४ वैशाख २०८१ मंगलबार
समाज

पाठ्यपुस्तकविनै हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु

डोल्पा- कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा शैक्षिक सत्र सुरु भइसक्दा समेत पाठ्यपुस्तक पुगेका छैनन्। पाठ्यपुस्तक विनानै शैक्षिक सत्र सुरु भयो। तर पढाईले गति लिन सकेको छैन। समयमै पूर्ण पाठ्यपुस्तक नपुगे पनि विद्यार्थी भर्ना अभियानलाई भने यहाँका विद्यालयहरुले तीव्र बनाएका छन्। यत्तिखेर डोल्पाका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरु विभिन्न आर्कषक प्याकेज कार्यक्रमसहित आफ्नो विद्यालयमा भर्ना हुन आग्रहका साथ विद्यार्थीको घरदैलो अभियानमा जुटेका छन्।

शिक्षाको ज्योती जोगाऔ सक्षम नागरिक तयार पारौ, आफ्ना नानीहरुलाई विद्यालयमा पठाऔ, जस्ता विभिन्न नारा अंकित प्लेकार्डसहित घरदैलो पुगेर विद्यार्थी भर्ना गर्न अभिभावकहरुलाई सचेतना गराएका थिए। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देबिकृष्ण उपाध्यायले गरिव तथा आर्थिक विपन्न परिवारका र जेहेन्दार बालबालिकासहित सबैलाई बिशेष प्याकेज शैक्षिक सहयोग कार्यक्र लागू गरेर विद्यार्थी भर्नादर बढाउन थालिएको बताए।

पाठ्यक्रम विकास केन्द्रले समयमै पाठ्यपुस्तकको लागि छपाई गर्नुपर्ने विषयबस्तु समयमै नदिएकाले कक्षा १ का पाठ्यपुस्तक छपाईमा ढिला भएको कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा पाएको निजि कम्पनी सुदिपा ट्रेडिङ लिमिटेड काठमाण्डौका प्रमुख रामहिरा पाठकले जानकारी दिए। पाठकले भने 'पाठ्यपुस्तक छपाईमा अलि ढिला भएपनि भर्खरै मात्र छपाई सम्पन्न गरेर कर्णालीका हिमाली जिल्लाको लागि नेपालगन्जको लागि काठमाडौबाट मंगलवार मात्र पठाइएको छ ,अवको केहि दिन भित्र जिल्लामा पुग्छ।' नेपालगन्जदेखि डोल्पाका विभिन्न विद्यालयहरुमा पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएका जनक शिक्षा सामाग्री केन्द्रका प्रतिनिधिको रुपमा रहेका वितरकहरुले कक्षा दुईदेखि दशसम्मका पाठ्यपुस्तक जिल्लामा पुर्याए पनि कक्षा १ का पाठ्यपुस्तक जिल्लामा नपुगेकाले साना बालबालिकाको हातमा पुस्तक पुग्न सकेको छैन।

सरकारले कर्णालीका बालबालिकाको लागि कक्षा १ देखि १० सम्म निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भने पनि प्रयाप्त बजेट उपलब्ध नहूदा कर्णालीका विद्यार्थीका लागि सरकारको घोषणा कागजमै सिमित रहेको गुनासो बालबालिकाको छ। जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रविन्द्र शर्माले विगतको तुलनामा यो वर्ष कक्षा १ का पाठ्यपुस्तक बाहेकका सबै पाठ्यपुस्तक जिल्लामा पुगेको बताए। डोल्पाको लागि धेरै एजेन्टहरुले जिल्लामा पाठ्यपुस्तक पुर्‍याएर वितरण समेत गरेको जानकारी आफूमा आइसकेको भएपनि केहि वितरकहरुले भने भर्खर मात्र पाठ्यपुस्तकहरु उठाएको पनि शर्माले नागरिकलाई बताए।

फागुनको पहिलो सातामा किताव पुगेपनि त्रिपुरासुन्दरी नगरपालिकाभित्रका विद्यालयहरुले किताव नलगेकाले बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन्। नगरपालिका र किताव एजेन्टहरुबीचको तालमेल नमिल्दा विद्यालयले किताव लिन अस्वीकार गरेपछि जिल्लामा किताव पुगेर पनि बालबालिकाको हात रित्तै छ। त्रिपुरासुन्दरी नगरपालिकाले सबै किताव एजेन्टहरुले ल्याएको पाठ्यपुस्तकहरु सम्बन्धित विद्यालयमा पुगेरै वितरण गर्नुपर्ने निर्णय गरेको भएपनि एजेन्टहरुले विद्यालयमा नपुगेर आफ्नै स्टेशनरी पसलबाट वितरण सुरु गरेपछि विद्यालयले पाठ्यपुस्तक लिन अस्वीकार गरेको हुन्।

श्रृष्टि एण्ड स्मृती स्टेशनरि पसल त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बगरका प्रोप्रराइटर तथा किताव वितरक पुर्णकेशर न्यौपानेले आफूसहित किताव एजेन्टहरुको उपस्थिती र सहमति विना एकलरुपमा नगरपालिकाले गरेको निर्णय नमान्ने बताउदै विद्यालय शिक्षक आए पसलबाटै वितरण गरिने नआए आफैले विद्यालयमा नपुर्‍याउने नागरिकलाई बताए ।

त्रिपुरासुन्दरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भिमबहादुर धरलाले नगरले किताव ढुवानी जिम्मा पाएका एजेन्टहरुले सम्बन्धित विद्यालयमै किताव पुर्‍याउनु पर्ने निर्णय भएकाले वितरकले विद्यालयमै किताव पुर्‍याउनु पर्ने बताए। वितरकहरुले बालबालिकाबाट परलमूल्य भन्दा बढी लिएर किताव वितरण गरिरहेको जनगुनासो आइरहेका बेला श्रृष्टि एण्ड स्मृती स्टेशनरीका प्रोपराइटर न्यौपानेले कक्षा ६ का पाठ्यपुस्तक रंगिनका साथै विषय पनि थप भएकाले विगतको मूल्यमा केहि बढेको भएपनि अन्य कक्षाका कितावहरुको मूल्य उल्लेखित भन्दा एक पैसा पनि बढी लिन नमिल्ने बताए।

 

प्रकाशित: १६ फाल्गुन २०७६ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App