coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

यौनदुराचारीको विरोधमा अवार्ड बहिस्कार

पेरिस (एजेन्सी) – फ्रान्सेली अभिनेत्री एडेल हइनेलले यौनदुराचारी रोमन पोलान्स्कीले सेजार्समा उत्कृष्ट निर्देशक घोषित भएलगत्तै अवार्ड समारोह बहिस्कार गरेकी छन्। ‘एन अफिसर एन्ड अ स्पाइ’ फिल्मबाट उत्कृष्ट निर्देशक र पटकथा जितेका पोलान्स्कीलाई अवार्ड दिएपछि विरोधमा समारोहस्थल बाहिर प्रदर्शन गरिएको थियो।

सो अवार्डलाई संसारभर चलेको ‘मिटु’ अभियानको असफलताका रूपमा लिइएको छ। समारोहमा अनुपस्थित रहेका निर्देशक पोलान्स्कीले सन् १९७७ मा अमेरिकामा १३ वर्षीया बालिकामाथि यौनदुराचार गरेको स्वीकार गरेका थिए। कारवाहीअघि अमेरिका छाडेका उनी अहिलेसम्म फरार सूचीमा रहेका छन्।

निर्देशक पोलान्स्कीको नाम घोषणा भएलगत्तै फ्रान्सेली अभिनेत्री हइनेलले ‘लाजमर्दो’ भन्दै समारोह बाहिर निस्किएकी थिइन्। समारोहकी प्रस्तोता फ्लोरेन्स फरेस्टीले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘निराश’ लेखेर पोस्ट गरेकी छन्। फ्रान्समा ‘मिटु’ अभियानलाई सशक्त बनाइरहेको नोउस टोटेसले विज्ञप्ति जारी गर्दै लाजमर्दो भएको उल्लेख गरेको थियो। ‘प्रतिष्ठित अवार्ड यौनदूराचारीलाई प्रदान गर्दा पीडितलाई थप पीडा दिएको छ भने यस्ता अपराध गर्न अरूलाई समेत प्रोत्साहन गरेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। समारोहस्थल बाहिर प्रदर्शनकारीहरूले ‘नो सेर्साज फर रेपिस्ट’ जस्ता शब्दहरूसहितको प्लेकार्ड लिएर विरोध गरेका थिए।

यसअघि फ्रान्सेली संस्कृति मन्त्री फ्रान्क रेस्टरले यौनदुराचारीलाई अवार्ड दिनु गलत निर्णय भएको बताए। त्यस्तै निर्देशक पोलान्स्कीले विज्ञप्तिमार्फत उपस्थित नहुनुको कारण खुलाएका थिए।

प्रकाशित: १९ फाल्गुन २०७६ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App