८ वैशाख २०८१ शनिबार
खेल

हिमालयन शेर्पा सेमिफाइलमा

बलका लागि प्रतिस्पर्धा गर्दे हिमालयन शेर्पाका खेलाडी (सेतो) र गोर्खा ब्याइजका खेलाडी तस्बिर : सञ्जय /नागरिक

धनगढी - गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा निराश पार्दै हिमालयन शेर्पा क्लब धनगढीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा शेर्पाले गोर्खा ब्वाइजको चुनौती पेनाल्टी सुटआउटमा ५–४ ले समाप्त पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। आइतबार हुने दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पाले ललितपुरे टोली थ्री स्टारको सामना गर्नेछ। थ्री स्टारले मंगलबार नव जनजाग्रिती युवा क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ।

शनिबार हुने पहिलो सेमिफाइलमा आयोजक सुदूरपश्चिम–११ ले विभागीय टोली एपिएफको सामना गर्नेछ। कैलाली हसनपुरस्थित धनगढी रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा  शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र विकास राईले गोल गरे। यता गोर्खा ब्वाइजका हरि कठायत, अनीष तामाङ, रूपबहादुर लामा र उत्तम गुरुङले गोल गरेका थिए। सुजित बुढाथोकीको प्रहार भने हिमालयन शेर्पाका गोलकिपर टेकेन्द्र थापाले बचाएका थिए। थापाले म्यान अफ दी म्याच हुँदै नगद १० हजार हात पारे।

शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा हिमालयन शेर्पाले गोर्खा ब्वाइजको चुनौती पेनाल्टी सुटआउटमा ५–४ ले समाप्त पार्दै अन्तिम चारमा स्थान पक्का गरेको छ।

‘हामीले पाएको अवसर सदुपयोग गर्न नसक्दा निर्धारित समयमा नतिजा आफ्नो पक्षमा पार्न सकेनौं,’ शेर्पाका व्यवस्थापक सुशील तामाङले भने,‘सेमिफाइनलमा थ्री स्टारविरुद्ध थप सुधारिएको प्रदर्शन गर्दै बलियो चुनौती दिनेछौं। थ्री स्टारविरुद्ध स्ट्राइकर विजय श्रेष्ठ मैदानमा फर्कनेछन्। त्यसले टोलीको मनोबलसमेत बढ्नेछ।’ यता गोर्खा ब्वाइजका प्रशिक्षक प्रदीप आचार्यले भने टोलीमा केही खेलाडी नयाँ भएकाले तालमेल अभाव देखिएको  र मुख्यत् फिनिसिङमा पनि समस्या देखिँदा नतिजा सुम्पिन परेको प्रतिक्रिया दिए।

नेपाल र भारत गरी कुल १२ क्लबको सहभागिता रहेको प्रतियोगिता आगामी फागुन २० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ र उपविजेताले १० लाख १ रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीलाई १५/१५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: १७ फाल्गुन २०७६ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App