–भारत सीमानाका जोगवनी, काकडभिट्टा र पशुपतिनगरको अनुगमन गरेको छ। ‘प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकारीसँग पनि छलफल ग¥यौं। कोसी अस्पताल र बिपी प्रतिष्ठानका अधिकारी तथा सरोकारवालासँग पनि पूर्वतयारीबारे छलफल भयो,’ संयोजक डोटेलले भने, ‘यसले हाम्रो अवस्था के छ ? के गर्नुपर्ने हो ? के खरिद गर्नुपर्छ भन्ने प्रस्ट हुन्छ।’

डोटेल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले मंगलबार बिपी प्रतिष्ठानका कार्यवाहक उपकुलपति तथा प्रतिष्ठानले कोरोनाबारे गठन गरेको ‘रेस्पोन्स टिम’ सँग छलफल गरेका थिए। ‘बिपी प्रतिष्ठान ठूलो संस्था हो, यहाँ धेरै विभाग छन्। शंकास्पद बिरामी आउदा कहाँ राख्ने र अलिक गम्भीर बिरामी आउँदा के गर्ने ? कहाँ राख्ने ? फोकल पर्सन कसलाई तोक्ने भनेर आवश्यक तयारीबारे छलफल गरी निर्णय भएको छ,’ डोटेलले भने, ‘कार्यवाहक उपकुलपतिसँग पनि छलफल भयो।’

स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट उपलब्ध गराउने, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानको पेइङ वार्डलाई क्वारेन्टाइन बनाउनेलगायत निर्णय

प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनालले आइसोलेसन शड्ढया, भेन्टिलेटर, मास्कलगायत विविध आवश्यक सामग्रीबारे छलफल भएको र १० वटा शड्ढया तयारी अवस्थामा राखिने बताए। ‘आवश्यक सामग्री प्रतिष्ठानले पनि किन्छ, मन्त्रालयले पनि पठाउँछ,’ खनालले भने। सरकारी टोलीसँग अस्पताल सहायक निर्देशक डा. विकास साहलगायतले छलफल गरेका थिए। साहका अनुसार छलफलबाट प्रतिष्ठानको पेइङ वान वार्डलाई क्वारेन्टाइन बनाउनेलगायत विभिन्न सात निर्णय भएको छ। पेइङ वान वार्डमा १० कोठा छन्। ती कोठालाई तत्काल क्वारेन्टाइन बनाएर केही पनि बाहिरिन नदिने गरी पूर्र्णसतर्कता अपनाउने निर्णय भएको जानकारी साहले दिए। ‘स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट व्यवस्थापन गर्ने, क्वारेन्टाइन गरिएका कोठा जाने बाटो एउटा मात्र राखेर अन्य बन्द गर्नेलगायत निर्णय भएको छ,’ साहले भने, ‘शंकास्पद र नर्मल बिरामीलाई त्यहाँ राखिन्छ। गम्भीर प्रकृतिका बिरामीलाई पेइङ टु वार्ड पूरै खाली गरेर भेन्टिलेटरसहितको व्यवस्थापन गर्ने निर्णय भयो।’

यस्तै सय थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र पाँच सय थान मास्क अविलम्ब व्यवस्था गर्न प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको। प्रतिष्ठानले ३० सेट पिपिई, मास्क, ग्लोब्स खरिद गर्ने भएको छ।

दीक्षान्त समारोह स्थगित
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औं दीक्षान्त समारोह स्थगित भएको छ। कोरोनाको त्रास बढ्दै गएपछि सरकारले ठूला जमघट तथा सभा–सम्मेलन नगर्न आह्वान गरेसँगै प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित गरिएको हो। दीक्षान्त समारोह यही फागुन २४ गते गर्ने तयारी भइरहेको थियो। विविध समस्याले गर्दा पछिल्लो चार वर्षयता प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको छ। चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका अन्य मुलुकमा पनि फैलिँदै गएपछि नेपाल सरकारले पनि सतर्कता अपनाउँदै सभा–सम्मेलन नगर्न आह्वान गरेको थियो। ‘सरकारले नै ठूला सभा, सम्मेलन, समारोह नगर्र्न भनेकाले दीक्षान्त समारोह पनि रोकियो,’ प्रतिष्ठानका कार्यवाहक उपकुलपति खनालले भने, ‘दिल्लीमा पनि कोरोना संक्रमण देखिएको छ। यहाँ दीक्षित हुन आउने भारतबाट पनि धेरै भएकाले यी सबै अवस्था हेरेर नै रोक्नुपरेको हो।’ चार वर्षका गरी एक हजार दुई सय ७७ विद्यार्थी दीक्षान्तको पर्खामा छन्।

नेपालगन्ज नाकामा हेल्प डेस्क
कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरेको छ। उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार डेस्कमा भारतबाट नेपाल भित्रिने बिरामीहरुको स्वास्थ्य जाँच गरिन्छ। भारतबाट नेपाल आउने बिरामीका लागि ‘इन्फाइड थर्मोमिटर’ को सहायताले ज्वरो नाप्ने गरिएको उनले जानकारी दिए। ‘इन्फाइड थर्मोमिटरको सहायताले करिब एक मिटर टाढाबाट ज्वरो नाप्ने गरिएको छ’, उनले भने।

बिरामीको स्वास्थ्य परीक्षणका लागि हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुईर्दुइजना स्वास्थ्यकर्मीलाई खटाइएको छ। ‘भारत हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिबाट कोरोना भाइरस भित्रिन नपाओस् भनेर यस्तो सतर्कता अपनाइएको हो,’ चन्दले नागरिकसँग भने, ‘अहिलेसम्म कुनै त्यस्ता शंकास्पद बिरामी फेला परेका छैनन् तर पनि हामीले आफ्नो तर्फबाट सतर्कता अपनाएका छौं।’ स्वास्थ्य जाँचका साथै भारतबाट आउने व्यक्तिलाई जनचेतनामूलक पोस्टर, पम्प्लेट पनि वितरण पनि गरिएको चन्दले जानकारी दिए।

कोरोना भाइरसका शंकास्पद बिरामी देखिएमा तत्कालै भेरी अस्पताल नेपालगन्ज पठाउने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। भारतमा मजदुरी गरेर फर्किने नेपाली रुपैडिहा हुँदै नेपालगन्ज प्रवेश गर्छन् भने कैलाश मानसरोवर तीर्थयात्राका लागि यो नाका हुँदै तीर्थयात्री नेपालगन्ज आउने गर्छन्।

भारतमा कोरोना भाइरसको महामारी देखा नपरेको हुँदा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको चन्दको भनाइ छ। तर विश्वमा महामारी नरोकिएको हुँदा चुप लागेर बस्न नहुने स्वास्थ्य क्षेत्रका सरोकारवाला बताउँछन्। भारतबाट फर्किने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने अवस्था नरहेको हेल्प डेस्कले जनाएको छ। ‘अहिले त हामीले जनशक्ति अभावमा बिरामीको मात्रै स्वास्थ्य परीक्षण गरेका छौं’, हेल्प डेस्कमा खटिएका स्वास्थ्यकर्मीले भने।

वार्षिक परीक्षा चैत ५ भित्र सक्न निर्देशन
कोरोना भाइरस संक्रमणको त्रास बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालये विद्यालय स्तरको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्न निर्देशन दिएको छ। मंगलबार मन्त्रालयमा शिक्षा सचिव महेश दाहालको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

परीक्षा छिटो सकाएर बालबालिकालाई घरमै सुरक्षित ढंगले बस्ने व्यवस्था मिलाउन यस्तो निर्णय गरिएको सचिव दाहालले बताए। विद्यालयहरुमा सभा, समारोह, वार्षिकोत्सवलगायतका कार्यक्रम आयोजना नगर्न पनि शिक्षा मन्त्रालयले आग्रह गरेको उनले जानकारी दिए। ‘एसइई परीक्षा चैत ६ गतेदेखि हुने भएकाले त्यसअगाबै अन्य कक्षाका परीक्षा सकियो भने बालबालिकाको भिड हुँदैन,’ सचिव दाहालले भने, ‘वार्षिक परीक्षा सकिएपछि विद्यालय बन्द हुन्छन्। नयाँ शैक्षिक सत्र वैशाख २ गते सुरु हुन्छ। त्यति बेलासम्म त्रास कम हुने विश्वास छ।’

आशंकित चारमा कोरोना भेटिएन
कोरोना भाइरसबाट संक्रमित आशंकामा भर्ना भएका चारैजनामा संक्रमण नभएको प्रयोगशाला परीक्षण रिपोर्टबाट पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोाग अस्पताल, टेकुले जनाएको छ। चारैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षण रिपोर्टबाट कोरोना संक्रमण नभएको देखिएकाले उनीहरू मंगलबार नै डिस्चार्ज भएको अस्पतालका प्रवक्ता डा. अनुपराज बाँस्तोलाले जानकारी दिए। चारमध्ये तीन कोरियाबाट फर्केका नेपाली थिए भने एक चिनियाँ नागरिक थिए। कोरोना संक्रमित आशंकामा सोमबार भर्ना गरिएका एकजनाको नमुना परीक्षण भने बुधबार मात्र हुने डा. बाँस्तोलाले बताए। ती व्यक्ति कोरियाबाट आएका नेपाली हुन्।
श्रीराम सुवेदी,रुबी रौनियार–काठमाडौं, रोहित राई–धरान, अर्जुन ओली–नेपालगन्ज,

प्रकाशित: २१ फाल्गुन २०७६ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App