coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिपकाे ठक्करबाट प्रहरीको मृत्यु

रत्ननगर (चितवन)-तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

सो दुर्घटनामा परी मोरङ घर भई सोही शिक्षालयमा कार्यरत ३३ वर्षीय सुमन घिमिरे गम्भीर घाइते भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौँ जाँदै गरेको ना ३ च ८३१ नंको बोलेरो जिपले साइकलमा सवार प्रहरीलाई ठक्कर दिएको हो । जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको र शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

बसिलो प्रहार गरी हत्या

यसैबीच, दक्षिण चितवनको माडीमा बसिलो प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । माडी नगरपालिका–१२ स्थित बाँदरझुलाका ३६ वर्षीय रामलाल रोडाको बसिलो प्रहारबाट हत्या भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

हत्यामा संलग्न रहेको आरोपमा स्थानीयवासी २८ वर्षीया इन्द्रमायाँ चेपाङ र उनका श्रीमान सानु रुम्वालाई प्रहरीले पक्राउ गरेको छ । सानु रुम्वाको घरमा आएका बेला रोडालाई बसिलोले हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

मङ्गलबार बिहान घटना भएपछि उनीहरुले जङ्गलमा खाल्डो खनेर शव गाड्न लाग्दा मात्रै प्रहरीले अपराह्न घटना थाहापाएको थियो । खोजतलासका क्रममा गएराति मात्रै प्रहरीले जङ्गलबाट बसिलो र शव फेला पारेको हो । प्रहरी उपरीक्षक थापाका अनुसार सानु रुम्वा काठमाडौँमा रहेको मौकामा रामलाल रोडा इन्द्रमायाँलाई भेट्न पुगेका थिए ।

सोही राती सानु रुम्वा एक्कासि घर आएपछि घटना हुन पुगेको अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाएको र दम्पतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २० पुस २०७३ ०५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App