coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा ह्रास

जुम्ला- कर्णालीमा जलवायु परिवर्तनको असरले खाद्यन्न उत्पादनमा ह्रास आएको पाइएको छ। जलवायु परिवर्तनले कुनै वर्ष अत्यधिक बर्षा हुने र कुनै वर्ष सुख्खा खडेरी पर्नाले उत्पादनमा घटबड आउने गरेको हो।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा जलवायु परिवर्तनको असरसँग जुध्ने कार्ययोजना बनाउन आवश्यक रहेको बताउँछन्। उनले भने,‘जलवायु परिवर्तनको असरले खाद्यान्न उत्पादनमा ह्रास हुँदै गएको छ। सिँचाइ नहुने जमीनमा थोपा सिँचाइ प्रविधि प्रयोग गरेर भएपनि खेतिपाती लगाउने वातावरण बनाउन जरुरी छ। यसका लागि स्थानीय अनुकुलन योजना निर्माण गर्नुपर्छ। यो कार्यका लागि तीनै तहका सरकारको समन्वय हुनुपर्ने देखिन्छ।’

जुम्लामा यस वर्ष पटकपटक भएको हिमपातलाई जलवायु परिवर्तनको सङ्केत हो। उनले थपे,‘अनुकूलनका उपायहरु अवलम्बन गर्नुपर्ने अवस्था आईसक्यो।’ जलवायु परिवर्तनको असरले कर्णालीको जलवायुमा उथलपुथल आइसकेकोले स्थानीय अनुकुल योजना निर्माणमा जुट्न आग्रह गरे। जुम्लामा आयोजित एक कार्यक्रमका सहभागीले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न अनुकुलनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए।

उनीहरुले स्थानीय अनुकूलनको कार्ययोजना निर्माण गर्नुपर्ने, जलवायु परिवर्तनले गरेको असरलाई न्यूनिकरण गर्ने उपायहरु, जलवायु परिवर्तनले पारेको असर र यसबाट बच्ने उपायसहितको कार्ययोजना बनाउनका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताए। योजना निर्माणमा आफूहरुले साथ दिने प्रतिवद्धता जाहेर गरेका छन्।

अनुकूलन कोषको आर्थिक सहयोग तथा नेपाल सरकार वन तथा वातावारण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग तथा साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाद्वारा सञ्चालित क्याप्स कर्णाली कार्यक्रमअन्तर्गत जलवायु परिर्वतन अनुकूलनका लागि स्थानीय अनुकूलन योजना (लापा) प्रक्रिया निर्माण गर्न लागिएको हो।

सो अवसरमा कालीकोट र जुम्लाका ३५ जना सहभागीले स्थानीय अनुकूलनका बारेमा कार्ययोजना निर्माण गरी स्थानीयस्तरमा लागू गर्ने बताएका छन्। जलवायु परिवर्तनको असरले गर्दा वनजङ्गल, पानीका मुहान र वनमा पाइने जङ्गली जनावरहरु लोपोन्मुख अवस्थामा पुगेका छन्। पानीका मुहान सुक्दा सिँचाइको अभावले सोचेजति खाद्यान्न उत्पादन हुन सकेको छैन। यसका कारण स्थानीय जनताको जीवनशैलीमा प्रत्यक्ष असर परेको छ।

जलवायु परिवर्तनले असर गरेको क्षेत्रलाई पहिचान गरी न्यूनिकरणका उपायहरु अलवम्बन गर्नका लागि कार्ययोजना बनाइएको पेस नेपाल जुम्लाले जनाएको छ। कार्ययोजनामा तापक्रमको अवस्था, अनुकूलन क्षमतालगायत विषयहरु समावेश गरिएको पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपाने बताउँछन्। जुम्लामा देखिएको जलवायुको असरलाई न्यूनिकरण गर्नका लागि खाका तयार पारिएको उनको भनाइ छ।

जलवायुका हिसाबले क्षति गरेको वस्तीलाई पहिचान गरि न्यूनिकरण गर्नका लागि कार्यक्रम तयार भइरहेको छ। जुम्लाको हिमा, तिला र तातोपानी गाउँपालिकामा जलवायु परिवर्तनले पारेको असरका क्षेत्रहरु पहिचान गरि न्यूनिकरणका लागि स्पष्ट योजना तयार गरिने उनले जानकारी दिए। बाढी, पहिरो, चट्याङ, हावाहुरी, बर्षा र अन्य गतिविधिलाई पहिचान गरि पेसले योजना तयार पार्ने अध्यक्ष न्यौपानेले बताए।

वन तथा वातावारण मन्त्रालयका उपसचिव डा. केशवराज गौतम स्वच्छ वातावरणमा जिउन पाउने नागरिकको अधिकारलाई संविधानले सम्बोधन गरेको बताउँछन्। वातावरण प्रदूषण जलवायु परिवर्तनको कारणले भएको भन्दै उनले न्यूनिकरणका उपाय बेलैमा अपनाउनुपर्ने सुझाव दिए।  जलवायु परिवर्तनको चपेटामा गरीब नागरिक परेको भन्दै उनले अनुकूलनको योजनालाई तल्लो तहसम्म लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। कार्यक्रम जुम्लामा पेस नेपाल हुरण्डेक, आससिडिसी मुगु जिल्लामा गरि तीन जिल्लामा सञ्चालन हुने चारवर्षे क्याप्स कर्णाली कार्यक्रमका लागि एक अर्ब रकम खर्च हुने उनको भनाइ छ।

प्रशिक्षण सोमलाल श्रेष्ठ जलवायु परिवर्तनको असर स्थानीयस्तरमा बढी देखिएको बताउँछन्। मानिसको व्यवहारका कारण जलवायु परिवर्तनको असर बढी देखापरेको उनले बताए। वातावरणमा असर पार्ने काम मानिसले गरेका छन्, उनले भने,‘जलवायु परिवर्तन सामाजिक मुद्दा बनिसकेकोले प्रत्येक व्यक्तिले अनुकूलनका उपायहरु अपनाउनुको विकल्प छैन।

कालीकोट जिल्लाका मानबहादुर सेजुवाल जलवायु परिवर्तनले जोखिम निम्त्याएको भन्दै गाउँमा गएर स्थानीय अनुकूलन कार्ययोजना निर्माणमा जोेड दिने बताउँछन्। स्थानीय अनुकूलन कार्ययोजनाले आगामी दिनमा जलवायु परिवर्तनको समस्या झेल्दै आएका जिल्लाका अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बन्ने उनको ठम्याइछ।

जुम्लाका मिठु भण्डारीले वातावरण प्रदूषण जलवायु परिवर्तनको कारणले भएको बताउँदै न्यूनिकरणका उपाय बेलैमा अपनाउनुपर्ने सुझाव दिइन्। जलवायु परिवर्तनको चपेटामा गरीब नागरिक परेको भन्दै उनले अनुकूलनको योजनालाई तल्लो तहसम्म लिएर कार्यान्वयन गर्नुपर्ने बताइन् ।  

प्रकाशित: १७ फाल्गुन २०७६ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App