८ वैशाख २०८१ शनिबार
अर्थ

प्रथम सुकुटे महोत्सव सुरु, सुनकोशीमा जेटबोट सञ्चालनमा (फाेटाेफिचर)

तस्बिरहरु : ध्रुव/नागरिक

सुकुटे (सिन्धुपाल्चोक)- नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रथम सुकुटे महोत्सव शनिबार सुरु भएको छ। चार दिन चल्ने महोत्सवको नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन्।

सुकुटेलाई पर्यटकीय हब बनाउन आफ्नो भूमिका रहेको उनले स्मरण गरे। ‘बिगत सात–आठ वर्षदेखि सुकुटे आइरहेको छु। तत्कालीन माओवादी अध्यक्ष हुँदा पार्टीको स्थायी समिति बैठक पनि यहीँ राखे,’ उनले सम्झिए, ‘त्यसपछि सुकुटेमा आन्तरिक पर्यटक ह्वात्तै बढ्यो।’ आफू सुरुमा आउँदा एउटा मात्र रिसोर्ट रहेको सुकुटेमा अहिले ठूला क्षमताका होटल, रेष्टुराँ मात्रै दर्जन नाघेको भन्दै उनले सुनकोशीको र्‍याफ्टििङ सुकुटे विश्वभर चिनिन थालेको बताए।

रिसोर्ट सञ्चालकले स्थानीय अर्गानिक उत्पादन उपभोगमा गर्न पर्नेमा जोड दिँदै उनले सुनकोशी नदी संरक्षणमा गर्न व्यवसायीलाई आग्रहसमेत गरे। ‘राजधानी नजिकको सुकुटेले मुलुककै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउँन सक्छ,’ उनले भने। सिन्धुपाल्चोकमा जलविद्युत, पर्यटन, धार्मिक पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको अध्यक्ष दाहालले औँल्याए।

महोत्सवको पहिल्यै दिन आन्तरिक पर्यटकको उत्साहजनक सहभागिता थियो। महोत्सवमा माझी समुदायको पितरा नाँच, तामाङ नाच लगायत झाँकी प्रस्तुत गरिएको थियो। परम्परागत भेषभुषा, झाँकी र नाचसहित स्थानीय महोत्सवस्थल आएका थिए। महोत्सवमा स्थानीय सामग्रीका ३० स्टल राखिएका छन्।

उद्घाटनमा सहभागी पाहुनालाई आयोजकले निःशुल्क सुनकोशी नदीमा साहसिक खेल र्‍याफ्टिङ खेलाएका थिए। आयोजकले आन्तरिक तथा बाह्य पर्यटकलाई र्‍याफ्टिङ ३० प्रतिशत छुट दिन थालेका छन्। रिसोर्टका अन्य सबै सुविधामा समेत यो छुट दिइने छ। महोत्सव अवधिभर छुट दिइने आयोजक सिन्धु पर्यटन व्यवसायी संघले जनाएको छ।

महोत्सवकै अवसर पारेर सुनकोशीमा ‘जेट बोट’ सञ्चालनमा ल्याइएको छ। नेकपा अध्यक्ष दाहालले जेटबोटको सुभारम्भ गरे। सुकुटे इक्वेटरबीच रिसोर्टले जेटबोट सञ्चालनमा ल्याएको हो। २८ लाख रुपैयाँ खर्चेर जेटबोट ल्याइएको सञ्चालक महेन्द्रसिंह थापाले जानकारी दिए। उनका अनुसार आठ सिटे क्षमताको जेटबोट हाललाई परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो। बर्खामा दोलालघाटसम्म चलाउन सकिने जेटबोट वर्षमा ६ महिना चल्ने थापाले जानकारी दिए।

महोत्सवकै अवसरमा साहसिक खेल प्याराग्याइडिङको समेत व्यवसायिक उडान सुरु गरिएको छ। गत वर्ष कदमवासको लामाबगरमा प्याराग्याइडिङको परीक्षण उडान गरिएको थियो। महोत्सव अन्तर्गत आइतबारदेखि तीनवटा विषयमा कार्यपत्र प्रस्तुत र छलफल सत्र सञ्चालन हुने प्रचारप्रसार संयोजक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार नदी संरक्षण र पर्यटन, स्थानीय संस्कृति र बाह्य पर्यटन शीर्षकमा विज्ञले सरोकारवाला निकायबीच छलफल चलाउने छन्।

‘छलफलका निष्कर्ष समेटेर सुकुटे पर्यटन घोषणापत्र जारी गरिने छ,’ शर्माले भने। महोत्सव समापन समारोहमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले घोषणापत्र जारी गर्ने छन्। महोत्सवको दोस्रो दिनको नेतृत्व बागमती प्रदेशका पर्यटनमन्त्री अरुण नेपाल र तेस्रो दिनको अगुवाइ सामाजिक विकासमन्त्री युवराज दुलालले गर्ने छन्। महोत्सव अवधिभर जिल्लाका कलाकारले सांस्कृतिक प्रस्तुती दिने छन्।
 

तस्बिरहरु : ध्रुव/नागरिक
तस्बिरहरु : ध्रुव/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App