८ वैशाख २०८१ शनिबार
समाज

क्वारेन्टाइनमा रहेकालाई घर जान अनुमति

चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली बिद्यार्थी सोमबार क्यारेन्टाइनबाट घर फर्किने क्रममा क्वारेन्टाइनमा खुसी व्यक्त गर्दै। तस्बिर: रासस

भक्तपुर/काठमाडौं – भक्तपुर भत्केको पाटीका दिनेश सुकमनीका लागि सोमबारको दिन अविस्मरणीय बन्यो। १४ दिन भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा बसेर सोमबार साँंझ घर फर्कंदै गरेका उनले भने, ‘आजजत्तिको खुसी जीवनमा कहिले मिल्ला र !’ उनको घर क्वारेन्टाइन रहेको खरिपाटीबाट करिब एक किलोमिटरको दूरीमा छ। ‘हामी १४ दिनमात्रै क्वारेन्टाइनमा होइन, चीनमा एक्लै कोठामा गुम्सिएर त्रासमा बितेको दिन पनि गन्नुपर्छ। यस हिसाबले हामी ४२ दिनपछि खुला वातावरणमा फर्कंदै छौं।’

क्वारेन्टाइनमै रहेकी मणिता कुसी (सुकमनी) ले सोमबार पतिसहित क्वारेन्टाइनबाट घर फर्कंदै गर्दा नयाँं जीवन पाइएको भन्दै हर्ष प्रकट गरिन्। मणिता–दिनेश पतिपत्नी हुन्। क्वारेन्टाइनबाट बाहिरिने क्रममा खरिपाटी आइपुगेका नातेदारको स्वागतले भावुक बनेका उनीहरूले भने, ‘सबैभन्दा पहिला घरमा पुगेर बुबाआमाको अँगालोमा बेरिने त्यसपछि अन्य परिवारजन, आफन्त, छरछिमेकी भेटेर खुसी साट्ने इच्छा छ।’

दिनेश र मणिताजस्तै उपत्यकामा घर भएकाहरू अधिकांश सोमबार क्वारेन्टाइनबाट आ–आफ्नो घर फर्के। उपत्यकाबाहिर घर हुनेहरूले भने मंगलबार मात्रै क्वारेन्टाइन छाड्दैछन्। अर्घाखाँची घर भई बुटवल बसिरहेको बताउने सरोज खनालले मंगलबार मात्रै क्वारेन्टाइनबाट बाहिरिने बताए। खरिपाटी क्वारेन्टाइनमा बसेका एक सय ७५ जनामध्ये उपत्यकाबाहिरका ३० जना छन्।

क्वारेन्टाइनमा राखिएकाहरुले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवासुविधा दिएको भन्दै सरकारलाई विशेष धन्यवाद दिए।

क्वारेन्टाइनको अन्तिम दिन कसैलाई संक्रमण नभएको रिपोर्ट आएसँगै घर जाने अनुमति पाइएपछि क्वारेन्टाइनभित्र खुसीको माहोल बनेको थियो। आफूहरूको बिदाइका लागि आइपुगेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतमार्फत उनीहरूले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवासुविधा दिएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको भन्दै सरकारलाई विशेष धन्यवाद दिए। ‘अनुशासित भई क्वारेन्टाइनमा बसेको भन्दै मन्त्रीज्यूले पनि सबैलाई धन्यवाद दिनुभयो,’ बिदाइ गर्न पुगेका स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘निर्धक्क भएर घर फर्किन पाइएकोमा उनीहरू अत्यन्त हर्षित देखिन्थे।’

लामो समयको पर्खाइपछि छोराछोरी भेटेका अविभावकमा पनि खुसीको सीमा थिएन। क्वारेन्टाइनबाट बाहिरिएका र अभिभावक सबैलाई चक्रपथभरि सेवा दिनेगरी यातायातको व्यवस्थासमेत गरिएको थियो। क्वारेन्टाइन भने सम्भावित कोरोना जोखिमलाई लक्षित गरी तयारी अवस्थामै राखिने श्रेष्ठले बताए। ‘अन्य देशबाट पनि नेपालीको उद्धार गर्नुपर्ने अवस्था आए वा नेपालमै कोरोना संक्रमणको आशंकित भेटिए उनीहरूलाई राख्न क्वारेन्टाइनलाई तयारी अवस्थामा राखिने भएको हो।’

चीनबाट फागुन ४ गते फिर्ता ल्याइएका सबैलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो। उनीहरू सबैको शनिबार अन्तिमपटक स्वास्थ्य परीक्षण भएको थियो। कसैमा संक्रमण नदेखिएपछि सोमबार घर फर्कने अनुमति दिइएको हो। क्वारेन्टाइनमा एक सय ३५ पुरुष र ४० महिला छन्। उनीहरूलाई लिन गएको विमानका पाइलट, कोपाइलट, परिचारिका तथा स्विपरसहित १७ जनालाई भने नगरकोटस्थित खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो। उनीहरू भने आइतबार नै घर फर्किसकेका छन्।

कोरोना संक्रमणको आशंकामा पाँचजना अस्पताल भर्ना
कोरोना संक्रमणको आशंकामा सोमबार साँझसम्म पाँचजनालाई अस्पताल भर्ना गरिएको छ। तिनीहरूमध्ये चारजना कोरियाबाट आएका नेपाली हुन् भने एकजना चीनबाट आएका चिनियाँ पर्यटक हुन्। उनीहरू सबैको ¥याल तथा सास नमुना राष्ट्रिय प्रयोगशालामा राखिएको छ। ज्वरो आउने तथा रुघाखोकी लाग्ने समस्या देखिएपछि उनीहरूलाई भर्ना गरिएको अस्पतालले जनाएको छ। उनीहरू सबैलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको राष्ट्रिय महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए। उनका अनुसार उनीहरू सबैको स्वास्थ्य स्थिति सामान्य छ। ‘रिपोर्ट आउन भने बाँकी छ,’ उनले भने। रुघाखोकीसँगै ज्वरो देखिएपछि उनीहरूलाई अन्तर्राष्ट्रिय विमानास्थलमा रहेको हेल्थ डेस्कले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको थियो।

कोरोनाको जोखिमले कार्यक्रम स्थगित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न देशमा फैलिरहेको कोरानाको जोखिम नेपालमा समेत रहेको भन्दै विभिन्न कार्यक्रम स्थगित गरेको जनाएको छ। निर्धारित विभिन्न सभासम्मेलन १५ दिनका लागि स्थगित गर्ने र त्यति नै दिनका लागि दिन अन्य कुनै कार्यक्रम नगर्ने स्वास्थ्य सेवा विभागले निर्णय गरेको हो। ‘यो अवधिमा विभागले गर्ने कुनै पनि तालिम तथा सेमिनार हुनेछैन,’ स्वास्थ्य विभागमा महानिर्देशक श्रेष्ठले भने। त्यसैगरी विभागले सोमबार नै २७ जनाको टोली कोरोना व्यवस्थापनका लागि विभिन्न प्रदेशमा पठाएको जनाएको छ। प्रधानमन्त्री कार्यालयसहितको उच्चस्तरीय समितिले कोरोना व्यवस्थापनका लागि सोमबार नै छलफल गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App