coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

ज्ञानेन्द्रलाई गद्दी

राजा चाल्र्सलाई मृत्युदण्ड दिँदै राजतन्त्र अन्त्य भएको घोषणा गरियो ब्रिटेनमा। ओलीभर क्रमवेल गणतन्त्र ब्रिटेनका शासक भए। सन् १६४९ को जनवरी ३० मा मारिएका राजाका छोरालाई भगाएर हल्यान्डको हेग सहरमा लुकाइयो। एघार वर्षसम्म गणतन्त्रको फोहोरी शासन हेरेपछि जनतालाई असह्य भयो। ‘हजारौँ स्याल पाल्नुभन्दा एउटै सिंह पाल्दा राम्रो’ भन्दै जनताले चाल्र्स (प्रथम) का पुत्र चाल्र्स (द्वितीय) लाई गद्दीमा राखे।

स्पेनमा दुईपल्ट गणतन्त्र स्थापना भयो तर चलेन। सन् १८७३ र १९३१ मा ‘राजालाई च्युत गर्ने जनताले राजसंस्थाका सद्गुणहरू अरुमा नभेटेपछि राजसंस्था पुनस्र्थापना गरे’ भनेका छन् त्यहाँका इतिहासकारहरूले। स्पेनका राजा हुँआ कार्लोसले राजा वीरेन्द्रको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए। धेरै राजतन्त्रवादी राष्ट्रबाट ऊबेला नेपालले लाभ लिएको थियो। ‘सिंहको साइनो सिंहसँग, फ्याउराको साइनो फ्याउरासँग’ भन्ने ग्रीसको उखान छ। कूटनीतिमा त्यस्तै हुन्छ। उच्चस्तरको नेपालको विश्व सम्बन्ध आज कुन हालतमा छ, भन्नु परोइन।

गद्दीच्युत गराइए पनि राजा महेन्द्रका सुपुत्र ज्ञानेन्द्रले अनेक अपमान सहेर राष्ट्रको चिन्ता गरिरहेका पाइन्छ। राजोचित व्यवहारबाट उनी च्यूत भएनन्।

बेल्जियममा सन् १९५० मा जनमत संग्रह गरियो। राजसंस्थाले राष्ट्रिय एकता, धर्म, संस्कृति, परम्परा र राष्ट्रिय पहिचान बचाउँछ भन्दै जनताले राजसंस्थालाई नै निरन्तरता दिए। सद्दाम हुसेन इराकको राष्ट्रपति छँदा उनले कुवेतमा हमला गरेर राजसंस्था निर्मूल भएको घोषणा गरे, सन् १९९१ मा। अगस्त ४ तारिखदेखि २८ तारिखसम्म चौबीस दिन चल्यो, गणतन्त्र। अमेरिकाले पुनस्र्थापना गरिदियो, राजतन्त्र। उसको प्रधान स्वार्थ त्यहाँँको तेल थियो।

हादिया ताजिक जस्ता नेता र केही कम्युनिस्टले नर्वेमा गणतन्त्रका पक्षमा बोल्ने गरेको पाइन्छ। नर्वेलाई राष्ट्र संघले सबैभन्दा शान्त, सुखी र समृद्ध मान्नुको मुख्य कारण राजतन्त्रले दिएको स्थायी नेतृत्व नै हो। स्थायी र भरपर्दो राष्ट्रवादी शक्ति राजसंस्था नै हो भन्ने त्यहाँका बुद्धिजीवीहरूले लेखेका छन्। कतिपय राष्ट्रमा दुई÷चार करोड डलर खर्च गरेर विदेशी शक्तिले आफूअनुकूलको गणतन्त्रात्मक सरकार बनाएका उदाहरण छन्। तर राजतन्त्रले सबै जनताको निरन्तर विश्वास पाइरहनुपर्ने भएकाले विदेशी शक्ति सामुन्ने राजा झुक्ने संभावना न्यून हुन्छ। राष्ट्रवादी जनता र राष्ट्रहितमा समर्पित राजसंस्था मिलेर अठ्ठाइसवटा राष्ट्रमा आज पनि राष्ट्रिय स्वाभिमान बचाएकै छन्। तीमध्ये धेरैजसो राष्ट्रले आफँै निर्णय गर्छन्।

चार जना राजा थिए, बुगान्डा (हालको युगान्डा) देशमा। गणतन्त्रपछि इदी अमिन जस्ता तानाशाह आए। सन् १९७५ मा गणतन्त्र स्थापना गरेपछि कम्बोडियाका तानाशाह पोलपोटले ‘सुखी जनता, समृद्ध देश’ भन्दै सपनाको व्यापार गरे। व्यवहारमा सत्तासीनहरू मात्र सुखी र समृद्ध भए। दशौँ लाख मानिस मारेर क्रूर शासन चलाएकोमा पोलपोटको घोर आलोचना भयो। राजतन्त्रकालमा सुरक्षित रहेका असल कुराहरू सबै मासिँदै गए। देश भासिँदै गयो। त्यस्तो अवस्थामा कम्बोडियाका राजालाई ‘राष्ट्रवादी शक्ति’ मानेर चीनका राष्ट्राध्यक्ष माओले आफ्नो देशमा शरण दिएका थिए। परिवारका सदस्य र नोकरचाकरसहित झन्डै एक सय जना मानिस लिएर कम्बोडियाका राजा केही वर्ष चीनमा बसे। कम्वबोडियाका कम्युनिस्टहरू अमेरिकाले पैदा गरेका भाइरस थिए। उनीहरूले राजा, सेना, जनता सबैलाई दुःख दिए। धर्म र संस्कृति मास्न थाले।

युवराज नाम हुँदैमा सवै ‘युवराज’ हुँदैनन्। नामअनुसार आचरण नगर्ने सक्कली युवराज पनि गल्लीमा भौतारिँदै हिँडेका उदाहरण छन्। गद्दीच्युत गराइए पनि राजा महेन्द्रका सुपुत्र ज्ञानेन्द्रले अनेक अपमान सहेर राष्ट्रको चिन्ता गरिरहेका पाइन्छ। राजोचित व्यवहारबाट उनी च्यूत भएनन्। उनी अहिले पनि राष्ट्र क्षत विक्षत हुने अवस्था आएकाले यो स्थिति इतिहासकै अत्यन्त जोखिमपूर्ण घडी हो भनिरहेका छन्। आफूलाई पुनः गद्दीमा बस्ने आकांक्षा पटक्कै छैन भन्दै उनले प्रियजनहरूसँग जनताले निर्णय गरेर दायित्व सुम्पिए भने राष्ट्र र जनताप्रतिको दायित्वबाट भाग्न मिल्दैन पनि भनेका छन्।

ज्ञानेन्द्रले आफूलाई पुनः गद्दीमा बस्ने आकांक्षा पटक्कै छैन भन्दै उनले प्रियजनहरूसँग जनताले निर्णय गरेर दायित्व सुम्पिए भने राष्ट्र र जनताप्रतिको दायित्वबाट भाग्न मिल्दैन पनि भनेका छन्।

बाजे (राजा) त्रिभुवन २००७ साल कात्तिकमा दिल्ली जाँदा मामाघरमा छुटेका माहिला नाति ज्ञानेन्द्रलाई तीन वर्ष उमेर नपुग्दै राजगद्दीमा विराजमान गराइयो। भाँडाकुटी खेल्दै गरेका बालक इतिहासले कोल्टे फेर्दा श्री ५ महाराजाधिराज भए। दाजु वीरेन्द्रको रहस्यमय हत्यापछि उनले दोस्रोपल्ट राज्यको बागडोर हातमा लिए। यी दुवै घटनाले उनलाई ‘एक्सिडेन्टल किङ’ प्रमाणित गरिदियो। २०६२÷६३ साल पछि ‘राजा चाहिँदैन, हामी चलाउँछौँ’ भन्नेहरूले राष्ट्र त के, आफ्नै दल पनि विधानअनुसार सही ढंगले चलाउन सकेनन्। यस्तो अवस्थामा नेपालमा अस्थिरतासँगै ‘रोनाधोना भाइरस’ पैmलिने खतरा झन् बढेको छ।

विदेशी शक्तिले पनि अस्थिरतामा च्याँखे थापिरहनु सदैव फाइदाजनक हुँदैन भन्ने बुझ्न थालेका देखिन्छ। यही हुनाले राजनीतिक दलहरू निकम्मा ठहरिँदै जाँदा भविष्यमा के हुन्छ भनेर कपाल फुलेका विश्लेषकहरू अनेक कोणबाट छलफल गर्न थालेका छन्। गणतन्त्र कुनै राजनीतिक प्रणाली जस्तो देखिएन नेपालमा। ‘लुटी ल्यायो भुटी खायो’ शैलीको अर्थतन्त्र, गाउँगाउँमा खुलेका सिंहदरवार र नवीन श्री ३ हरू, विदेशीको हुकुम प्रमांगीले चल्ने सरकार, आफ्नो अडानमा चार घण्टा पनि नटिक्ने प्रतिपक्ष र स्वतन्त्र बस्नुभन्दा ‘कार्यकर्ता बन्न रमाउने बुद्धिजीवीले गणतन्त्रलाई दिनहुँ बदनाम गराइरहेका छन्।

पुराना पत्रकार विनोदमणि दीक्षितले सामाजिक सञ्जालमा लेखे– ‘यो भन्दा त निर्दलीय पञ्चायती व्यवस्था धेरै उत्तम थियो।’ जीवनभर पञ्चायती प्रणालीको विरोध गर्ने विनोदमणि जस्ता राजधानीका कैयन् प्रबुद्ध व्यक्तिहरू भन्दैछन्– कतिपय कुरामा ज्ञानेन्द्रको ज्ञान पुगेन होला तर आजका सबै नेताभन्दा उनको व्यक्तित्व, राष्ट्रभक्ति र समर्पण धेरै माथि छ।

‘राजाको दैवी अधिकार’ भन्ने युरोपको राजतन्त्र र ‘स्वर्गको आदेश’ भन्ने चीनको राजतन्त्रको इतिहासभन्दा पृथक छ सनातनी राजतन्त्रात्मक परम्परा। सत्यमोहन जोशीद्वारा लिखित ‘शुभराज्याभिषेक’ (२०३१ साल) लगायतका पुस्तकमा नेपालका राजाले शुभराज्याभिषेकमा वेदका मन्त्रहरूबाट आफू सञ्चालित हुने प्रतिज्ञा गर्छन् भनिएको छ। राजाले ब्राह्मण, क्षत्री, वैश्य र शुद्रले टेकेको माटो मुछेर तिलक लगाउनुपर्छ राज्याभिषेकमा। यसको अर्थ ‘मेरा लागि सबै बराबर छन्’ भन्ने लाग्छ। सृष्टिका प्रथम राजा पृथु भएकाले उनले रक्षा गरेको धर्ती (वसुधा) पृथ्वी भनियो भन्ने विद्वान्हरूको मत पाइन्छ। सनातन धर्मको प्राचीनतम् ग्रन्थ ऋग्वेदमा राष्ट्र, राजा, राजधर्म, संसद् र व्यवस्थाको व्याख्या पाइन्छ। राजा वीरेन्द्रको शुभराज्याभिषेक सयकडौँ विदेशी पाहुना (राजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री आदि) को उपस्थितिमा वैदिक सनातन परम्पराअनुसार सम्पन्न भएको थियो, २०३१ सालमा। सोही अवसरमा उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए।

सनातन धर्मका ज्ञाता प्रा. श्रीधर मजगैयाले लेखेका छन्– ‘वेदलाई हाम्रा पुर्खाले मानव प्रकृति, बाह्य पर्यावरण र रहस्यपूर्ण ईश्वर तत्वको समेत गम्भीर र यथार्थ ज्ञान दिने र तद्नुकूल व्यक्ति धर्म, परिवार धर्म, कुटुम्व धर्म, कुल धर्म, समाज धर्म, राष्ट्र धर्म र मानव धर्मको समेत यथायोग्य निरूपण गर्ने शास्त्रका रूपमा प्रतिपादन गरेका थिए।’ डा. वासुदेवकृष्ण शास्त्रीले राजामा सद्गुणहरू हुनैपर्छ भन्ने तर्क गर्दै लेखेका छन्– ‘राजालाई सौर्यता, पराक्रमी, वीर, साहसी योद्धा, कृतज्ञ, वृद्धहरूको सेवा गर्ने, सत्यवादी, कुलीन, इमानी, सैन्य सञ्चालनमा निपुण, समाजशास्त्री, अर्थशस्त्री, विभिन्न भाषाका जानकार, परा–अपरा विद्याका जानकार, सन्धि र विग्रहको जानकार, निरोगी, धर्म संस्कृतिमा आस्थावान, अनुशासितलगायतका सकारात्मक गुणहरूले युक्त हुनुपर्छ भनेकोे छ शास्त्रले।’ दलको नेता हुन जालझेल गरेर चुनाव जिते पुग्छ। वास्तविक, लोकप्रिय, प्रवल र प्रजावत्सल राजा बन्न सजिलो छैन। तसर्थ ‘नश्यति बहुनायकः (धेरै नेता भएमा नास हुन्छ) भन्दै शास्त्रले एउटा असल राष्ट्रनायक भए पुग्छ भनेको छ।

यजुर्वेदमा ‘वयं राष्ट्रे जागृयाम पुरोहिता’ भनिएको छ। किङ, नेसन, स्टेट र पार्लियामेन्टभन्दा हजारौँ साल पहिले राष्ट्र, राजा, संसद् सबै थिए, पूर्वीय गोलाद्र्धमा। पश्चिमा राष्ट्रले ‘डेमोक्रेसी’ र ‘ह्युमन राइट’ सिकेको धेरै भएको छैन। वेदले हजारौँ वर्ष पहिले नै ‘सबै समान छन्’ भनेकै थियो। पश्चिमा शक्तिहरूको आज्ञाकारी बन्नेहरूले धर्म भनेको ‘कर्तव्य’ भन्ने बुझेनन्। ‘फेथ’ वा ‘रिलिजन’ मात्र बुझे। व्यक्ति, समाज र राष्ट्रका आफ्ना कर्तव्य (धर्म) छन्। नेपालको संविधानमा राष्ट्र धर्म निरपेक्ष रहने उल्लेख छ। जब राष्ट्र कर्तव्य निरपेक्ष बन्छ तब जनताले दुःख त पाउने नै भए।

खिलराज रेग्मीलाई ‘निर्दलीय प्रधानमन्त्री’ बनाएर अभ्यास गरिसकेका छन्, गणतन्त्रवादी नेताहरूले। लाखौँ जनता आजको अवस्थालाई चोरतन्त्र (क्लिप्टोक्रेसी), अराजकता, भ्रष्टयुग, तस्करतन्त्र र निरंकुशतन्त्र भनिरहेका छन्। ‘गणतन्त्र चाहिन्छ कि चाहिँदैन’ भन्ने प्रश्नमा निष्पक्ष जनमत संग्रह गर्ने हो भने अधिकांश जनताले ‘चाहिँदैन’ भन्ने अवस्था देखिन्छ। त्यो भनेको ‘ज्ञानेन्द्रलाई गद्दी, दलहरू रद्दी’ भन्ने नै हो। सत्ता र प्रतिपक्षले २०६२÷६३ सालपछि देखाएको स्तरहीन र द्वैध चरित्रले यो अवस्था सिर्जना भएको हो। ज्ञानेन्द्र शाह राजतन्त्र नामक विद्यालयका हेडमास्टर मात्र हुन्। उनको रिसले राजसंस्थारूपी स्कुलमा आगो लगाए दलहरूले। द्वन्द्वकालमा बुर्जुवा शिक्षा बहिष्कार भन्ने कैयन् माओवादी नेताका छोराछोरी आज युरोप–अमेरिकामा पढ्दैछन्। ज्ञान आएपछि ज्ञानेन्द्रलाई ज्ञानी देख्ने माओवादीहरू पनि भेटिन्छन्। उनीहरू भन्छन्– माओवादी नेता विदेशीका भाडाका सिपाही रहेछन्। राष्ट्रवादी त ज्ञानेन्द्र नै रहेछन्।

निर्मल निवासमा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिन गएका सर्लाहीका अधिवक्ता सुनिलराज उप्रेतीले पुष्पहार अर्पण गर्दै भने– २०६२/६३ सालको आन्दोलनमा राजा चाहिँदैन भन्दै ढुंगा हान्थेँ म पनि। आज सरकारलाई शुभकामना अर्पण गर्न आएको छु।

यो युवा पुस्तामा आएको मानसिक परिवर्तन र दलहरूप्रतिको ‘फ्रस्टे«सन’ हो। ‘जनता हाम्रा रैती हुन्’ भन्दै ‘जेपिटी’ (जे पायो त्यही) गर्ने दलहरूले अब बुझे हुन्छ, जनताले तिमीलाई अपदस्थ गरेर ज्ञानेन्द्र शाहलाई पुनः राजगद्दी दिलाउन सक्छन्। शायद त्यही संकेत पाएर होला, वैकुण्ठको भिसा लाग्नुअघि हजारौँ रहर र बाँकी इच्छाहरू हतारहतार पूरा गर्न हतारिएका छन् सत्तासीनहरू। राष्ट्र र जनतालाई बिर्सिएर उनीहरू उल्टो बाटो हिँडिरहेका छन्। यो प्रतिगमन हो कि होइन ?

प्रकाशित: १६ फाल्गुन २०७६ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App