coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम साँस्कृतिक, प्राकृतिक सम्पदाले भरिपूर्ण : राष्ट्रपति भण्डारी

भगवती माताको दर्शन गर्न उग्रतारा मन्दिरमा राष्ट्रपति भण्डारी ।

डडेल्धुरा- राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश साँस्कृतिक, प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण भएको बताएकी छन्। शुक्रबार सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्दै राष्ट्रपति भण्डारीले यस्तो कुरा बताएकी हुन्। सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले शुक्रबार बिहान अमरगढी नगरपालिका–८ मा रहेको प्रसिद्ध उग्रतारा भगवती माताको मन्दिर दर्शन गरेकी हुन्। करिब ४५ मिनेट उग्रतारा क्षेत्रमा रहेकी उनले मन्दिरमा पूजापाठ समेत गरिन्।

उग्रतारा वेदविद्याश्रममा अध्ययनरत बटुकहरुले संस्कृतमा राष्ट्रपतिको स्वागत स्वरूप स्वस्थानी वाचन गरेका थिए। जिल्ला सदरमुकाम भन्दा पाँच किलोमिटर टाढा उत्तर तर्फ महाकाली राजमार्ग छेउमै रहेको उग्रतारा मन्दिरमा राष्ट्रपति भण्डारी पुग्दा बाजागाजासहित स्वागत गरिएको थियो। जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारमा रहेको वेदविद्याश्रमा अध्ययनरत बटुक लगायत उग्रतारा क्षेत्र विकास समिति पदाधिकारी, पूर्व पदाधिकारीहरूले स्वागत गरेका थिए।  

राष्ट्रपतिको भ्रमणमा सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त त्रिपाठी, मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा सहभागी भएका थिए। नगरपालिकाका तर्फबाट राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरिएको हो। उग्रतारा क्षेत्र विकास समितिले पनि राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन पत्र प्रदान गरेको छ।

‘यहाँ प्राकृतिक सम्पदा र पुण्य धामहरू रहेका छन् । यहाँ राष्ट्रको ध्यान पुगेन कि भन्ने सोचाइहरू पनि छन्। तर, त्यसो होइन।’ नागरिक अभिनन्दन पछि बोल्दै राष्ट्रपति भण्डारीले भनिन्,‘राष्ट्रको दाहिने हात र आँखा सुदूरपश्चिम हो। त्यसैले यहाँ राष्ट्रको ध्यान आकर्षित भएको छ।’

राष्ट्रले सबै जनतालाई समान ढंगले हेरिरहेको उनले बताईन्। सुदूरपश्चिम प्रदेशको चौतर्फी विकासका लागि नेपाल सरकार लागि परेको उनको भनाई थियो।

नेपाल भ्रमण वर्षको अवसरमा पहिलो पटक उग्रताराको दर्शन गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले उग्रताराको राष्ट्रिय स्तरमा प्रसार–प्रसार हुने विश्वास व्यक्त गरिन्। विभिन्न कामको शिलसिलामा डडेल्धुरा यसअघि पनि आएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रपति भएपछि पहिलो पटक यहाँ आएको पनि बताइन्।
 

प्रकाशित: १६ फाल्गुन २०७६ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App