८ वैशाख २०८१ शनिबार
अन्य

‘पर्यटकीय राजधानी पोखरा’

सञ्जयकान्त सिग्देल अध्यक्ष, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, गण्डकी

मार्च र अप्रिल भारतीय पर्यटक आउने सिजन हो । त्यसैले नेपाल कोरोनाबाट सुरक्षित छ भन्ने सन्देश बाँड्न हामी छिट्टै सीमावर्ती शहरमा जाँदैछौं ।
सञ्जयकान्त सिग्देल
अध्यक्ष, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, गण्डकी

नाट्टा गण्डकी प्रादेशिक संघले केके काम गर्दै आएको छ ?
हामीले गण्डकी क्षेत्रका गन्तव्यहरूको पहिचान एवं प्रवद्र्धन गर्दै आएका छौं । साथै पर्यटकलाई सुरक्षित र आरामदायी यात्राका लागि पर्यटक सवारी साधनको क्षेत्रमा काम गर्दै आएका छौं । र, व्यावसायिक हकहित, दक्ष जनशक्ति उत्पादनका लागि सीप विकास, क्षमता अभिवृद्धि लगायतका काम पनि गरिरहेका छौं । त्यति मात्र होइन, हामी पर्यटनका राष्ट्रिय मुद्दाहरूमा सरकारसँग सहकार्य पनि गर्छौं ।

तपाइँको नेतृत्वले नाट्टालाई कसरी अघि बढाउँछ ? तपाईका योजना केके छन् ?
हामी हाम्रा कार्यक्रमलाई निरन्तरता दिनेछौं । यस वर्ष विशेष गरी गण्डकी प्रदेशका नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा केन्द्रित हुनेछौं । सँगसँगै केन्द्र सरकारको नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारको अभियानमा पनि सहकार्य गर्नेछौं । यो वर्ष चीनमा सेल्स मिसन कार्यक्रम राखेका थियौं तर, कोरोनाको कारण त्यता जान सकेनौं । चाँडै सीमावर्ती भारतीय शहरमा प्रवद्र्धनात्मक कार्यक्रम लिएर जाँदैछौं ।

अर्को कुरा कालीगण्डकी कोरिडोरको परिचयात्मक भ्रमण, समसामयिक विषयमा प्यानल डिस्कसन, प्रचार सामाग्री छपाइ, तालिम, गोष्ठी, गन्तव्यहरूको व्यवस्थापन, पार्किङ, पर्यटन बसपार्क सञ्चालन र सूचना केन्द्र स्थापना, अन्तरप्रदेश पहुँच विस्तार, पोखरा ट्राभल मार्ट जस्ता कार्यक्रमहरूको योजना बनाएका छौं । हामी नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदसँग मिलेर पर्यटन प्रवद्र्धन र विकासका काम गर्छैं ।

गण्डकी प्रदेश आफैंमा स्थापित गन्तव्य हो, यहाँ पर्यटनका नयाँ संभावना केके देख्नु भएको छ ?
प्राकृतिक सौन्दर्यका हिसाबले गण्डकी क्षेत्रले ईश्वरको वरदान नै हो । पछिल्ला दशकमा केही मानव निर्मित पर्यटकीय सम्पदा पनि बनेका छन् । नयाँनयाँ पर्यटकीय आकर्षणहरू थप्दै जानुपर्छ । अनि हामीसँग भएका सम्पदाहरूको राम्रो ब्राण्डिङ गरेर विश्व बजारमा पस्किनुपर्छ । यस क्षेत्रमा नयाँनयाँ पदमार्गको संभावना पनि देखिन्छ । तिनको पहिचान र विकास हुनुपर्छ ।

पोखरा पर्यटकीय राजधानी हो । प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेको छ । अब केन्द्र सरकारले पनि यसमा हैंसे गर्नुपर्छ । हामी सरकारसँग सहकार्य गर्न तयार छौं । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै विश्व बजारमा सीधा पहुँच बन्नेछ । त्यसपछि झन् धेरै संभावनाका ढोका खुल्नेछन् ।

कोरोना भाइरसका कारण यस सिजनको पर्यटक आवागमन त ठप्प हुने देखिन्छ नि ? कोरोनाले पर्यटन बजार आक्रान्त भएको छ । नेपाली पर्यटन बजार पनि ठप्पै छ । आउने पर्यटकबाट पनि रोग निम्तन सक्ने भएकाले पर्ख र हेरको अवस्थामा छौं । मार्च र अप्रिल भारतीय पर्यटक आउने सिजन हो । त्यसैले नेपाल कोरोनाबाट सुरक्षित छ भन्ने सन्देश बाँड्न हामी छिट्टै सीमावर्ती शहरमा जाँदैछौं ।

पोखरा आन्तरिक पर्यटकको पनि हब हो तर, अधिकांसमा प्याकेजमा घुमफिर गर्ने संस्कृति छैन । प्याकेजमा घुमफिर गराउन के पहल गर्नुहुन्छ ?
नेपालीहरू आआफ्नै किसिमले घुम्छन् । प्याकेजमा घुमफिर गर्दा सजिलो हुन्छ भनेर हामीले बुझाउनुपर्छ । पछिल्लो समय विशेषतः बजेट ट्राभलरहरू जस्तो कि सहकारी समूह, विद्यार्थीहरू प्याकेजमा घुमफिर गर्न थालेका छन् । हामी व्यावसायी सोसल मिडिया मार्फत आकर्षक प्याकेज ल्याइरहेका छौं । यसमा आकर्षण बढ्दै जानेछ ।

काठमाडौं–पोखरा–काठमाडौं बिहान र बेलुका मात्र पर्यटक बस गुड्छन् । दिउँसो पनि दुवैतिरबाट यस्ता सुविधायुक्त बस सञ्चालन गर्न सकिँदैन ?
पर्यटनमा पर्यटकीय सवारी साधनहरू विशेषतः काठमाडौं–पोखरा–काठमाडौं चल्ने बसहरूको योगदान ठूलो छ । यिनै बसका कारण अहिले सौराहा र लुम्बिनीमा पनि पर्यटक वृद्धि भैरहेको छ । यसलाई अझ बिस्तार गर्ने पहल पनि भैरहेको छ । विभिन्न समयमा काठमाडौं–पोखरा–काठमाडौं दिउँसो पनि पर्यटक बस सेवा सञ्चालन गर्ने प्रयास हुँदै आएको छ । काठमाडौंको ट्राफिक समस्याले सफल हुन सकेका छैनौ । अब पोखरामा पर्यटकीय बसपार्क सञ्चालनमा आउँदैछ र काठमाडौंमा पनि प्रकृया शुरू भएको छ । त्यसपछि हामी दिउँसो पनि बस छुटाउन सक्नेछौं । रात्रिसेवा त स्थापित नै भैसकेको छ ।

अन्त्यमा, तपाइँ व्यवसायीहरूका प्रमुख समस्या केके छन् ?
समस्या छ प्रशस्तै छन् । केही राज्यको ऐन, नियमका कारण त केही सामाजिक संरचना अनि केही केही पब्लिक, केही जनशक्ति र केही आफ्नै कारण पनि समस्या उत्पन्न भएका छन् । अहिले अहिले प्रविधि पनि हाम्रो समस्याका रूपमा आएको छ । पेइङ गेटवेहरूकोे नियमन नहुँदा हाम्रो व्यवसायमाथि अतिक्रमण भएको छ । हामी आफै पनि प्रविधिमैत्री हुन नसक्ने र अर्कोतर्फ बैंकको ब्याज दरका कारण लगानी सुरक्षित गर्नै चुनौती देखिएको अवस्थामा समयानुकूल व्यवसायलाई परिमार्जन गर्न नसक्दा समस्या भएको छ ।

प्रकाशित: १७ फाल्गुन २०७६ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App