coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सगरमाथा संवाद स्थगित

काठमाडौं- अप्रिल २ देखि ४ तारिखसम्म हुने भनिएको सगरमाथा सम्वाद स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलिएपछि सरकारले सगरमाथा सम्वाद स्थगित गर्ने निर्णय गरेको हो।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बनेको कोभिड—१९ रोकथाम उच्चस्तरिय समन्वय समितिले गरेको निर्णय अनुसार सगरमाथा सम्वाद स्थगित गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। समितिले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन तथा कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको थियो। समितिले गैह्रसरकारी तथा नीजि क्षेत्रलाई पनि तत्कालका लागि त्यस्ता कार्यक्रमहरु स्थगित गर्न आग्रह गरेको छ। सगरमाथा सम्वादका लागि विभिन्न २० मुलुकबाट राजनीतिक सहभागिता, विभिन्न विश्वविद्यालय र संघसंस्थाहरुले सहभागिता जनाउने पक्का भएपनि कार्यक्रम स्थगित भएको उनले बताए। कार्यक्रमका विषयमा उत्साहजनक प्रतिक्रिया आएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले कार्यक्रम प्रभावित हुँदा केही असहज भएको बताए। कार्यक्रम सञ्चालन गर्ने वातावरण बनेपछि नयाँ मिति तय गरेर पुनः सगरमाथा सम्वाद गरिने उनले बताए। सम्भव भएसम्म सरकारले नोभेम्बरमा सम्मेलनको आयोजना गर्ने उनले बताए।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि सरकार सतर्क भएको उनले बताए। सरकारले अत्याधिक संक्रमण भएका मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अनअराइभल भिसा रोक्ने निर्णय पनि गरेको छ। मार्च १० बाट उक्त निर्णय कार्यान्वयन हुनेछ। सरकारले नेपाली नागरिकहरुलाई अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान पनि सरकारले आग्रह गरेको छ। इपिएस प्रणालीबाट कोरिया तत्काल कामदार नपठाउने निर्णय पनि सरकारले गरेको छ। अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुलाई समेत नो अब्जेक्सन लेटर लिन सरकारले रोक लगाएको  छ। मन्त्री ज्ञवालीले सीमा नाकाहरुमा उच्च सतर्कता अपनाइएको बताए। भारत भएर आउने तेस्रो मुलुकका नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने निर्णय पनि रकारले गरेको छ। सरकारले सोमबार नै जापानको नारिता उडान सुरु गरेको विषयमा मन्त्री ज्ञवालीले उद्घानका लागि मात्रै सोमबार उडान गरिएको तर कोरोना पूर्ण रुपमा नियन्त्रण नहुँदासम्म उडान स्थगित हुने बताए। विभिन्न देशमा रहेका दूतावासहरुलाई तयारी अवस्थामा रहन भनेको छ। त्यहाँ रहेका नेपाली नागरिकहरुमा कुनै समस्या देखिए तत्काल उद्धार गर्न पनि सरकारले निर्देशन दिएको उनले बताए। एक फरक प्रसंगमा ज्ञवालीले चीनका लागि नेपाली राजदूत काम गर्न सजिलो होस भनेर परिवर्तन गरिएको बताए। छिमेकी मुलुकमा उच्च राजनीतिक प्रतिनिधित्व गराउन उपयुक्त हुने भएकाले लिलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरिएको उनले बताए।

प्रकाशित: १९ फाल्गुन २०७६ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App