८ वैशाख २०८१ शनिबार
कला

कलामा मानिसको जीवन र जगत

काठमाडौं – ठमेलस्थित दलाइ–ला आर्ट ग्यालरीमा कलाकार जय शंकरसन श्रेष्ठको तेस्रो एकल प्रदर्शनी सम्पन्न भएको छ। एक महिनादेखि सञ्चालन भएको प्रदर्शनी सम्पन्न भएको कलाकार श्रेष्ठले जनाकारी दिए। प्रदर्शनीमा मानव जीवनका सुखान्त र दुखान्तका घटनालाई कलात्मकरूपमा चित्रण गरिएको थियो। ‘अन्त्यहीन यात्रा’ शीर्षकमा गरिएको प्रदर्शनीमा कलाकार श्रेष्ठले जीवन र जगतका साश्वत सत्य र विभिन्न परिघटनालाई क्यानभासमा चित्रण गरेका छन्।

श्रेष्ठले कुमालेको चक्रजस्तै घुमिरहने जीवनमा कहिले सुख त कहिले दुःखका परिघटनाहरू चलिरहन्छन्, तीनलाई सिर्जनात्मक दृष्टिबाट क्यानभासमा उतार्ने काम गरेको बताए। उनले आफ्ना सिर्जनाका विषयमा भने, ‘मैले साँखु वरिपरीकै विषयलाई कलाको थिमका रूपमा लिएको छु। जसमा संस्कृति, प्रकृति, सुख दुःख, जीवनयात्रालगायतका विषयलाई प्रस्तुत गरेको छु।’ उनले प्रकृति, संस्कृति, जीवन र जगत, आरोह अवरोह तथा मानवीय गतिविधि सबै अन्त्यहीन रहेको जिकिर गर्दै कलामा तीनै विषयलाई प्रस्तुत गरेको बताए।

२०७२ सालमा आएको भूकम्प र त्यसको कहरले निम्त्याएको दुखान्त विषयलाईसमेत कलाकार श्रेष्ठले मार्मिक रूपमा उठाएका छन्। भत्किएका घर, सम्पदा तथा सांस्कृतिक धरोहरलाई चित्रमा प्रस्तुत गर्दै भूकम्पका कारण सामाजिक जीवनमा परेको प्रभावलाई उनको चित्रमा केलाइएको छ।

उनले प्रतीकात्मक रूपमा चित्रमा पुतली, सारस तथा हम्वर्ग चरालगायतका विषयलाईसमेत राखेका छन्। जीवन सुन्दर परिकल्पनाको सँगालो रहेपनि त्यसमा जीवन र जगतका विषय भने कहिले दुखान्त त कहिले सुखान्त रूपमा आउने श्रेष्ठले भनाइ छ। उनले सांस्कृतिक तथा प्राकृतिक विषयलाई समेत क्यानभासमा उधिन्दै सगरमाथा, विभिन्न मन्दिर, संस्कृतिका विविध पाटालाई समेत चित्रमा प्रस्तुत गरेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७६ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App