coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम

खोटाङ– जिल्ला निर्वाचन कार्यालय खोटाङले विद्यालय स्तरिय निर्वाचन क्षेत्र कार्यक्रम सुरु गरेको छ। निर्वाचनका क्रममा हुने बदर मतलाई न्यूनिकरण गर्नका लागि निर्वाचन कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा कक्षा ९ र १० का छात्रछात्रालाई सहभागी गराएर निर्वाचन शिक्षा विशेष कार्यक्रम सुरु गरेको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सरस्वती मावि दिक्तेलबाट सुरु गरिएको विद्यालय स्तरिय निर्वाचन क्षेत्र कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहका १७ माविमा पुर्‍याइने जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी कोपिला राईले बताईन्।

विद्यार्थीमार्फत निर्वाचन सम्बन्धि जानकारी परिवार र समाजमा पुर्‍याउने लक्ष्यका साथ निर्वाचन शिक्षा विशेष कार्यक्रम थालिएको कार्यालयले जनाएको छ। हालसम्म पञ्च मावि दिक्तेल, कालिका मावि नेर्पा, श्रीमावि बाँसबोटे, भगवती दिनानाथ मावि खोटाङबजार लगायतका विद्यालयमा कार्यक्रम सञ्चालन गरिसकिएको अधिकारी राईले बताईन्। फागुनभित्र तोकिएको विद्यालयमा निर्वाचन शिक्षा सम्बन्धि कार्यक्रम गरिसकिने छ। ‘निर्वाचन सम्बन्धि शिक्षा र सन्देश विद्यार्थीमार्फत परिवार र गाउँमा पुर्‍याउने हाम्रो लक्ष्य हो,’ राईले भनिन्, ‘जसको अन्तिम लक्ष्य भनेको बदर मतलाई न्यूनिकरण गर्दै मतदाताको मतको सही सदुपयोग गर्नु हो।’

विद्यार्थीलाई स्लाईडमार्फत मतदाता नामावली संकलन, आवश्यक कागजात, मतदान गर्ने विधि, मतपेटिका उपयोग गर्ने विधि, आचारसंहिता, मतदान केन्द्रको नमूना, निर्वाचन, यसका प्रकार, निर्वाचन अभ्यास लगायतका बारेमा जानकारी दिइने जनाइएको छ। हाल ६३ जिल्लामा विद्यालय स्तरिय निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। निर्वाचन कार्यालयले आगामी चैत ७ गतेदेखि सबै वडामा पुगेर फोटोसहितको मतदाता नामावली संकलनको तयारी भइरहेको जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७६ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App