४ वैशाख २०८१ मंगलबार
समाज

हरेक घरमा खानेपानी धारा

जुम्ला- हिमा गाउँपालिका-२ का वडाध्यक्ष नैनवहादुर रोकायालाई निर्वाचन जितिसकेपछि गाउँमा खानेपानी संकट समाधान गर्ने मुख्य चुनौती थियो। चुनावमा खानेपानी माग संवोधन गर्ने आश्वासन दिएका उनको निरन्तर संवोधन खानेपानी मागमै केन्द्रित रह्यो। उनी खानेपानीसँग सरोकार राख्ने सबै निकायसँग पुगे। उनको एउटै चाहना थियो,‘गाउँमा खानेपानी पुर्‍याएर संकट टार्ने।’ उनको त्यो चाहना पूरा भएको छ।

अहिले वडाध्यक्ष रोकायासहितका गाउँपालिकाभित्रका ४ वटा बस्तीमा एक घर एक खानेपानी धारा पुगेको छ। ३ सय ६५ घर खानेपानी धाराको पहुँचमा पुगेका छन्। खानेपानी अभावले आक्रान्त बनेका ती बस्ती अहिले पानी पुगेपछि निकै स्वच्छ र सफा छन्। बस्ती चेमा, जोगिबाडा, बुअ र माथिल्लो चिउडी हुन्।

हिमा गाउँपालिकाको समन्वयमा किर्डाक नेपाल संस्थाले खानेपानी तथा स्वच्छता परियोेजना लागू गरेर घरघरमा खानेपानी पुर्‍याएको हो। यो परियोजना तीन वर्षअघिदेखि सुरु भएको थियो। हिमा गाउँपालिका, वाटर एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा परियोजना सञ्चालनमा थियो। यो परियोजना गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको छ।

किर्डाक नेपालका अध्यक्ष रत्नलाल कुलाल, निर्देशक गोविन्दवहादुर शाही र वाटर एड नेपालका कार्यक्रम प्रमुख कविरराज भण्डारीले गाउँपालिका अध्यक्ष रजबहादुर शाहीलाई कार्यक्रम हस्तान्तरण गर्दै खानेपानी धाराको मर्मत संभारमा जोड दिन आग्रह गरे।

चारवटा बस्तीमा खानेपानीको पहुँच पुर्‍याउनको लागि ३ करोड, २३ लाख ७५ हजार ५ सय ५८ रुपैयाँ सहयोगी निकायबाट आएको थियो। हालसम्म २ करोड, ९९ लाख, २० हजार २ सय ९९ रुपैयाँ खर्च भएको र २४ लाख ३५ हजार ५ सय ५९ रुपैयाँ खर्च हुन नसकेको किडार्क नेपाल जुम्लाले जनाएको छ।

हिमा गाउँपालिका अध्यक्ष रजहावदुर शाही स्वच्छ र सफा खानेपानी प्रयोग गर्न पाउने नागरिकको अधिकार सुरक्षित भएको बताउँछन्। उनले भने, ‘गाउँपालिकाको लक्ष्यमा एकाकार हुँदै परियोजना सञ्चालन भई सफल भएकोमा गाउँपालिकाबासीमा खुसीयाली छाएको छ। यो स्थानीय सरकारको मुख्य उपलब्धि पनि हो। योसँगै हिमा गाउँपालिकामा रहेका २३ वटा बस्तीमध्ये ९ वटा बस्तीमा एक घर एक धाराको पहुँच पुगेको छ।’ बाँकी रहेका वडामा पनि आफ्नो कार्यकालमा एक घर एक धारा पुर्‍याएर छाड्ने प्रतिवद्धता सुनाए।  
 
गाउँपालिकाले १ करोड ४० लाख रुपैयाँ खानेपानी र सरसफाइका क्षेत्रमा विनियोजन गरेको छ। पछिल्लो समयमा किर्डाक नेपाल जुम्लाको साझेदारी, वाटर एड नेपालको सहयोगमा गाउँपालिकामा खानेपानी र सरसफाइका विषयमा महत्वपूर्ण काम भएको भन्दै आगामी दिनमा पनि स्थानीय सरकार साझेदारी गरेर अघि बढ्न तयार रहेको बताए।

किर्डाक नेपालका अध्यक्ष रत्नलाल कुलाले किर्डाक नेपालले सामाजिक न्याय र नागरिकको अधिकारलाई सुनिश्चित गर्ने काम गर्दे आएको बताउँदै हिमा गाउँपालिकाको सहयोग र समन्वयका कारणले परियोजना सफल भएकामा खुसी ब्यक्त गरे। परियोजना पनि आगामी दिनमा प्राविधिक सहयोग गर्न तयार छौँ, उनले भने,‘ जसका लागि समन्वय र सहकार्यमा जोडदिनु होला। बनेका संरचना सुरक्षित राख्न रेखदेख र अनुगमनको पाटोलाई प्रभावकारी बनाउँदै जानु होला।’

खानेपानी आयोजनाले स्थानीयको जीवनशैलीमा परिवर्तन ल्याएको स्थानीय बताउँछन्। यो कार्यक्रम सरसफाइ गर्न, चर्पीको नियमित प्रयोग, महिनावरी स्वच्छता लगायतका विषयमा सहयोग मिलेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकाया बताउँछिन्। उनले भनिन्,‘पानी बिना कुनै पनि काम सफल हुन सक्दैनन्। लामो समय पनि पानीको आवश्यकता पूरा भएकोले संरक्षणमा जोड दिनुपर्छ।’

हिमा गाउँपालिकामा भएको एक घर एक खानेपानी धारा कार्यक्रम जिल्लाकै नमुना कार्यक्रम हो।

यो कार्यक्रमलाई अनुशरण गर्दै आगामी दिनमा गाउँपालिकाले अन्य खानेपानीका योजना सञ्चालन गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा बताउँछन्। उनले यो कार्यक्रमले हिमाका प्रत्येक गाउँमा एक घर एक धारा विस्तार गर्ने इच्छा शक्ति सिर्जना गरेको बताए।

२० वर्षका लागि खानेपानी आयोजना निर्माण गरिएकोले स्वच्छ खानेपानी पिउन पाउने नागरिकको अधिकार स्थानीय सरकारले सुरक्षित गरि दिएको सरोकारवाला बताउँछन्। खानेपानी विज्ञ सूर्य थापा खानेपानीको समस्यमा रहेका नागरिकको अधिकार सुरक्षित गर्नको लागि स्थानीय सरकारले गरेको काम निकै प्रसंसनीय रहेको तर्क गरे। उनले भने,‘अहिले स्थानीय सरकारका काम कम गफ धेरै भएको सुनिँदै आएको थियो। तर हिमा गाउँपालिकामा काम बढि गफ कम भएको देखियो। यो स्थानीयका लागि निकै खुसीको कुरा हो।

हिमा गाउँपालिकामा खानेपानी नभएका कारण धेरै बस्तीमा चर्पि प्रयोगमा आउन सकेका छैनन्। अब जनप्रतिनिधि र स्थानीयले खानेपानी तथा सरसफाइका क्रियाकलापमा प्रत्यक्ष सहभागी भएर लाग्नु पर्नेमा जोड दिए। नेपाल सरकारले अघि सारेको दिगो विकास लक्ष्यलाई कार्यान्वयन गर्नको लागि खानेपानी आयोजना सञ्चालन गरिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ। गाउँमा खानेपानीको चरम समस्या भोगिरहेका हिमाका चार बस्तीमा अहिले सहजै रुपमा खानेपानी पुगेको छ।
 

प्रकाशित: १८ फाल्गुन २०७६ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App