coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बामदेव राष्ट्रिय सभामा जानुहुन्छ, पार्टी भित्र यस बारेमा कुनै विवाद छैनः महासेठ

टीकापुर - नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुविर महासेठले उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने बताएका छन। टीकापुरमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासेठले पार्टीले गरेको निर्णय सरकारले मान्नुपर्ने बताए।

उनले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा सो निर्णय भएकाले उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य बन्ने कुरामा कुनै विवाद नरहेको बताए। ‘बामदेम गौतम राष्ट्रिय सभामा जानुहुन्छ’ उनले भने–‘पार्टी भित्र यस बारेमा कुनै विवाद छैन।’

उनले पछिल्लो समय संसद विघटनको हल्ला फैलिएकोप्रति आक्रोश व्यक्त गरे। उनले कुनैपनि हालतमा संसद विघटन हुने सम्भावना नरहेको बताए। ‘अहिले देशमा कुनै संकट छैन। कुनै संकट नभएर संसद विघटन हुँदैन’ उनले भने–‘यो काल्पनिक कुरा हो।’

उनले पार्टी फुट्ने कुराको समेत खण्डन गरेका छन्। उनले पार्टी भित्र आन्तरिक प्रजातन्त्रको अभ्यास भैरहेको बताउँदै पार्टीभित्र विवाद नभई छलफल भैरहेको दावी गरे। ‘पार्टीभित्र कुनै विवाद छैन। यो आन्तरिक प्रजातान्त्रिक अभ्यास हो’ उनले भने–‘पार्टी कुनै हालतमा फुट्दैन।’

उनले सरकार विरुद्ध पार्टीबाट कुनै असहयोग नभएको दावी गरेका छन। उनले सरकारलाई सहयोग गर्न स्थायी कमिटी सदैव तयार रहेको बताए। उनले आगामी तीन वर्ष वर्तमान सरकार कायम रहने बताए।

कार्य सम्पादन मुल्यांकन सन्तोषजनक नभएको भन्दै वर्तमान सरकारबाट हटाईएका महासेठले आफूले राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनु परेको बताए। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट हटाईएका थिए। उनले मन्त्री फेरबदल प्रधानमन्त्रीको विशेषाधिकार भएको बताए।

उनलाई टीकापुर उद्योग वाणिज्य संघले एक समारोहका बीच स्वागत तथा सम्मान गरेको छ। संघले गतवर्ष आयोजना गरेको टीकापुर महोत्सवका प्रमुख अतिथि रहेका महासेठले लम्की–टीकापुर–खक्रौला सडक स्तरोन्नतीको एकल माग सम्बोधन गरेको भन्दै स्वागत तथा सम्मान गरेको हो।
सो सडक निर्माणका लागि नेपाल सरकारले हालै टेण्डर आह्वान गरेको छ। पूर्वपश्चिम राजमार्गको लम्की खण्डबाट भारतको सीमा क्षेत्रसम्म जोडिएको २८ किलोमिटर सडक निर्माणको काम चालु आर्थिक वर्षमै सञ्चालन गर्ने सरकारको तयारी छ।

संघका अध्यक्ष रामबहादुर भण्डारी पूर्वमन्त्री महासेठलाई सम्मान गर्दै। तस्विर योगेश रावल

प्रकाशित: १७ फाल्गुन २०७६ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App