८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

ग्रिसको एर्डिना जिल्लाको सीमा क्षेत्रमा पर्ने पाजारकुलेमा हिँड्दै आप्रवाशी। तस्बिर : एएफपी।

कास्टानिज – ग्रीसले टर्कीको सीमाभित्र प्रवेश गर्न चाहने झण्डै १० हजार आप्रवासीलाई सीमामै रोकेको त्यहाँको सरकारले जनाएको छ। सरकारी स्रोतले गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने झण्डै ९ हजार ९७२ जना आप्रवासीलाई एभरोस क्षेत्रतर्फ फर्काइएको जनाएको छ। यो क्षेत्र टर्कीसँग सीमा जोडिएको छ। टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले गत साता युरोपतर्फको सीमा खुला गरिदिने धम्की दिएसँगै ठूलो संख्यामा शरणार्थीहरू ग्रीस र टर्कीको सीमा क्षेत्रमा आइपुगेका थिए।

सिरियाली द्वन्द्व समाधानमा युरोपेली सरकारमाथि दबाब दिन टर्कीका राष्ट्रपतिले यस्तो कदम चाल्नु भएको हो। हालैमात्र सिरियाको इदलिबमा सिरियाली फौजको हवाई कारबाहीमा दर्जनौं टर्केली सेनाको ज्यान गएपछि परिस्थिति जटिल बनेको छ। एक जना सरकारी स्रोतले सेना र प्रहरीले आफ्नो भूमिमा प्रवेश गर्न चाहने हजारौं सिरियाली शरणार्थीलाई सीमामै रोकेको बताएको छ। आइतबार बिहानै कास्टानिज वन क्षेत्रको बाटो हुँदै ठूलो समूह ग्रीसतर्फ प्रवेश गर्न खोजेको स्रोतले बताएको छ। ग्रीकका अधिकारीहरूले ७३ आप्रवासीलाई पक्राउ गरिएको बताएका छन्। तर उनीहरू इदलिबका नभई अफगानिस्तान, पाकिस्तान र सोमालियाका नागरिक छन्।

झण्डै १३ हजार आप्रवासी टर्की–ग्रीस सीमा क्षेत्रमा भेला भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार यी व्यक्तिहरूसँग बालबालिका र परिवारका सदस्य छन्। ग्रीसका सुरक्षाकर्मीले इभरोस नजिक आसपास गस्ती बढाएका छन्। उनीहरूले लाउडस्पिकरबाट आफ्नो भूमिमा प्रवेश नगर्न चेतावनीसमेत दिएका छन्। कतिपय स्थानमा प्रहरीमाथि ढुंगा प्रहार गर्ने आप्रवासीलाई नियन्त्रणमा लिन प्रहरी र सेनाले अश्रुग्यास प्रहार गरेको छ। टर्कीमा हाल झण्डै ३६ लाख शरणार्थीले आश्रय लिइरहेका छन्। उनीहरूमध्ये अधिकांश युरोप प्रवेश गर्ने योजनामा छन्। टर्कीका राष्ट्रपतिले यी आप्रवासीलाई युरोपले मानवीय सहायता नदिए आफूले सीमा खोलिदिने बताउँदै आएका छन्।

‘संगठित, सामूहिक तथा गैरकानूनीरूपमा हाम्रा सीमा क्षेत्रमा आक्रमण बढाएको र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ। ग्रीसले शुक्रबारदेखि सीमालाई बन्द गरेको छ,’ सरकारका प्रवक्ता स्टेलियस पेट्सासले प्रधानमन्त्रीसँग शनिबार भएको आकस्मिक बैठकमा भनेका थिए।  

प्रकाशित: १९ फाल्गुन २०७६ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App