coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन योजनामा अनियमितता भएको जिससको ठहर

ओखलढुंगा – जिल्लाका तीनवटा योजनामा व्यापक अनियमितता भएको पाइएको छ। मोलुङ–एकवार सडक, निशंखे खेलमैदान र ढुस्के–पोक्तिङखोला–बरुणेश्वर–बिगुटार सडक निर्माणमा मूल्यांकनभन्दा बढी रकम भुक्तानी गरेकाले अनियमितता देखिएको हो। जिल्ला समन्वय समिति (जिसस) ले गरेको अनुगमनपछि त्यस्तो अनियमितताबारे खुलासा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

स्वास्थ्य कार्यालय रुम्जाटारमार्फत उपभोक्ता समिति गठन भई निशंखे खेलमैदान निर्माण गर्दा अनियमितता भएको छ । सिद्धिचरण नगरपालिका–२ स्थित उक्त खेलमैदान ५० लाख रुपैयाँमा निर्माण गर्नेगरी स्थानीय उपभोक्ता समितिसँग सम्झौता भएको थियो । त्यसमध्ये ४७ लाख २२ हजार भुक्तानी भइसकेको छ । काम भने ३४ लाख १६ हजार आठ सय ७७ रुपैयाँबराबरको मात्र भएको जनाइएको छ । १३ लाख पाँच हजार एक सय २२ रुपैयाँभन्दा बढी भुक्तानी भएको देखिएको जिसस प्रमुख जयबहादुर श्रेष्ठले बताए । निर्माण सम्पन्न नहँुदै खेलमैदानको केही भाग भत्किसकेको छ।

त्यसैगरी मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाबीचको ढुस्के–पोक्तिङखोला–वरुणेश्वर–बिगुटार सडक निर्माण गर्दा पनि भुक्तानी रकमअनुसारको काम भएको देखिएको छैन । जिसस प्रमुख श्रेष्ठका अनुसार ६२ लाख ९३ हजार सात सय ५० रुपैयाँमा निर्माण गर्नेगरी स्थानीय उपभोक्ता समितिसँग सम्झौता भएकोमा प्राविधिक मूल्यांकन गर्दा २३ लाख ८५ हजार ६ सय १३ रुपैयाँ बराबरको मात्रै काम भएको छ । तर ५७ लाख ८७ हजार चार सय सात रुपैयाँ भने उपभोक्ता समितिले लिइसकेको छ । सम्पन्न कामका आधारमा ३४ लाख एक हजार सात सय ९३ रुपैयाँ बढी भुक्तानी भएको उनले बताए । करिब दुई किलोमिटरभन्दा बढी सडक फराकिलो गरेर उक्त रकम समितिले भुक्तानी लिएको देखिन्छ।

त्यस्तै लामो समयदेखि निर्माणाधीन मोलुङ–एकवार–हर्कपुर–पात्ले सडकमा पनि अनियमितता भएको पाइएको समितिले जनाएको छ। उक्त सडक आयोजनाअन्तर्गत सुनकोसी गाउँपालिका–६ भुल्के खण्डमा ठेकेदारले सम्झौताअनुसार कामै नगरी रकम लिएको जिससले जनाएको छ । ३३ लाख ९४ हजार तीन सय ८४ रुपैयाँमा ठेक्का सम्झौता भएको सो सडकको निर्माणसमेत पूरा भएको छैन । हालसम्म २६ लाख २९ हजार ९२ रुपैयाँ भुक्तानी भइसकेको छ । प्राविधिक मूल्यांकनअनुसार १९ लाख ६३ हजार पाँच सय ४४ रुपैयाँबराबरको मात्र काम भएको छ । सम्पन्न कामभन्दा ६ लाख ६५ हजार पाँच सय ४८ रुपैयाँ बढी भुक्तानी भएको जिससको अनुगमनमा देखिएको छ । सडक डिभिजन कार्यालय हर्कपुरले ठेक्का लगाएको उक्त योजना भक्तपुरको सुगम सफल निर्माण प्रालिले ठेक्कामा लिएको थियो ।

जिल्लामा सञ्चालन भइरहेका अन्य योजनाको पनि अनुगमन गरिने जिसस प्रमुख जयबहादुर श्रेष्ठले बताए। अनियमितता देखिएका योजनाहरूमा कर्मचारी, ठेकेदार र उपभोक्ता समिति सबैको मिलेमतो देखिएको उनको भनाइ छ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App