७ वैशाख २०८१ शुक्रबार
राजनीति

कोरोना त्रास, चीनसँगको नाकाबन्द गर्न सांसदको माग

सुर्खेत - कोरोना संक्रमण रोक्नका लागि चीनसँगका सीमा नाका बन्द गर्न कर्णाली प्रदेशका सांसदहरुले माग गरेका छन्। सांसदहरुले कर्णालीका हिमाली जिल्लाहरुमा विभिन्न रोगको संक्रमण बढ्दै गएकाले चीनसँगका सीमा नाकाहरु तत्कालका लागि बन्द गर्नुपर्ने बताइन्।

डोल्पाबाट प्रतिनिधित्व गर्ने सांसद बद्मी क्वारी बोहराले त्रिपुरासुन्दरी गाउँपालिका–१ को करेलीकाँडाको सिंगो बस्तीमा फैलिएको संक्रमण कोरोना संक्रमणसँग मिल्दोजुल्दो रहेकाले तत्काल चिकित्सक र औषधि पु¥याउन सरकारसँग माग गरिन्।

‘चीनबाट फैलिएको कोरोना संक्रमण भित्रिन नदिन डोल्पाको धो–मोरिम्ला, हुम्लाको हिल्सा, मुगुको नाक्चेनाङ्ला नाका तत्कालका लागि बन्द गरिनुपर्छ,’ सांसद बोहराले भनिन्, ‘यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ।’

उनले करेलीकाँडामा फैलिएको संक्रमणको पहिचान गर्न र विरामीहरुको तत्काल उपचारका लागि दक्ष जनशक्ति र औषधि पठाउन पनि माग गरिन्। ‘करेलीकाँडामा ८० भन्दा धेरै स्थानीयहरु थलिएका छन्, अहिलेसम्म औषधि र दक्ष चिकित्सक सरकारले पठाउन सकेको छैन्,’ उनले भनिन्, ‘विश्वभर कोरोना संक्रमण फैलिरहेको बेला सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्छ।’

सांसद वीरबहादुर शाहीले विश्वभर कोरोनाको संक्रमण बढीरहेका बेला प्रदेश र संघीय सरकार त्यसको रोकथामका लागि पूर्व तयारीमा नलागेको आरोप लगाए। ‘कर्णालीका हिमाली तथा पहाडी जिल्लाका गाउँहरुमा विभिन्न रोगको संक्रमणहरु देखिएका छन्,’ सांसद शाहीले भने, ‘त्यसको रोकथामका लागि सरकारले लक्ष चिकित्सक र औषधि पठाउन जरुरी छ।’

सांसद अम्मरबहादुर थापाले चीनसँग सीमा जोडिएको प्रदेश भएकाले कोरोनाको संक्रमण पनि उच्च रहेको बताए। ‘सरकारले कोरोना संक्रमण रोक्नका लागि के गरिरहेको छ ?’ सांसद थापाले प्रश्न गरे, ‘त्यसको जानकारी संसदमार्फत जनतालाई जानकारी दिनुपर्छ।’
प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले चीनसँग सीमा जोडिएका सीमा नाकाका साथै कर्णालीका मुख्यमुख्य प्रवेशद्धारमा कोरोना भाइरस पहिचानका लागि स्क्रिनिङको व्यवस्था गरिनुपर्ने बताए। ‘अहिलेसम्म प्रदेश सरकारले कोरोना संक्रमणका लागि स्क्रिनिङ र परामर्श सेवाको पनि व्यवस्था गरेको छैन्,’ उनले भने, ‘सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्छ।’

प्रकाशित: १९ फाल्गुन २०७६ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App