coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना त्रास: सरकार सजग

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिन थालेपछि सरकारले त्यसविरुद्ध उच्च सतकृता अपनाउन थालेको छ। आमनागरिकलाई पनि सजग रहन आह्वान गर्दै उसले नेपाल भ्रमण वर्षसहित विभिन्न कार्यक्रम स्थगित गरेको छ। छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोनाको जोखिम विश्वभरि भयावह बन्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसविरुद्ध उच्च सतर्कता अपनाएको हो। उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरिएको छ।

उच्च जोखिममा रहेका चीन, जापान, कोरिया, इरानलगायत मुलुकमा अत्यावश्यकबाहेक भ्रमण नगर्न आमनागरिकलाई आग्रह गर्दै सरकारले हवाई माध्यमबाट विदेश जाने र आउने एक मात्र आन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणलाई कडा पार्न निर्देशन दिएको छ। अत्याआवश्यक बाहेक विमानस्थलसमेत नआउन र आउनै परे मास्क प्रयोग गर्न पनि आग्रह गरिएको छ। त्यस्तै ठूला भोजभतेर, सभासम्मेलन नगर्न पनि सरकारले आमनागरिकलाई अपिल गरेको छ।

विदेशबाट नेपाल आउनेलाई हेल्थकार्ड पेस गर्नुपर्ने व्यवस्था गर्दै प्रभावित मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृतिमा पनि रोक लगाइएको छ। सरकारले हाललाई इपिएस स्थगित गर्न पनि आग्रह गरेको छ भने भारत हुँदै नेपाल आउनेमा स्क्यानिङ सुरु गरेको छ। चैत तेस्रो साता आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रियस्तरको तीनदिने सगरमाथा संवाद पनि स्थगित गरेको छ।

‘ट्राभल एड्भाइजरी’ जारी
सरकारले कोरोना भाइरसबाट अतिप्रभावित देशमा नजान देशवासीलाई आग्रह गर्दै ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाबाट उच्च जोखिममा रहेका चीन, जापान, कोरिया, इरानलगायत मुलुकमा अत्यावश्यक अवस्थामा बाहेक भ्रमण नगर्न सुझाव दिए।

त्यस्तै मन्त्री ज्ञवालीले सरकारले विदेशबाट नेपाल आउनेलाई हेल्थकार्ड पेस गर्नुपर्र्ने व्यवस्था गरेको पनि जानकारी दिए। उनका अनुसार प्रभावित मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृतिमा पनि रोक लगाइएको छ। सरकारले हाललाई इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने प्रक्रिया स्थगित गर्न आग्रह गरेको छ भने भारत हुँदै नेपाल आउनेहरूको स्क्यानिङ सुरु गरिने जनाएको छ। कोरोनाबाट अति प्रभावित मुलुकमा मार्च १० देखि ३१ सम्मका लागि आगमन भिसामा समेत रोक लगाउन लागेको मन्त्री ज्ञवालीले बताए।

सगरमाथा संवाद स्थगित
कोरोना भाइरसको सम्भावित जोखिमका कारण चैत तेस्रो साता आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रियस्तरको तीनदिने सगरमाथा संवाद स्थगित गरिएको छ। ‘उपयुक्त समय हेरेर फेरि गर्नेगरी हाललाई सगरमाथा संवादको पहिलो शृंखला स्थगित गरेका छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा भने। सगरमाथा संवादको पहिलो शृंखलामा जलवायु परिवर्तन, पहाड र मानवताको भविष्यलाई प्रमुख विषय तय गरिएको थियो।

उक्त संवादमा विश्वका विभिन्न देशका राष्ट्रप्रमुख, प्राज्ञ, व्यापारिक नेता, अन्तर्राष्ट्रिय नागरिक समाजका अभियन्ता, विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहने कार्यक्रम थियो। जलवायु परिवर्तनसम्बन्धी बहुसरोकारवालाको भेला गराएर त्यसमा थप लगानी र सहकार्यको विकास गर्ने लक्ष्य सगरमाथा संवादले लिएको थियो।

एनओसीमा रोक
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीका लागि हाललाई अध्ययन स्वीकृति (नो अब्जेक्सन लेटर) तथा विदेशी मुद्रा सटही सुविधा सिफारिसपत्र नदिने निर्णय गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेश जाने विद्यार्थीलाई एनओसी केही समयका लागि रोक्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना सार्वजनिक गरेरै मंगलबारदेखि एनओसीमा रोक लगाउन लागेको मन्त्रालयका सचिव महेश दहालले बताए। मंगलबारदेखि रोक लाग्ने भएपछि केशरमहलस्थित एनओसी शाखामा सोमबार एनओसी लिने विद्यार्थीको अत्यधिक घुँइचो लागेको थियो। एकै दिन पाँच सयभन्दा बढी विद्यार्थी एनओसी लिन आएपछि त्यहाँका कर्मचारीहरूलाई भीड सम्हाल्न हम्मेहम्मे परेको उपसचिव बमशेर राईले बताए। उनले हातमा प्लेनको टिकटसहित लिएर आएका विद्यार्थीहरूलाई भने एनओसी दिन बाध्य बनेको जानकारी दिए। ‘मन्त्रिपरिषद्को निर्णय एनओसी नदिने नै थियो। तर शिक्षा मन्त्रालयबाट अझै पनि एनओसी शाखामा कुनै सूचना आएको छैन,’ उपसचिव राईले सोमबार नागरिकसँग भने, ‘आज (सोमबार) राति ११ बजे जापान उड्ने टिकट लिएर आएका विद्यार्थीको एनओसी हामीले रोक्नै सकेनौं।’ उनका अनुसार सोमबार एनओसी लिन आउने आधाभन्दा बढी अध्ययनका लागि जापान जाने योजनामा रहेकाहरू थिए।

नेपालबाट उच्च शिक्षामा लागि ठूलो संख्यामा विद्यार्थी बिदेसिने गरेका छन्। एनओसी शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार २०७५ साउन १ देखि २०७६ साउन ३२ सम्म ६७ हजार ७ सय ८६ ले एनओसी लिएका छन्। यो अवधिमा सबैभन्दा बढी अस्ट्रेलिया जाने विद्यार्थी छन्। त्यहाँ जान एनओसी लिने विद्यार्थीको संख्या ३७ हजार ६ सय ४१ छ। नेपाली विद्यार्थी जाने दोस्रो मुख्य देश जापान हो। त्यहाँ जान आठ हजार सात सय ७१ जनाले एनओसी लिएका छन्। यसैगरी तेस्रोमा रहेको देश साइप्रस हो। त्यहाँ जान दुई हजार सात सय ५१ जनाले एनओसी लिएका छन्। अध्ययनका लागि भारत जाने दुई हजार दुई सय ७५ र अमेरिका जाने एक हजार आठ सय ११ जना छन्। पछिल्लो समय जापानका लागि एनओसी लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको उनले जनाए।

‘जनताको स्वास्थ्यसँग जोडिएकाले सरकार संवेदनशील भएको हो। त्यसकारण शुल्क तिरेकाहरूले समेत हाललाई एनओसी पाउनेछैनन्,’ मन्त्रालयका सचिव दाहालले भने, ‘स्थिति सामान्य भएपछि पुनः एनओसी दिन थालिन्छ। विद्यार्थीहरूले आत्तिनुपर्दैन।’
            

प्रकाशित: २० फाल्गुन २०७६ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App