coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाधि भिडन्तमा पुलिस र मनाङ

ट्रफीका साथमा मनाङ र पुलिसका कप्तान तथा प्रशिक्षक। तस्बिर : रोहित राई

धरान - मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबको लागि धरानको खेलमैदान नौलो होइन। धरानको मैदानमा थुप्रै पटक उपाधि जितेका यी टोली एक पटक फेरि २२औं बुढासुब्बा  गोल्डकपको फाइनलमा शनिबार आमनेसामने हुँदैछन्।

धरान–१६ स्थित रंगशालामा यी दुवै टोली आमनेसामने हुँदा लक्ष्य एउटै हुनेछ, उपाधि उचाल्ने। पुलिस बुढासुब्बामा सबैभन्दा धेरै फाइनल पुग्ने टोली पनि हो। यस प्रतियोगितामा १० पटक फाइनल खेलेको पुलिसले पाँच उपाधि उचाल्दा पाँच पटक भने उपविजेता सीमित भएको छ। यस पटक पनि उपाधि जित्दै पुलिस बुढासुब्बाको सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ।

बुढासुब्बामा पुलिस र थ्री स्टार क्लबले समान पाँच पटक उपाधि जितेको छ। मनाङले पनि धरानमा तीन पटक उपाधि जितिसकेको छ। मनाङ १४औं र १७औं संस्करणमा भने उपविजेतामै सीमित भएको थियो। बुढासुब्बाको जारी २२औं संस्करणमा पुलिस र मनाङ दुवै टोली मोफसलको चर्चित उपाधि जितेर आफ्नो प्रतिष्ठा कायम गर्न चाहन्छन्। दुवैले सशक्त टोली पन्छाउँदै फाइनल यात्रा तय गरेका छन्।

त्यसैले पनि फाइनल रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान छ। सेमिफाइनलमा पुलिसले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई र मनाङले भारतको युनाइटेड कर्साङ स्तब्ध बनाएको थियो। गत सहिद स्मारक लिगमा पुलिस मनाङसँग २–० ले स्तब्ध भएको थियो। पुलिसमा जुमानु राई, भोला सिलवाल र सुमन सुवेदी बाहेक सबै नयाँ युवा खेलाडी छन्। पुलिसका कप्तान जुमानुले खेल प्रतिस्पर्धात्मक हुने भए पनि आफूहरुले जित्ने दाबी गरे।

‘मनाङ पनि एकदमै राम्रो टिम हो, खेल ५०/५० हुन्छ,’ जुमानुले भने,‘हामी रणनीति अनुसार नै खेल्छौं।’ पुलिसका प्रशिक्षक दिनेश गुरुङले काँकडभिट्टा र मच्छिन्द्रजस्तो सशक्त टोलीलाई हराएर फाइनल पुगेकोले मनोवल उच्च भएको बताए। मनाङका कप्तान कमल श्रेष्ठले प्रतिद्वन्द्वी टिम बलियो भएकोले राम्रो तयारी गरेर उत्रने बताए। ‘पुलिस बलियो टिम हो, तर हामी पनि त्यहीअनुसार तयारी गरेका छौं। उपाधि जित्नकै लागि धरान आएका हौं,’उनले भने।

मनाङका प्रशिक्षक फुजा तोपेले पनि खेल प्रतिस्पर्धात्मक हुने बताए। विपक्षीले कस्तो खेल्छ, सोही अनुसार मैदानमा रणनीति फेर्दै खेल्ने तोपेको भनाई छ। विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडीले डियो स्कुटर तथा उत्कृष्ट किपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछ। सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पाउनेछ।

यस प्रतियोगितामा १० पटक फाइनल खेलेको पुलिसले पाँच उपाधि उचाल्दा पाँच पटक भने उपविजेता सीमित भएको छ। यस पटक पनि उपाधि जित्दै पुलिस बुढासुब्बाको सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ। बुढासुब्बामा पुलिस र थ्री स्टार क्लबले समान पाँच पटक उपाधि जितेको छ।

प्रकाशित: १७ फाल्गुन २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App