coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नेपथ्यको प्रस्तुतिले भृकुटीमण्डप गुञ्जायमान

काठमाडौं – ‘आँगनै भरी हिउँ नै झरे, आरु फूल है टिपी राखे है’ बोलको गीत गुञ्जयमानसँगै नेपाली लोक रक ब्यान्ड नेपथ्यको सुरुवाती दिनको झल्को दिने फोटोहरूको श्रव्यदृश्य प्रस्तुत भइरहेको थियो। सो गीतसहितको श्रव्यदृश्य सकिएलगत्तै स्टेजमा देखिएका नेपथ्यका गायक अमृत गुरुङले भने, ‘नमस्ते।’ शनिबार राजधानीको भृकुटीमण्डपमा आयोजित ‘शिक्षाको लागि संगीत’ कन्सर्टमा नेपथ्यले आफ्ना नयाँ र पुराना गीतहरू प्रस्तुत गरेका थिए।

भूकम्पपछि निर्माणाधीन अवस्थामा रहेको दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन पुनर्निर्माणको लागि रकम जुटाउन आयोजना हुन गरिएको कन्सर्टबार जानकारी गराउँदै गायक गुरुङले बालबालिकाहरू शिक्षाबाट वञ्चित नहुन भनेर स्कुल पुननिर्माणको लागि जुटेको बताए।

‘भूकम्पले भत्काएको दोलखाको सरकारी स्कुल पुननिर्माणका निम्ति रकम जुटाउन कन्सर्टको आयोजना गरिएको हो,’ उनले भने, ‘देशका धेरै बालबालिकाहरू अहिले पनि शिक्षाबाट वञ्चित छन्। हामी सबै मिलेर सबैलाई शिक्षित बनाउन हातेमालो गर्नु जरुरी छ।’

‘नैना ताल नैना ताल, घुमि आयो रेल, आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल’ बोलको गीत गुञ्जियमान हुँदा उपस्थित दर्शकहरूले साथ दिएका थिए। युद्धमा सहभागी हुन विदेशिएका लाहुरेहरूले गाउँदै आएको भाकालाई उनले सो गीतको रूपमा परिमार्जित गरिएको थियो। ‘हाम्रा अगुवाहरूलाई धेरै गरेझैं लाग्ला। तर देशको हालत सबैतिर लथालिंग छ, ’उनले भने, ‘गाउँ, सहर र टोलका नेतृत्व वर्गले विकासको निम्ति काम गर्न सुझाव दिन चाहन्छु।’

हेल्प नेपाल नेटवर्कसँग सहकार्य गरेर आयोजना गरिएको कन्सर्टमा नेपथ्यले ‘छेक्यो छेक्यो’, ‘रेशम’, ‘भेंडाको ऊनजस्तो’, ‘जोमसोमे बजार’,‘उडायो रेलै ले’ र ‘तालको पानी’ जस्ता गीतहरू सुनाएका थिए। त्यस्तै उनले पैदय यात्राको क्रममा देशको विभिन्न क्षेत्र भ्रमण गर्दा तयार गरेका गीतहरू प्रस्तुत गरेका थिए। ‘नेपाल सुन्दर देश भएकाले सबैले एकपटक घुम्नु जरुरी छ। अहिले नेपाल घुम्न सजिलो छ,’ सांगीतिक प्रस्तुत दिने क्रममा उनी भन्दै थिए, ‘नेपथ्यले आफूलाई मनोरञ्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि अग्रस्थानमा उभ्याउँदै आएको छ,’ उनले भने, ‘दोलखाका बालबालिकाहरूमा समर्पित यो कन्सर्टले त्यसै उद्देश्यलाई निरन्तरता दिएको हो।’

यसअघि विसं. २०७२ सालको भूकम्पलगत्तै नेपथ्यले प्रधानमन्त्री राहतकोषमार्फत करिव ४० लाख रुपैयाँ योगदान दिएको जानकारी ब्यान्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले दिए। ‘विसं. २०७२ सालको विनाशकारी भुइँचालोका बेला नेपथ्यले प्रधानमन्त्री राहतकोषमा दुईपटक गरेर सोझै दस लाख रुपैयाँ र विदेशका केही कन्सर्टहरुबाट उठेको रकमसमेत गरी झण्डै चालिस लाख रुपैयाँ सहयोग गरेको थियो। यो कन्सर्ट त्यसैको निरन्तरता हो,’ उनले भने। नेपथ्यले भूकम्पलगत्तै अष्ट्रेलिया, जापान र संयुक्त अरब इमिरेट्समा सांगीतिक प्रस्तुति दिएको थियो।

दोलखा सो सरकारी स्कुलको पुननिर्माण विसं. २०७३ चैतमा सुरु गरिएको थियो। आधारभूत सुविधायुक्त यो भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ। सो स्कुलको भवन पुननिर्माण भएलगत्तै तीन सय विद्यार्थीले पढ्ने अवसर पाउनेछन्। कन्सर्टमा ध्रुव लामा, सुरज थापा, सुविन शाक्य, निरज गुरुङ र शान्ति रायमाझीले सघाएका थिए।

प्रकाशित: १९ फाल्गुन २०७६ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App