coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्ली हिंसामा मर्नेको संख्या ३८ पुग्यो

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ३८ पुगेको प्रहरीले जनाएको छ। स्वास्थ्य अधिकारीका अनुसार झडपका क्रममा झन्डै साढे तीन सय घाइते भएका छन्। हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दंगा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ।

विवादास्पद नागरिकता कानुनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेको छ। यसक्रममा सयभन्दा बढीको ज्यान गइसकेको छ। पछिल्लो हिंसात्मक झडप उक्त कानुनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीका घर, पसल, मस्जिद, विद्यालय, टायर बजार र पेट्रोप पम्पमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए। दिल्ली प्रहरीका प्रवक्ता मन्दीप रन्धवाले बुधबारयता ठूलो हिंसात्मक झडप नभएको र अघिल्ला दिनको तुलनामा परिस्थिति शान्त देखिएको बताए।

केही मानिसले प्रहरीको मद्दत माग्दै फोन गरेका र त्यहाँ तत्काल प्रहरी पुगेको पनि उनले जानकारी दिए। गत आइतबार मुस्लिम समुदायका व्यक्तिले नागरिकता कानुनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रणबाहिर पुगेको थियो। स्थानीयवासीले दिल्ली प्रहरीले हिंसामा उत्रिएको समूहलाई नियन्त्रणमा ल्याउन कुनै प्रयास नगरेको आरोप लगाएका छन्।

गत डिसेम्बरमा मात्र उत्तर प्रदेशका मुस्लिम बहुल इलाकामा भएका प्रदर्शनमा कम्तीमा ३० व्यक्तिको ज्यान गएको थियो। संशोधित नागरिकता कानुन र राष्ट्रिय अभिलेख रजिस्टरका नाममा आफूहरूलाई राज्यविहीन बनाउने भारत सरकारको कुत्सित मनसाय देखिएको मुस्लिम समुदाय र बौद्धिक समूहको दाबी छ। तर, भारत सरकारले कुनै पनि मुस्लिमलाई राज्यविहीन नबनाउने बताइसकेको छ।

नयाँ दिल्लीको सर्वाधिक प्रभाव परेको उत्तर–पूर्वी क्षेत्रमा विद्यालय बन्द गरिएका छन् भने ठाउँ–ठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ। भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेता र प्रहरी अधिकारीसँग कुराकानी गरेका छन्।

उनले दिल्लीको पछिल्लो अवस्थाका बारेमा विस्तृत प्रतिवेदन केन्द्र सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन्।
मोदी नेतृत्वको सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएपछि यसको पक्ष र विपक्षमा निकालिएको प्रदर्शनले हिंसात्मक रूप लिएको हो।

हिंसा पीडितलाई दिल्ली सरकारले राहत दिने
दिल्ली सरकारले यहाँका हिंसा पीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ। उपमुख्यमन्त्री मनिश सिसोदिया, मन्त्री कैलाश गहलोट र वरिष्ट अधिकारीहरू सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।

यसअघि मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तन लालको परिवारलाई एक करोड भारतीय रूपैयाँका साथै परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेका थिए।रत्तन लालको उत्तरपूर्वी दिल्लीमा भएको हिन्दु – मुस्लिम दंगाका क्रममा ज्यान गएको थियो।

बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री दुवैले हिंसा प्रभावित उत्तर–पूर्वी दिल्लीको भ्रमण गरेका थिए। दुवैले स्थानीय मानिससँग भेटघाट गरी शान्ति कायम राख्न आग्रह गरेका थिए। दिल्ली हिंसामा एक प्रहरीसहित कम्तीमा ३२ जनाको मृत्यु र दुई सय घाइते भएका छन्।

प्रकाशित: १६ फाल्गुन २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App