८ वैशाख २०८१ शनिबार
समाज

‘तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या’

तीन छोरीसहित विष सेवन गरी गुन्द्रदेवीको मृत्यु भएपछि उनका घरमा भेला भएका छिमेकी । तस्बिरः सन्तोष सिंह

सर्लाही– पिपरिया– ३ की ३० वर्षीया गुन्द्रदेवीले तीन छोरीहरूलाई विष खुवाई आफूले पनि खाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

विष सेवनपछि गम्भीर गुन्द्रदेवी र उनकी १० वर्षीया छोरी चन्दादेवीलाई उपचारका लागि सर्लाही जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा दुवैको बाटोमा मृत्यु भएको थियो । विष सेवनपछि सिकिस्त उनका दुई छोरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए ।

सोमबार साँझ गुन्द्रदेवीले १३ वर्षीया छोरी पूजाकुमारी, १० वर्षीया छोरी चन्दाकुमारी र तीन वर्षीया छोरी राधाकुमारीलाई पानीमा विष घोलेर खुवाई आफूले पनि खाएकी थिइन् । उनले कुन विष सेवन गरिन् भन्ने खुल्न सकेको छैन ।
विष सेवनपछि गम्भीर अवस्थामा रहेका पूजाकुमारी र राधाकुमारीको मलंगवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेसनल अस्पताल, वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । उपचाररत दुवैको स्वास्थ्यमा सुधार आएको प्रहरीले जानकारी दिएको छ । मृतक आमा गुन्द्रदेवी र चन्दादेवीको शव पोस्टमार्टमका लागि सर्लाही जिल्ला अस्पतालमा राखिएको छ ।

गुन्द्रदेवीले  गरिबीका कारण अनिश्चित भविष्य देखेर छोरीहरूलाई विष खुवाएर आफूले पनि खाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक रिजालका अनुसार विपन्न गुन्द्रदेवीको परिवारलाई हातमुख जोर्न समस्या थियो । उनका पाँच छोरी र एक छोरालाई पालनपोषण गर्न आर्थिक समस्या थियो । ‘चरम गरिबीका कारण ती महिलाले आत्महत्याको बाटो रोजेको हुन सक्छ,’ रिजाल भन्छन्  । उनका श्रीमान् रामाधार पण्डित मजदुरी गर्छन् ।  
इलाका प्रहरी कार्यालय, हरिपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीका अनुसार छोरा शिवालाई भंैसी चराउन पठाएर गुन्द्रदेवीले पानीमा विष घोलेर पहिले छोरीहरूलाई खुवाएर आफूले पनि खाएकी थिइन्  । ‘छिमेकमा झैझगडा भएको छैन, श्रीमान बाहिर काम गर्न गएका थिए,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘आर्थिक अवस्था कमजोर देखिएको छ । पाँच  छोरीलाई तिलक (दाइजो) दिन सक्ने क्षमता देखिँदैन । त्यही भएर भित्रबाटै घरको ढोका थुनेर एकै ठाउँमा छोरीहरूलाई बसाएर विष मिसाइएको पानी खुवाएको देखिन्छ ।’

गुन्द्रदेवीका श्रीमानले दैनिक मजदुरी गरेर  श्रीमती तथा छोराछोरीको पालनपोषण गर्दै आएका थिए । आर्थिक विपन्नताका कारण घरायसी समस्या समाधान गर्न नसक्दा गुन्द्रदेवी केही महिनादेखि तनावमा थिइन्  । ‘पैसा नभएकाले गर्दा गुन्द्रदेवीको उपचार हुन सकेको थिएन, गाउँघरमै धामीझाँक्री लगाएर झारफुक गरिएको थियो,’ छिमेकी मीनादेवी मण्डलले भनिन्  । मजदुरी गर्दै आएका रामाधारले फुसको झुपडी बनाएर छोराछोरी र श्रीमतीलाई राख्दै आएका थिए । त्यसबेला छोरीहरू रोशनीकुमारी र काजलकुमारी भने घरबाहिर रहेका थिए ।

 

प्रकाशित: २० पुस २०७३ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App