५ वैशाख २०८१ बुधबार
राजनीति

प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपण तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनः प्रत्यारोपणको तयारी सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नै मिर्गौला पुनः प्रत्यारोपण गर्नेगरी व्यवस्थापन गरिएको अस्पताल स्रोतले जानकारी दियो।

स्रोतका अनुसार बुधबार प्रत्यारोपण गर्नेगरी सोमबार अस्पताल भर्ना गर्ने तयारी गर्न प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएको छ। शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रत्यारोपणबारे आफूले पनि सुनेको भन्दै यस विषयमा प्रधानमन्त्री अस्पताल भर्ना भएपछि मात्र जानकारी दिन सकिने बताए।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीमा रहेका डा. उत्तम शर्माले यस विषयमा अहिले नै बोल्न नमिल्ने बताए। ‘प्रधानमन्त्री अस्पतालमा भर्ना भएपछि नियमित रुपमा बुलेटिन निकालेर सञ्चारमाध्यमलाई जानकारी गराइनेछ’, डा. शर्माले भने।

ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आफू मिर्गौला पुनः प्रत्यारोपण गर्ने तयारीमा रहेको बताएका थिए। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्ने तयारीबारे आइतबार बसेको सचिवालय बैठकमा जानकारी गराएको बताए।

पहिलोपटक प्रत्यारोपण गर्दा बुहारी अञ्जना घिमिरेकोे मिर्गौला लिएका ओलीलाई अहिले करिब २५ वर्षकी नातिनीले मिर्गौला दिन लागेकी हुन्। त्रिवि शिक्षण अस्पतालमा मिर्गौला पुनः प्रत्यारोपण गर्ने तयारी भएको छ।

ओलीले २०६३ सालमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए। मिर्गौलाले नियमित काम गर्न छाडेपछि पुनः प्रत्यारोपण गर्न खोजिएको हो। सामान्यतः एकपटक प्रत्यारोपण गरेको मिर्गौलाले १२ वर्षसम्म काग गर्छ। प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाहसहितको टोलीले उनको मिर्गौला प्रत्यारोपण गर्ने भएको हो।

नेपालको कानुनले प्रत्यारोपणका लागि आफन्तबाट मात्र अंग लिन सक्ने व्यवस्था गरेकाले प्रधानमन्त्री ओलीले नाताले नातिनी पर्ने एक महिलाबाट मिर्गौला लिने सहमति भएको छ। पहिलोपटक प्रत्यारोपण गर्दा बुहारी अञ्जना घिमिरेकोे मिर्गौला लिएका ओलीलाई करिब २५ वर्ष पुगेकी ती नातिनीले मिर्गौला दान गर्नेगरी परीक्षण भइसकेको र उनको मिर्गौला प्रधानमन्त्री ओलीलाई ‘म्याच’ हुने देखिएको अस्पताल स्रोतको भनाइ छ। व्यक्तिगत गोपनीयता र प्रधानमन्त्रीजस्तो विशिष्ट व्यक्तित्वको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने विषय भएको भन्दै शिक्षण अस्पताल प्रशासनले थप जानकारी दिन अस्वीकार ग-यो।

चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गर्न प्रत्यारोपण स्वीकृत समितिबाट स्वीकृति लिन प्रक्रिया अघि बढाइएको छ। स्रोतका अनुसार शिक्षण अस्पताल महाराजगन्जमा रहेको त्रिवि प्रत्यारोपण स्वीकृत समितिको बैठक सोमबार बस्ने भएको छ। समितिले आवश्यक छानबिन गरेर प्रत्यारोपण गर्न स्वीकृति दिएपछि चिकित्सक टोलीले प्रत्यारोपण प्रक्रिया अघि बढाउनेछ। नाता प्रमाणित कागजात र अन्य कुरा मिलेपछि स्वीकृति दिने  समितिका एक सदस्यले बताए। ‘हामीले नाता प्रमाणित भएको कागजात र मिर्गौलाले म्याच गर्छ भन्ने चिकित्सकको रिपोर्ट हेरेपछि स्वीकृति प्रदान गर्छाैं तर आइतबारसम्म प्रत्यारोपण गर्न स्वीकृतिका लागि कुनै प्रस्ताव आएको छैन’, उनले भने। समितिको अध्यक्षमा डा. ईश्वर लोहनी छन्।

नेपालमा अहिलेसम्म १० जनामा सफलरुपमा मिर्गौला पुनः प्रत्यारोपण गरिएको छ। तीमध्ये ८ वटा प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा भएको हो। दुईवटा भने सहिद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको हो।

प्रधानमन्त्रीको मिर्गौलाले नियमित रुपमा काम गर्न छाडेपछि गत भदौमा सिंगापुरमा प्लाज्मा फेरेसिस प्रक्रियामार्फत ‘एन्टीबडी’ निकाल्ने काम गरिएको थियो। भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा करिब एक महिना प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गराएर फर्किएका ओलीसमक्ष नियमित डायलाइसिस वा मिर्गौला पुनः प्रत्यारोपण गर्ने विकल्प थिए। प्रधानमन्त्रीको हैसियतमा नियमित डायलाइसिस गर्न कठिनाइ भएपछि चिकित्सकको सल्लाहमा उनले पुनः मिर्गौला प्रत्यारोपण गर्ने विकल्प रोजेका हुन्।

ओलीको मिर्गौला पुनः प्रत्यारोपण अमेरिकामा गर्नेगरी छलफल चलिरहेको अवस्थामा उनकै इच्छाबमोजिम नेपालकै सरकारी अस्पतालमा गर्न लागिएको हो। यसअघि प्रधानमन्त्रीको एपेन्डिसाइटिसको उपचार सफल रुपमा भएकाले नेपालकै चिकित्सक सक्षम छन् भनेर यहीं उपचार गर्ने निर्णयमा पुगेको प्रधानमन्त्रीनिकट एक चिकित्सकले नागरिकलाई बताए।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले स्वास्थ्य अवस्था र अन्य कारणले साथ दियो भने पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपणले जस्तै दोस्रो पटक गरिएको प्रत्यारोपणले पनि काम गर्ने बताए। नेपालमा पनि करिब एकदर्जन व्यक्तिको मिर्गौला पुनः प्रत्यारोपण भएको बताउँदै उनले प्रधानमन्त्रीको दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणले पनि सफलता पाउने विश्वास व्यक्त गरे। उमेर बढी भए पनि प्रधानमन्त्री ओलीको आत्मबल हेर्दा उमेरले पनि कुनै फरक नपर्ने डा. काफ्लेको भनाइ छ। उनले सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसलाई पनि ओलीले सहज रुपमा नै लिएको र डायलाइसिस गर्दा पनि प्रधानमन्त्रीका रुपमा गर्दै आएको काममा कुनै असर नगरेकाले ओली मिर्गौला प्रत्यारोपण गराएर सहज रुपमा नै काममा फर्कने दाबी गरे।

नेपाल चिकित्सक संघको अध्यक्ष डा. लोचन कार्कीले प्रधानमन्त्रीले नेपालका चिकित्सकलाई विश्वास गरेर आफ्नै देशमा मिर्गौला पुनः प्रत्यारोपण गराउन खोज्नु गौरवको कुरा भएको बताए। यस ले स्वदेशमा नै स्वास्थ्य उपचार सम्भव रहेको सन्देश दिएको उनको भनाइ छ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App