coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आयोजक पहिलो पटक फाइनलमा

आयोजक सुदूरपश्चिम (नीलो) र एपिएफका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दे। तस्बिर : सञ्जय / नागरिक

धनगढी -  विक्रम सिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम– ११ क्लब पहिलो पटक धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ। शनिबार धनगढी हसनपुरस्थित रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम–११ ले विभागीय टोली एपिएफलाई २–१ ले निराश पारेको हो।

सुरुआतबाट आक्रामक बनेको सुदूरपश्चिमले खेलको आठौं मिनेटमै विक्रमको गोलमा अग्रता लिएको थियो। कप्तान गजेन्द्र शाहीको पासलाई विक्रमले सहजै जाली चुमाएका थिए। त्यसको ३ मिनेटपछि नै विक्रमले व्यत्तिगत दोस्रो गोल गर्र्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए। विक्रमको जारी प्रतियोगितामा यो चौथो गोल हो। यसअघि उनले कञ्चनजंघा एफसीविरुद्ध जित हात पारेको खेलमा पनि २ गोल गरेका थिए। २५औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई खेलमा फर्काउने संकत गरे पनि त्यो पर्याप्त भएन।

सुदूरपश्चिम प्रतियोगिताको फाइनल प्रवेश गरेको यो पहिलो पटक हो। यसका साथै सुदूरपश्चिम ११ ले दोस्रो संस्करणमा एपिएफसँग सेमिफाइनलमै व्यहोरेको हारको बदलासमेत लिएको छ। ‘हामीले सुरुआतबाटै आक्रामक रणनीति लिएका थियौं,’ सुदूरपश्चिमका प्रशिक्षक रोहितकुमार चौधरीले भने, ‘त्यो सफल पनि भयो। विक्रमलाई जुन जिम्मेवारी दिइएको थियो, त्यो पूरा गरे। पहिलो हाफमा खेलाडीहरूले अग्रता लिए पनि केही दबाबमा खेले। दोस्रो हाफमा पूर्ण रूपमा आक्रामक रणनीति लियाैँ। विक्रमले पाएका केही अवसरलाई गुमाए। अन्यथा गोलअन्तर बढ्थ्यो। फाइनलमा बलियो टिमसँग खेल्नुपर्छ। त्यसैले त्यहीअनुसार रणनीति बनाउँछाैँ।’

सुदूरपश्चिमले गोलकिपर सुजित विक घाइते भएपछि खेलको इन्जुरी समयमा वैकल्पिक गोलकिपर प्रीतम खड्कालाई मैदान प्रवेश गराएको थियो। मंगलबार हुने फाइनलमा सुदूरपश्चिमले आइतबार थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्र्नेछ। खेलको सुरुआतमै एफिएफले गोलको अवसर पाएको थियो। नवीन लामाले दिएको पासमा श्याम नेपालीले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो। पहिलो हाफको तुलनामा दोस्रो हाफ पूर्ण रूपमा दबाबमा राखेको सुदूरपश्चिमले ४८औं मिनेटमा अग्रता बढाउने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन। विक्रमले विनोदको पासमा गरेको प्रहार बाहिरिएको थियो। इन्जुरी समयको अन्तिम मिनेटमा विक्रमले दुई पटक एपिएफका गोलकिपर राजु नगरकोटीसँग वान भर्सेस वानमा गोलको अवसर पाए पनि दुवै पटक त्यसको फाइदा उठाउन सकेनन्।

यता एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले भने सम्हालिन नपाउँदै २ गोल खाएको र पहिलो हाफमै पाएका केही अवसर गुमाउनु महँगो भएको प्रतिक्रिया दिए। दोस्रो सेमिफाइनलमा आइतबार थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १८ फाल्गुन २०७६ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App