८ वैशाख २०८१ शनिबार
राजनीति

गणपूरक संख्या नपुग्दा बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभाको आइतबारको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको छ। संविधानबमोजिम एकचौथाइ उपस्थित हुुनुपर्नेमा गणपुरक संख्या नभएकोले सोमबारसम्मका लागि बैठक स्थगित भएको छ। २ सय ७५ सदस्यीय संसद्मा ६९ जना सांसद उपस्थित हुनुपर्नेमा ५४ जना मात्र उपस्थित थिए। नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा कांग्रेसका प्रकाश रसाइलीले कोरमको प्रश्न उठाएका थिए।

यसअघिका दुईवटा बैठक पनि कोरम नपुगेर स्थगित भएका थिए। फागुन १५ गते बिहीबार राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधयेक, २०७६ माथि विचार गरियोस्,’ भनी प्रस्ताव स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा कांग्रेसका देवप्रसाद तिमिल्सेनाले गणपुरक संख्याको प्रश्न उठाएका थिए। त्यसपछि गणना गर्दा ५८ जनामात्र सांसद उपस्थित भएपछि संसद् बैठक स्थगित भएको थियो। फागुन १३ गते मंगलबारको बैठकमा बैंक तथा वित्तीय संख्यासम्बन्धी(पहिलो संशोधन) विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि निर्णयार्थ प्रस्ताव गर्दा कांग्रेसका अतहर कमाल मुसलमानले गणपुरक संख्याको प्रश्न उठाएका थिए। त्यसपछि गणना गर्दा ५६ जना सांसद मात्र उपस्थित भएकाले संसद् बैठक स्थगित भएको थियो। संविधानको धारा ९४ मा ‘संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुनेछैन,’ भन्ने व्यवस्था रहेकाले २७५ सदस्यीय प्रतिनिधिसभामा गणपुरक संख्या पुग्नका लागि ६९ जना सांसद उपस्थित हुनुपर्दछ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App