७ वैशाख २०८१ शुक्रबार
समाज

हत्या, गोली प्रहार, चोरी र लुटपाटको घटना दिनदिनै

विराटनगर–    सात दिनयता पूर्वाञ्चलका बिभिन्न स्थानमा ४ जनाको हत्या भएको छ। छिमेकीसँगको लफडा, श्रीमान्–श्रीमतीबीचको झगडा, घरेलु कामदारसँगको ‘यौन’ झमेला र वन रक्षकसँग रिस फेर्दा पूर्वमा छोटो समयमा ४ जनाको ज्यान गएको छ।

पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका अनुसार पुस १३ गते बुधबार एकैदिन पूर्वाञ्चलका मोरङ र सुनसरीमा दुईजनाको हत्या भएको छ। मोरङको पाटीगाउँ–१ बस्ने ३७ वर्षीय हंसबहादुर राईलाई उनकै पत्नी ऐश्वर्याले बञ्चरोले हिर्काएर ज्यान लिएकस् थिइन्। घरायशी झगडाले उग्ररुप लिँदा ऐश्वर्याले राईलाई बञ्चरो प्रहार गरेको प्रहरीको भनाइ छ।

त्यही राति, सुनसरीको दुहवी–४ का स्थानीय शंकर थापाको घरमा काम गर्ने ३५ वर्षीया पवित्रा बिष्टको विभत्स हत्या भएको थियो। घरमा सिंढीमा हत्या गरेको अवस्थामा बिष्टको मृत शरीर भेटिएको थियो। प्रहरीले हत्यापछि थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सुनसरी प्रहरीले  बिष्टको ‘यौन’का कारण हत्या भएको प्रारम्भिक अनुसन्धान सार्वजनिक गरिसकेको छ। थापालाई घटनामा फसाइएको भन्दै दुहवीमा प्रदर्शन समेत भएको छ।

पुस १५ गते पूर्वी पहाडी जिल्ला पाँचथरको नागिन गाविसमा ६४ वर्षीया छालम शेर्पाको हत्या भएको छ। छिमेकीसँगको झगडाको क्रममा १८ वर्षका आकाश शेर्पाले हिर्काउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले शेर्पालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। पाँचथरमा झगडाको क्रममा शेर्पाको हत्या भएको २ दिनपछि उपल्लो जिल्ला ताप्लेजुङमा एकजना वन कर्मचारीको विभत्स हत्या भएको छ।

पश्चिमको जाजरकोटको दशेरा–८ बस्ने वन रक्षक गणेश शाहीको पुस १७ गते आइतवार बिहान निर्मममतापूर्वक हत्या गरिएको छ। जिल्ला वन कार्यालयअन्तर्गत ताप्लेजुङको खोक्लिङ इलाका वन कार्यालयमा कार्यरत २६ वर्षका शाहीको हत्या भएको थियो। टाउको छिनाएर हत्या गरेपछि हत्यामा संलग्न भनिएको खोक्लिङ–८ का सबिन लिम्बूले रगताम्मे टाउको लिएर ओइराखुुबाट तल्लो भागतर्फ भागेका थियो।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीका अनुसार जीउ भाग भेटिएकोे करिव दुई किलोमिटर तल शाहीको टाउको फेला परेको थियो। शाहीको हत्याको कारण खुलेको छैन्।

लुटपाट पनि बढ्यो

विराटनगरमा सोमबार राति मनी चेन्जर सञ्चालक बटेशकुमार साहलाई गोली हानिएको छ। राति साढे ९ बजे पसल बन्द गरेर घरतर्फ फर्किँदै गर्दा ४८ वर्षीया साहलाई अज्ञात समूहले गोली प्रहार गरेको थियो।

दुईवटा मोटरसाइकलमा आएका अज्ञात समूहले प्रहार गरेको गोली उनको दायाँ हात र तिघ्रामा लागेको छ। मोरङ प्रहरीका अनुसार गोली प्रहार गर्ने समूहले मनी चेन्जर साहसँग रहेको ४ लाख रुपैयाँ समेत लुटेको छ। साहको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन सकेको छैन।

मोरङकै सुन्दरदुलारीस्थित कृष्ण आयल ट्रेडर्स लुटपाट गर्न आएका लुटेरा समूह र गाउँलेबीच खेदाखेद हुँदा दुईजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीय धनवहादुर गुरूङलाई लुटेराहरुको समूहले चिरेको काठले हिर्काउँदा उनी गम्भीर घाइते भएका छन् । जीवन–भरणको दोसाँधमा उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजको सघन उपचार कक्ष(आइसियु)मा उपचार भइरहेको छ। गाउँलेको प्रतिकारमा लुटेरा समूहका एक सदस्य पनि गम्भीर घाइते भएका छन् । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

विराटनगरकै मुख्य बजार क्षेत्र ट्राफिक चोक, चाँदनी चोक, जामुनगाछी एरियामा गत साता एक दर्जन भन्दा बढी पसलमा चोरी भएको थियो। ज्यान जाने गरी दिनदिनै भइरहेको अपराधिक गतिविधि रोक्न प्रहरीले विशेष निगरानी बढाएको बताएपनि घटनामा कमी आएको छैन्।

प्रकाशित: २० पुस २०७३ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App