८ वैशाख २०८१ शनिबार
राजनीति

सुकुटे पुगेर प्रचण्डले भने: ‘संविधान संशोधन गरेर राष्ट्रियसभामा जाने 'बामदेव'को चाहना हो’

पत्रकार भेटघाटमा समसामयिक राजनीतिक विषयमा बिचार राख्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर: ध्रुव/नागरिक

सुकुटे (सिन्धुपाल्चोक) - नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन पार्टीको नभएर उपाध्यक्ष बामदेव गौतमको चाहना भएको बताएका छन्।  प्रथम सकुटे महोत्सवको उद्घाटन गर्न यहाँ आएका उनले शनिबार पत्रकारहरुसँगको भेटघाटमा भने, ‘संविधान संशोधन गरेर राष्ट्रियसभामा जाने उहाँ (गौतम) को चाहाना हो।’ तर संविधान संसोधन गर्दा नकरात्मक सन्देश जाने भएकाले गौतम राष्ट्रियसभामा जान तयार भएको अध्यक्ष दाहालले स्पष्ट पारे।

लामो राजनीतिक अनुभव भएकाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय सचिवालयले गरेको जिकिर गर्दै उनले भने, ‘राष्ट्रियसभामा जान संशोधन शर्त बनाउनु भएन भन्ने पार्टीको आग्रहलाई गौतमले मान्नु भयो। बामदेव र नारायणकाजी जस्ता नेताहरु संसदमा पुग्दा संस्थाको इज्जजत नै बढ्छ।’

पूर्वप्रधानमन्त्री रहेका दाहालले पार्टीका बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले फागुन २१ गते एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) सम्बन्धी प्रतिवेदन बुझाउने जानकारी दिए। एमसीसी सम्झौता संशोधनसहित पारित गराउने सकिने उनको भनाईँ छ।  श्रीलंकाले एमसीसी सम्झौता अस्वीकार गरेको उदाहरण दिँदै उनले ५५ अर्व रुपैयाँको निम्ति गलत गलत ढंगले राष्ट्रले सम्झौता नगर्ने बताए। ‘तर एमसीसी पारितै हुन सक्दैन भन्ने हुँदैन,’ अध्यक्ष दाहालले भने।

बैचारिक विवाद उत्पन्न हुँदैमा पार्टीमा संकट र विभाजन सम्भव नहुने दाबी उनको दाबी छ। दुई मत र बिचार भने रहेको भन्दै उनले पार्टी एक ढिक्का र एउटै मात्र रहेको बताए। ‘महाधिवेशनमा जुटिसकेका छौँ भने पार्टी विभाजन असम्भव कुरा हो।’ सेक्युरिटी प्रेस खरिद सम्वन्धी ७० करोड काण्डबारे सरकारका सम्वद्ध निकायले छानविन थालिसकेको दाहालको भनाईँ थियो। ‘सत्य के हो बाहिर आउनु पर्छ। गलत भेटिए कार्वाही पनि हुनुपर्छ,’ उनले भने।
 

प्रकाशित: १७ फाल्गुन २०७६ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App