coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द

पोखरा लेकसाइडको साँझपखको सुनसान दृश्य। पर्यटक आगमन खस्केपछि सिजनका बेलामा पनि लेकसाइड सुनसान बनेको छ। तस्बिर ः सन्तोष/नागरिक

पोखरा - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटक आगमनमा पनि असर पर्न थालेको छ। नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्न थालेका छन्।

कोरिया, जापानलगायत मुलुकका पर्यटकको बुकिङ पनि रद्द भइरहेको पर्यटन व्यवसायीले बताएका छन्। फेबु्रअरीदेखि सुरु हुने पर्यटकीय सिजनमा यो बेला चिनियाँसँगै, जापान, कोरियासहित युरोपियन मुलुकबाट पनि पर्यटक आउँथे। तर कोरिया, जापानलगायत मुलकका पर्यटकले बुकिङ रद्द गरिसकेको व्यवसायीले बताए। युरोपियन मुलुकका केही पर्यटकको बुकिङ अझैसम्म रहिरहे पनि भाइरस संक्रमण कम नभए ती मुलुकका पाहुनाको बुकिङ पनि रद्द हुनसक्ने चिन्ता व्यवसायीको छ।

माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईका अनुसार कोरियाका सबै पाहुनाको बुकिङ रद्द भइसकेको छ। फेब्रुअरीका लागि माउन्ट कैलाश बुकिङ गरेका चार समूह कोरियाली पाहुनाले बुकिङ रद्द गरिसकेको भट्टराईले जानकारी दिए। ‘सबै कोरियाली पाहुनाले फेब्रुअरीको बुकिङ रद्द गरिसके। मार्च–अप्रिलको बुकिङ कोरियनको छैन,’ भट्टराईले भने, ‘चिनियाँ नआउँदा नोक्सान खेपेका थियौं। अब त अरु मुलुकका पाहुनाको बुकिङ पनि रद्द हुन थाल्यो। त्यसले झनै मार पारेको छ।’

यतिबेला जापानी पाहुनाको सिजन पनि हो। तर, अहिलेसम्म जापानी पाहुनाको बुकिङ पनि नआएको उनले बताए। भारतीय पाहुनाको बुकिङसमेत नआएको भट्टराईले बताए। ‘एसियाली मुलुकका पाहुनाको आगमन नहुने अवस्था भयो। केही बुकिङ युरोपियन मुलका पाहुनाको छ। तर त्यो बुकिङ अनुसार पाहुना आउने हुन् वा नआउने भन्नेमा आशंका छ,’ उनले भने, ‘सबैतिरका पाहुनाको आगमनमा असर पारेको छ।’

मार्च ४ देखि ८ सम्म जर्मनीको बर्लिनमा हुने विश्वकै दोस्रो ठूलो ट्राभल मार्ट (आइटिबी बर्लिन २०२०)ले युरोपियन मूलका पाहुनाको भ्रमणको दिशानिर्देश गर्ने उनले बताए। केही गरी यो मार्ट रद्द भएको खण्डमा विश्वव्यापी पर्यटनमा ठूलो धक्का लाग्ने व्यवसायीको चिन्ता छ। सहभागी मुलुक कम भएमा यो मार्ट रद्द हुने र त्यसले पर्यटन क्षेत्रमा असर पार्ने व्यवसायी बताउँछन्। कोरानो भाइरस संक्रमण फैलिन सुरु गरेको चीनले यो मार्टमा सहभागिता नजनाउने निश्चित गरिसकेको व्यवसायीको भनाइ छ। यो मार्टमा नेपालका ठूला पर्यटन घरानाले पनि सहभागिता जनाउँछन्।

नेपालमा वर्षमा करिब ४० हजार कोरियाली पाहुना आउँछन्। त्यस्तै जापानी पाहुनाको आगमन पनि उल्लेख्य छ। नेपाल आउने जापानी पाहुनाको संख्या पनि बर्सेनि २५ हजार हाराहारी छ। नेपालमा फ्रेब्रुअरीमा करिब तीन हजार र मार्चमा चार हजार हाराहारी जापानी र कोरियन पाहुना आउने गरेको अघिल्ला वर्षको तथ्यांकले देखाउने गरेको छ।

कोरोना भाइरसको संक्रमणसँगै चिनियाँ आगमनमा असर परे पनि अरु मुलुकका पाहुना भने घुम्न आउनेमा व्यवसायी विश्वस्त थिए। तर अरु मुलुकका पाहुना आगमन पनि अनिश्चित बन्दै गएको व्यवसायीको गुनासो छ। लेकसाइडको डालिया होटलका आवासीय म्यानेजर तुलसी लामिछानेका अनुसार न्यून संख्यामा रहेको कोरियन पाहुनाको बुकिङ रद्द भइसकेको छ। डालियामा बुकिङ गरेका जर्मनी र जापानका तीन समुहको बुकिङ पनि रद्द भएको उनले बताए। ‘चिनियाँ आउन नसके पनि अरु मुलुकका पाहुना आउनेमा हामी ढुक्क थियौं। तर अरु मुलुकका पाहुना पनि आउने अवस्था रहेन,’ लामिछानेले भने, ‘कोरिया, जर्मनी, जापानका पाहुनाको बुकिङ रद्द भइसकेको छ। नयाँ बुकिङ आउने सम्भावना तत्काल छैन।’

सिजनको सुखद पर्खाइमा रहेका व्यवसायी एकाएक बुकिङ रद्द भएपछि थप चिन्तित बनेका छन्। यो पटकको सिजन खेर गएकाले अब सेप्टेम्बरमा सुरु हुने अर्काे सिजन पर्खिनुको विकल्प नरहेको उनीहरुको भनाइ छ। ‘विश्वव्यापी भाइरस संक्रमण फैलिँदै गएकोले आगामी सेप्टेम्बरसम्म पर्यटन क्षेत्रका लागि सहज अवस्था छैन। चिनियाँ मात्र नभई अरु मुलुकका पाहुना पनि आउने अवस्था देखिएन,’ लामिछानेले भने, ‘नाकाबन्दीले पारेको भन्दा अप्ठेरो अवस्था अहिले निम्तिएको छ। यसले पर्यटन क्षेत्रलाई ठूलो धक्का दिएको छ।’

होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी सिजनको बुकिङमा उच्च गिरावट आएको बताउँछन्। ‘चिनियाँको बुकिङ त पुरै रद्द भयो। अरु मुलुकका पाहुना पनि आउन डराएका छन्। यो बेला नेपाल आउने कोरियन, जापानीलगायत मुलुकका पाहुनाको पनि बुकिङ रद्द भइरहेको छ,’ केसीले भने, ‘बुकिङ रद्द नगरेका पाहुना पनि आउन डराएका छन्। नेपालमा अहिलेसम्म संक्रमण नफैलिए पनि विभिन्न मुलुक हुँदै भित्रिनु पर्दा पर्यटक हच्किएका छन्। कोरोनाले सबैजसो मुलुकमा हिँडडुलमा असर पारेको छ।’ मार्च–अप्रिल राम्रो सिजन मानिए पनि अहिलेको सिजनका लागि आगमन सोचेभन्दा बढी घटेको उनले बताए। अब नयाँ सिजन सेप्टेम्बरदेखि सुरु हुने र त्यो बेलासम्म अवस्था सहज भए मात्र पर्यटक आउनसक्ने केसीको भनाइ छ।

टेम्पल ट्री रिसोर्टका म्यानेजर कृष्ण आचार्यले पनि सिजनको बुकिङ निकै खस्केर आएको बताए। उनका अनुसार भाइरस संक्रमण फैलिइरहेका मुलुकका पाहुनाले भने धमाधम बुकिङ रद्द गरिरहेका छन् भने अहिलेसम्म सुरक्षित भनिएका मुलुकका पाहुना आगमन अवस्था पनि कमजोर रहेको उनले बताए। ‘बुकिङ रद्द हुने क्रम बढिरहेको छ। सुरुताका चिनियाँ आगमन मात्र रद्द भइरहेको थियो, यो बेला भने अरु मुलुकका पाहुनाको बुकिङ पनि रद्द भइरहेको छ,’ आचार्यले भने, ‘पर्यटन अवस्था कमजोर हुँदै गएको छ।’

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा कोरिया र जापानको पनि आगमन रद्द हुन थालेको बताउँछन्। ‘कोरोना भाइरसकका कारण एसियाली मुलुकको पर्यटन बजार नै कमजोर हुँदै गएको छ। युरोपेली पर्यटन अझै केही बचेको भए पनि एसियाली बजार खस्किएको छ,’ सापकोटाले भने, ‘बर्लिनको मार्ट केही गरी रद्द भयो भने यसले पर्यटनको विश्वव्यापी बजार डामाडोल बनाउँछ। कतिपय मुलुकले बर्लिनको त्यो मेलालाई पर्ख र हेरको अवस्थामा विश्लेषण गरेर पर्खिरहेका छन्।’

प्रकाशित: १६ फाल्गुन २०७६ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App