coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अनमोलविरुद्ध ठगीको उजुरी

काठमाडौं – अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध पाँच लाख रूपैयाँ ठगी गरेको अभियोगमा उजुरी परेको हो। जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले उनीविरुद्ध ठगीको उजुरी दिएका थिए। फिलिम्स नेपाल र जयन श्रेष्ठ इन्टरटेटमेन्टबाट निर्माण हुने भनिएको ‘धुपौरे’ फिल्ममा अभिनय गर्ने सहमति गरेर अभिनेता केसीले पाँच लाख रूपैयाँ अग्रिम भुक्तानी लिएका थिए। अभिनेता केसीले एक्कासी फिल्ममा अभिनय नगर्ने जनाएपनि उनले निर्मातासँग अग्रिम भुक्तानी लिएको रकम फिर्ता नगरेपछि एक साताअघि परिसरमा उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी गराए।

‘फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्गीले अभिनेता केसीविरुद्ध एक साताअघि ठगी प्रकरणमा जाहेरी दिएका थिए,’ उनले भने, ‘चलचित्र विकास बोर्ड र फिल्म क्षेत्रको समस्यालाई सम्बोधन गर्ने संघको प्रतिनिधिहरूलाई राखेर दुवै पक्षलाई छलफल गराउन खोजेका हौं। छलफलमा नआए कानुनी प्रक्रियाअनुसार निवेदन अगाडि बढाउछौं।’ युट्युवर प्रनेश गौतम,‍ भिटेन र आस्था राउतविरुद्ध कडा व्यवहारमा उत्रिएका प्रहरीले अभिनेता केसीविरुद्धको उजुरीमा भने नरम देखिएको छ।

अभिनेता केसीले निर्माताद्वय श्रेष्ठ र खड्गीसँग गत असोजको पहिलो साता साम्तेन भुटियाको ‘धुपौरे’ फिल्ममा अभिनय गरेबापत ४० लाख रूपैयाँ पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए। सो सम्झौताअनुसार निर्माताद्वयले अभिनेता केसीलाई पाँच लाख रूपैयाँ अग्रिम भुक्तानी दिएका थिए। फिल्म अभिनय नगर्ने भएपछि उनले अग्रिम भुक्तानी रकम फिर्ता नगरेर ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ। त्यस्तै फिल्मको निम्ति भनेर अभिनय र फिटनेसको प्रशिक्षणको लागि थप साढे दुई लाख रूपैयाँसहित अन्य कलाकार तथा प्राविधिकहरूलाई ३० लाख रूपैयाँ दिन लगाएर उनी सम्पर्कबिहिन भएको उजुरीमा उल्लेख गरिएको छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा अभिनेता केसी सम्पर्कमा आएनन्।

प्रहरीलाई राजधानीबाहिर रहेको जानकारी दिएका अभिनेता केसी शुक्रबार गोंगबुस्थित कार्यविनायक मन्दिरमा ‘ए मेरो हजुर ४’ फिल्मको मुहूर्तमा देखिएका थिए। झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ४’ मा अभिनेता केसी, सुहाना थापा र सलोन बस्नेतलगायतका कलाकारले अभिनय गर्दैछन्।

प्रकाशित: १८ फाल्गुन २०७६ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App