coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मतदातासमक्ष सफाई दिँदै महरा

दाङका स्थानियमाझ पूर्वसभामुख कृष्णबहादुर महरा।तस्बिर सौजन्य: केशरमान बुढाथोकी।

दाङ – दिनहुँ समर्थक तथा मतदातासंगको भेटघाट। फूलमालाले गला भरिभराउ हुँदा पनि पूर्वसभामुख कृष्णबहादुर महराको अनुहार भने मलिनै हुन्छ। कार्यकर्ता भेटघाटमा सम्बोधन गर्ने क्रममा गला अवरुद्ध हुनुले पनि उनीभित्रको पीडाबोध प्रष्टै देखिन्छ। तर पुरानो राजनीतिक प्रभाव कायम राख्ने दौडबाट महरा थाकेका भने छैनन्। अदालतबाट सफाई पाएपछि १२ फागुनमा आफ्नो चुनावी क्षेत्र दाङ पुगेका महरा प्रत्येक दिन समर्थक तथा मतदाताको दैलोमा पुगेर फूलमालाको न्यानो स्वागत बटुलिरहेका छन्।

अनुहारमा चमक नदेखिएपनि भत्कीनै आँटेको राजनीतिक बिरासत फेरि ठडिने आशा दाङवासीको बाजागाजा, झाँकीसहितको ‘भब्य स्वागत’ ले बढाइदिएको भने पक्कै छ। ‘उहाँमाथि लागेको आरोपले राजनीति के हुन्छ ? भन्ने एकखालको आशंका थियो,’ उनीसँगै जिल्ला दौडाहमा रहेका नेकपाका नेताह भन्छन्, ‘रिहाई भएलगत्तै दाङ आएकाबेला उहाँलाई जनताले दिएको न्यानो आतिथ्यताले पुनः राजनीतिक बिरासत माथि उठ्ने विश्वास बढेर गएको छ।’

बलात्कार प्रयासको आरोप लागेपछि पूर्वसभामुख महराको आगामी राजनीतिमाथि विभिन्न अड्कलबाजी भए। केहिले राजनीति सकिएको आँकलन गरेभने उनका समर्थकहरूले बचाउको प्रयास निरन्तर गरिरहे। अदालतको फैसलालाई टेकेर आँफूमाथि लागेको आरोप ‘मिथ्या’ भएको सन्देश बाँड्न महरालाई मतदाताको दैलोसम्म पुग्ने ठूलो अवसर पनि जुट्यो।

फलतः उनि रिहाई भएलगत्तै आफ्नो चुनावी क्षेत्र दाङ आए। अदालतबाट सफाई पाएका महराले अहिले मतदाताबाट पनि सफाई खोजिरहेका छन्। गत १२ गतेदेखि दाङमा रहेका महराको आन्तरिक भेटघाट र सार्वजनिक कार्यक्रमको उपस्थितीले आँफूमाथि लागेको आरोप मेटेर पुनः पुरानै राजनीतिक ‘ओज’ कायम राख्न खोजेको प्रष्टै छ। १२ गते दाङ छिरेका महरा अहिलेसम्म जिल्लाको देउखुरी, घोराही, तुलसीपुर, हापुरेलगायत पहाडी क्षेत्रमा पुगेर त्यहाँका मतदातालाई आँफूलाई नियतवस फसाईएको स्पष्टिकरण दिइरहेका छन्।

दाङ पुगेकै दिन उनको स्वागतका लागि जिल्लाका विभिन्न स्थानमा उनका समर्थकहरू उपस्थित थिए। पहिलो दिन आफ्नो समर्थकहरूले देखाएको हौसलाले उनी निकै भावुक बने। कार्यकर्ताहरूलाई सम्बोधन गर्दागर्दै उनको गला रोकियो। महरा भन्छन् ‘तर जे भएपनि म तपाइहरूसंगै छु, विकास निर्माण मेरो प्राथमिकता हो, त्यसमा दत्तचित्त भएर लाग्ने छु।’ यतिमात्रै होइन, आफ्नो रिहाईलाई जनताकै जीतका रूपमा अथ्र्याउने गरेका महराले मतदाताको मायाँ बटुल्न पनि रिहाईको जस मतदातालाई दिइरहेका छन्।

आँफू राष्ट्रिय स्वाधिनताको पक्षधर भएकै कारण फसाएको बताउने गरेका महराले स्वाधिनताको मुद्दाबाट पछि नहट्ने अडान लिने गरेका छन्। कार्यकर्ता भेटघाट कार्यक्रममा मात्रै हैन, सरकारी कार्यक्रममै मिलेको न्यानो आतिथ्यताले पनि उनलाई झनै आत्मबल बढाइदिएको छ। घोराही उपमहानगरपालिकाले आयोजना गरेको असहाय मानव मुक्त सडक घोषणा कार्यक्रममा महरा प्रमुख आतिथि बने। यसैगरि बंगलाचुलीका दुई सामुदायिक विद्यालयले आफ्नो बार्षिकोत्सवमा उनलाई प्रमुख अतिथि बनाए। कार्यक्रमको प्रमुख आतिथ्यताले पनि महरालाई आँफू प्रतिको ‘दोष’ मेटिएको महशुस गराइदिएको नेकपाका नेताहरू बताउँछन्। दाङको एक हप्ते बसाइँ सकेर महरा गृह जिल्ला रोल्पा जाने कार्यक्रम रहेको छ। उनले आफ्नो गृह जिल्लाका नागरिकलाई पनि यसैगरी आँफू निर्दोष रहेको र सफाई दिनका लागि अनुरोध गर्नेछन्।

अदालतले निर्दोष सावित गरिदिएपछि चुनावी जिल्ला झरेका महरालाई समर्थक तथा मतदाताले फूलमालाले स्वागत गरिरहेका छन्। तर यो स्वागतले उनी माथि लागेको दाग पूर्णतः मेटिने वा नमेटिने भन्ने चुनौती उनका सामु छ। महरालाई अब पनि उसैगरि मतदाताको साथ मिल्ला त ? विश्लेषक बिनोद पोख्रेल भन्छन, ‘महराले अदालतबाट सफाई पाउनु भएको हो, उहाँलाई पुनः राजनीतिक हैसियत कायम राख्न मतदाताले सफाई दिनु पर्छ। उहाँका लागि अर्को परिक्षा अब सुरु भएको छु।’

महरालाई एमसिसीकै बिरोध गरेका कारण फसाईको टिप्प्णीसहित उनको बचाउ समेत गरिएको थियो। एमसिसी प्रकरण घुसाईएको भए दंगाली मतदाताहरुका लागि ‘महरा काण्ड’ क्षेम्य हुन गाह्रो हुने विश्लेषण पोख्रेलको छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App