६ वैशाख २०८१ बिहीबार
समाज

नवदुर्गा गाउँपालीका वडा नं.५ को केन्द्र तोक्न विवाद

डडेल्धुरा- नवदुर्गा गाउँपालिकाले वडा नं. ५ को केन्द्र अहिलेसम्म तोक्न सकेको छैन। स्थानीय सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दासम्म पनि वडाको केन्द्र तोक्न नसकेको हो। पटक पटक वडा केन्द्र तोक्ने विषयमा विवाद रहदा अन्यौलता कायमै छ।

वडाको केन्द्र कहाँ राख्ने भन्ने अन्यौल रहेकै बेला फागुन ११ गते वडा नं. ५ को वडास्तरिय बैठकले वडा केन्द्र घङणपत्तीमा तोकिएको वडा अध्यक्ष धनबहादुर साउदले बताए पनि यो कानुन विपरित भएको गाउँपालिकाले जनाएको छ। स्थानीयहरुले करिब १२ रोपनी जग्गा उपलब्ध गराएपछि वडास्तरको बैठकले केन्द्र तोकेको वडा अध्यक्ष साउदले बताएका थिए।

वडास्तरले गरेको निणर्य भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरित रहेको गाउँपालिका अध्यक्ष कबिन्द्र बिष्टले बताए। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद २ को दफा ५ मा गाउँपालिका तथा नगरपालिकाको संख्या, सिमाना तथा केन्द्रको व्यवस्था उल्लेख गरिएको छ।

उपदफा ३ मा सभाले सम्बन्धित वडाको सिफारिसमा सदस्य संख्याको बहमुतबाट प्रस्ताव पारित गरी वडाको केन्द्र तोक्ने प्रावधान छ।

जनसंख्या तथा जनसंख्या वितरणको अवस्था, भौगोलिक निरन्तरता, अनुकुलता तथा बिशिष्टता, भाषिक, सांस्कृतिक तथा सामाजिक बिशिष्टता, सेवासुविधा वितरणको अवस्था र सगमता, र विद्यमान भौतिक पूर्वाधारका आधारमा केन्द्र तोकिने प्रावधान छ।

दफा ६ मा वडाको संख्या र सिमाना हेरफेर गर्न सक्ने प्राबधान अनुसार 'उपदफा ७ मा कुनै वडाको केन्द्र हेरफेर गर्न आवश्यक भएमा वडा समितिको परामर्समा गाउँ सभा वा नगर सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहमुतले प्रस्ताव पारित गरी वडाको केन्द्र हेरफेर गर्न सक्नेछ। तर यो ऐन प्रारम्भ भएपछि पहिलो पटकको लागि गाउँ सभा वा नगर सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहमुतले प्रस्ताव पारित गरी वडाको केन्द्र हेरफेर गर्न सक्नेछन्' भनि उल्लेख गरिएको छ।  

स्थानीय कर्णबहादुर साउद र पदमबहादुर सावदले करिब ९ रोपनी तथा मन्दीर साउद, शेर साउद, रामबहादुर साउद र चन्द्रबहादुर साउदले करिब २ रोपनी १५ आना जमीन उपलब्ध गराउदा वडाको केन्द्र तोकिएको वडा अध्यक्ष साउदले बताएका थिए।

ऐन कानुन विपरित वडा अध्यक्षले आफूखुसी वडाको केन्द्र तोक्न नमिल्ने गाउँपालिका अध्यक्ष बिष्टको भनाई छ। प्रक्रिया नै नपुर्‍याई कानुन विपरित वडाको केन्द्र नतोकिने भए पनि वडा अध्यक्ष साउदले केन्द्र तोकिएको निर्णय गरि केन्द्र दाबी गर्नु उचित नहुने उनले बताए।

वडा नं. ५ को कार्यालय अहिलेसम्म अस्थायी रुपमा ढांटा बजारबाट काम हुँदै आएको छ। नवदुर्गा गाउँपालिकामा नेकपाको बहुमत छ। गाउँपालिका उपाध्यक्ष, वडा नं. ५ र वडा नं. २ को वडा अध्यक्षमा मात्रै नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भएका छन्।

 

प्रकाशित: १७ फाल्गुन २०७६ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App