८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो, संक्रमण ६६ देशमा

बेइजिङ – कोरोना भाइरस संक्रमणबाट चीनमा थप ४२ जनाको ज्यान गएसँगै विश्वभरि यसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ। राष्ट्रिय स्वास्थ्य विभागका चीनमा कोरोना संक्रमणबाट दुई हजार नौ सय १२ को मृत्यु भएको छ। यस्तै, चीनबाहिर १३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ।

चीनमा पछिल्लो पटक कोरोना संक्रमणबाट मृत्यु हुने सबै हुबेई प्रान्तका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुबेई प्रान्तका छन्। गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण ६६ सहरमा फैलिएको सिएनएनले जनाएको छ।

इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ। इटालीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ। कोरोना भाइरस संक्रमणबाट विश्वभरी कम्तीमा ८९ हजार संक्रमित भएको पुष्टि भएको छ। इटालीमा ४८ घन्टामा संक्रमित मानिसको दर दोब्बर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ। त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा संक्रमण भएको पुष्टि भएको छ।

बेलायतमा ३६ जनामा संक्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आपतकालीन बैठक बोलाएका छन्। चीनपछि सर्वाधिक संक्रमण देखिएको दक्षिण कोरियामा थप पाँच सय जना संक्रमित भेटिएका छन्। त्यहाँ चार हजार दुई सय १२ जनामा संक्रमण भएको सरकारी तथ्यांक छ।

इरानमा थप १२ को मृत्यु
इरानमा कोरोना भाइरसबाट थप १२ जनामा संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्। यससँगै इरानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ। इरानमा अघिल्लो दिन ५२३ जनामा संक्रमण पुष्टि भएको जनाइएकोमा सोमबार यो संख्यउा तेब्बर बढेर एक हजार पाँच सय एक पुगेको बताइएको छ।

इरानका उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले सोमबार पत्रकार सम्मेलनमा भने, ‘इरानमा मार्च २ को रातिसम्म मृत्यु हुनेको संख्या ६६ पुगेको र एक हजार पाँच सय एक जनामा संक्रमण पुष्टि भएको छ।’ तर, स्थानीय अधिकारीहरूले भने यो संख्याभन्दा धेरैको कोरोना संक्रमणबाट ज्यान गएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका छन्।

इरानको दक्षिणी क्षेत्रका एक सांसदले गत बिहीबार कोरोनाबारे सरकारले तथ्यांक लुकाएको सञ्चारमाध्यममा बताएका थिए। उनले त्यतिबेला २१० जनाको कोरोनाबाट मृत्यु भइसकेको दाबी गरेका थिए। जबकी त्यतिबेला सरकारले कोरोनाबाट इरानमा ३० जनाको मात्रै मृत्यु भएको बताएको थियो।

दिनमा ३७ देशमा फैलियो
 चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्ला १० दिनमा ३७ देशमा फैलिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार फेबु्रअरी २१ देखि मार्च १ सम्म युरोप र मध्यपूर्वका देशमा कोरोना संक्रमित बिरामी फेला परेका छन्।

यो अवधिमा लेबनान, ओमान, इजरायल, अफगानिस्तान, ग्रिस, डेनमार्क, अस्ट्रिया, इस्टोनिया, रोमानिया, उत्तरी मेसोडोनिया, जर्जिया, नर्वे, स्पेन, ब्राजिल र अल्जिेरियामा नयाँ संक्रमित देखिएका छन्। यस्तै, स्विजरल्यान्ड, क्रोयसिया, बहराइन, कुवेत, इक्वेडर, लक्जेम्बर्ग, आइसल्यान्ड, मोनाको, मेक्सिको, नाइजेरिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, उत्तरी आयरल्यान्ड, बेलारुस, लिथुवानिया, कतार, आयरल्यान्ड, अर्मेनिया, क्रेच रिपब्लिक, डोमेनिकान रिपब्लिक र सान मारिनोमा नयाँ संक्रमण देखिएको छ।

फ्रान्सका सयभन्दा बढी विद्यालय बन्द
कोरोना भाइरसको संक्रमण फैलन नदिन फ्रान्स सरकारले सयभन्दा बढी विद्यालय दुई हप्ता बन्द गर्ने घोषणा गरेको छ। भाइरस संक्रमण तीव्ररूपमा फैलन थालेपछि फ्रान्स सरकारले आगामी मार्च १४ सम्मका लागि ओइस क्षेत्रका १० मावि, ११ निमावि र ८७ प्रावि बन्द गर्ने घोषणा गरेको हो।

विद्यालय बन्द गरिँदा २८ हजार विद्यार्थी प्रभावित बनेको त्यहाँस्थित सरकारले जनाएको छ। यसैबीच अमेरिकाको वासिंटनमा पनि कोरोना भाइरसको संक्रमण फैलन नदिन विद्यालय बन्द गरिएको छ। फ्रान्सको ओइस क्षेत्रको एक माध्यमिक विद्यालयबाहिर राखिएको बोर्ड। बोर्डमा कोरोना भाइरसका कारण दुई हप्ता विद्यालय बन्द गरिएको सूचना छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App