coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

कलामा निर्वस्त्रता

ललितपुर पाटनस्थित एमक्युब आर्ट ग्यालरीमा फागुन ८ देखि संयुक्त कला प्रदर्शनी ‘ट्वान्टी सेड्स अफ न्युड’ सुरु भएको छ। प्रदर्शनीमा २०  नेपाली कलाकारका न्युड  चित्र, मूर्ति र प्रतिस्थापन कला समेटिएको छ।

प्राकृतिक शरीरको सौन्दर्य  उजागर गर्ने उद्देश्यसहित प्रदर्शनीमा न्युड  चित्र, मूर्ति र प्रतिस्थापन कलालाई समावेश गरिएको हो। प्रदर्शनीको पहिलो दिन सुन्दरले  गुप्तांगलाई  मुखौटाले छोपिएको पर्फमेन्स आर्ट प्रस्तुत गरिएको थियो।

अत्यावश्यक मानिएको शारीरिक सम्बन्ध र यौन शिक्षालाई नग्नतासँग जोड्न नमिल्ने क्युरेटर मनीषलाल श्रेष्ठ बताउँछन्। ‘यौन शिक्षा सबैका लागि आवश्यक छ,’ श्रेष्ठ भन्छन्, ‘तर यी चिज खुला हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ। सबै चिजलाई लाज र यौनसँग जोड्नुहुँदैन।’  सन् २०२० मा प्रकृति, शरीर र जीवनलाई लिएर उत्सव मनाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ।

प्रदर्शनीमा समेटिएको सुन्दर लामाको ‘कोकोनट ब्यान्डेज’ मा हाइड्रोसिल रोगलाई केन्द्रमा राखिएको छ, यो लामाको वास्तविक जीवनसँग सम्बन्धित छ।  हाइड्रोसिल उपचारका क्रममा निरन्तर चिकित्सकसँग चेकजाँच गराउँदा लाजानुभूति हराउँदै गएको लामाले सुनाए।

‘नग्न र लाज महसुस गर्नु वा लज्जाको सामना गर्नु उही कुरा हो। यस सन्दर्भमा, जननेन्द्रियलाई ढाक्नु मात्र नग्न भन्न मिल्दैन ?’ उनी भन्छन्, ‘कला एक वरदान हो, जसले कमजोरीको नजिक ल्याउँछ र यसलाई सामथ्र्यमा परिणत गर्छ।’

त्यस्तै, रोशन भण्डारीको ‘स्प्लेसेस अफ इमान्सिपेसन’ शीर्षकका चार चित्र राखिएका छन्। यी चित्रमा स्वतन्त्रता माग गरिएको आभास हुन्छ।

भण्डारी नांगो जन्मिने मानिस ठूलो भएपछि नग्नताका कुरा गर्न हिचकिचाउने सुनाउँछन्। उनी नग्नतालाई सत्यताका रूपमा हेरिनुपर्ने तर्क गर्छन्।  ‘नग्नता सधैं प्रकृतिको शुद्ध रूप हो, मान्छे ठूलो भएपछि नग्नता असभ्यता होइन भन्ने बिर्सेको हुन्छ,’ भण्डारी भन्छन्, ‘मान्छेले शरीरलाई भन्दा शरीरमा लगाएको गहनामा सौन्दर्य देख्छ, अनि रंगीबिरंगी लत्ताकपडालाई नै सबैथोक  ठान्छ।’

त्यस्तै, कपिलमणि दीक्षितका चित्रमा नारीझैँ पुरुष पनि सुन्दर र आकर्षक हुने भाव पाइन्छ। ‘न्युड २०२०’ शीर्षकमा महादेवको चित्रमार्फत  यस्तो भाव  व्यक्त गर्न खोजिएको दीक्षितले बताए।

त्यस्तै, रशना बज्रचार्यले बनाएको ‘न्युड स्तन’मार्फत लाजकै कारण महिलाहरू स्तन क्यान्सरको सिकार भएको भाव प्रस्तुत गरिएको छ। उनी  स्तनमा समस्या देखिएमा लाज नमानी निरन्तर चेकजाँच गराउनुपर्ने सल्लाह दिन्छिन्।

चित्रकार मनीषलाल श्रेष्ठको ‘विचार’ शीर्षकको चित्रमा विचार मानिस र समाजसँग अन्तर्निहित हुने भाव पाइन्छ।  ‘समाजमा विचारका कारण न्युडप्रतिको धारणा अश्लील बनेको छ,’ उनी भन्छिन्, ‘विचारकै कारण न्युडलाई प्राकृतिक मान्न सकिएको छैन। शरीर नेचर होइन भन्ने सोच मानसपटलमा छ, त्यसलाई परिवर्तन गर्ने प्रयास  गरेको छु।’ उनले विचार शीर्षकमै  एउटै महिलाका थुप्रै स्तन बनाएका छन्। उनी प्रश्न गर्छन्, ‘महिलाका  धेरै स्तन भए के हुन्थ्यो होला ? कपडा लगाइन्थ्यो कि लगाइन्थेन ? प्रदर्शनी फागुन १९ सम्म जारी रहने श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: १७ फाल्गुन २०७६ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App