coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थरूहटकाे बन्दले उदयपुर प्रभावित

उदयपुर – प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाईको माग गर्दै लक्ष्मण थारू नेतृत्वको थरूहट–थारूवान राष्ट्रिय मोर्चा (थथारामो)ले गरेको हड्तालले  उदयपुर प्रभावित भएको छ। थथारामोको दुई दिने बन्दको पहिलो दिन सवारी आवागमन, शिक्षण संस्था र नीजि कम्पनीहरू प्रभावित भएका हुन्र। 

बन्दले गर्दा सदरमुकाम गाईघाट छुट्ने लामो छोटो दूरीका सबै यातायात चलेका छैनन् भने निजी तथा आवासीय विद्यालयहरु पूर्ण रुपमा बन्द भएका छन्। साना उद्योगहरु पनि प्रभावित भएका छन्। थथारामोका कार्यकर्ताले विहानैदेखि बजार तथा पसलहरु बन्द गर्नुका साथै सवारी आवागमन रोक्न थालेपछि बजार प्रभावित बन्न पुगेको हो। 
    
नीजी विद्यालयहरु ठप्प भए पनि सरकारी तथा सामुदायिक विद्यालय खुलेका छन् भने मोटरसाईकल तथा छोटो  दूरीका साना सवारी साधन आशिंक रुपमा सञ्चालनमा आएका छन्। बजारमा प्रहरी र सशस्त्र प्रहरी बाक्लो परिचालन गरिएको छ। संभावित हिंसात्मक गतिबिधि हुन नदिन सतर्कता अपनाउन सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। 

पूर्वी बजारहरु चौदण्डीगढी नगरपालिका केन्द्र बेलटार, बेलका नगर केन्द्र रामपुर तथा पश्चिमतर्फ रौतामाईको मुर्कुची, उदयपुरगढीको नेपालटारतिर बन्दको प्रभाव देखिएको छैन। कटारी नगरपालिका केन्द्र कटारी बजारमा भने सामान्य प्रभाव देखिएको स्थानीयको भनाई छ। जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म बन्द शान्तिपूर्ण रहेको जनाएको छ। 
    
लक्ष्मण थारु नेतृत्वको पार्टीको प्रभाव उदयपुरमा खासै नभए पनि सदरमुकाम र आसपास क्षेत्र थारु समुदाय बहुल रहेकाले स्वतःस्फुर्त बन्दको प्रभाव परेको पाइएको छ। गत मंसिरमा उदयपुरमा आयोजित ‘राष्ट्रिय थारु महिला सम्मेलन’को उद्घाटन गर्न आएका लक्ष्मण थारुले थारु समुदायको बिबिध अधिकारमाथि राज्यले प्रत्यक्ष/अप्रत्यक्ष शोषण, दमन र हस्तक्षेप गर्दै आएको दुःखेसो गरेका थिए। 

टीकापुर घट्ना राजनीतिक आन्दोलन भएको भन्दै उनले जननिर्वाचित सांसद रेशम चौधरी थारु भएकैले राज्यले थुनामा राखेर जनताको अधिकारमाथि हनन गरेको आरोप लगाएका थिए। १० वर्षे सशस्त्र द्वन्द्व र त्यसपछिका पटक पटकका आन्दोलनक्रममा हजारौंको सहादत भएको विषयको छिनोफानो गर्न मेलमिलाप आयोग तथा बेपत्ता छानविन गर्ने आयोग हुँदाहुँदै सांसद चौधरीलाई थुनामा राख्नु गैरन्यायिक भएको भन्दै मोर्चाले बन्द आव्हान गर्नुपर्ने जनाएको छ। 

प्रकाशित: २० फाल्गुन २०७६ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App