८ वैशाख २०८१ शनिबार
अर्थ

जापानको नारिता पुग्यो निगमको जहाज

टोकियो (जापान) - नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमानले पहिलो पटक जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ। नेपाल एअरलाइन्सको वाइड बडी विमानले काठमाडौ–नारिताका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान सुरु गरी जापानको समयअनुसार बिहान १०ः५० मा सफल अवतरण गरेको हो।

मुख्य चालक दलको भूमिका क्याप्टेन विजय लामाले निर्वाह गरेका थिए। नेपालको समयभन्दा जापानको समय करिब ३ घन्टा १५ मिनेट छिटो छ।  निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ। सोहीअनुरुप सोमबार काठमाडौबाट नारिता उडान भरेको हो। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइड बडी ए–३३० जहाज छन्। त्यही जहाजबाट उडान हुनेछ।

गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारीका अनुसार जापानको नारिता, टोकियो, चिवालगायत सहरमा करिब ९० हजार नेपाली बस्छन्। ‘काठमाडौं–नारिता सिधा उडानले उनीहरुको यात्रा सहज बनाउने छ। जापानमा बस्नेमध्ये करिब ३० हजार बिद्यार्थी नै छन्,’ उनले भने। निगमले गत भदौ १२ गते ओसाका उडान सुरु गरेको थियो। तर नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरेर काठमाडौ–नारिता उडान सुरु गरिएको नेपाल एअरलाइन्सका जापानस्थित कन्ट्री मेनेजर सुलेश मिश्रले जानकारी दिए।

निगमको पहिलो व्यावसायिक उडानमा काठमाडौंबाट नारिताका लागि दुई सय २० यात्रुले टिकट लिएका थिए। नारिताबाट काठमाडौं जानेमा दुई सय ६८ जनाले टिकट लिएको मिश्रले जानकारी दिए।  निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम ७३ हजार रुपैयाँ कायम गरिएको  छ। सुरुमा प्रमोसनल फेयरअन्तर्गत यो भाडादर सार्वजनिक भए पनि भाडादर परिर्वतन हुनसक्ने बताइन्छ। निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिने निगमले जनाएको छ। दुई सय ७४ सिट क्षमताको वाइडबडी जहाजबाट निगमले जापानको नारिता अन्तर्राष्ट्रिय मिानस्थलमा उसले उडान सुरु गरेको हो।

प्रकाशित: २० फाल्गुन २०७६ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App