coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लगानी अभावमा सात वर्षदेखि अलपत्र

करिब सात वर्षअघिदेखि निर्माणधीन रहेको सिन्धुलीगढी फलफूल प्रशोधन उद्योगको भवन। तस्बिर ः अनिल भण्डारी/नागरिक

सिन्धुली - सिन्धुलीमा निर्माणधीन फलफूल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्षअघि निर्माण सुरु भएको उक्त उद्योग लगानी अभावमा अलपत्र परेको छ। कमलामाई नगरपालिका–४ मा निर्माणाधीन उक्त उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

नेपाल सरकारको थ्रिपिपी मोडेलअन्तर्गत सरकार, उद्योगी र किसानको समेत लगानी गरेर कुल ६ करोड रुपैयाँ लागतमा सिन्धुलीगढी जुनार तथा फलफूल प्रशोधन कम्पनीले सात वर्षअघि उक्त उद्योग निर्माण सुरु गरेको थियो। उद्योग वाणिज्य महासंघमार्फत आउने सरकारी अनुदान रोकिँदा उक्त उद्योगको निर्माण अधुरो रहेको सञ्चालक समिति सदस्य दिपक कोइरालाले बताए।

उनका अनुसार उक्त उद्योग निर्माणका क्रममा अहिलेसम्म सरकारको करिब दुई करोड अनुदान र किसानको लगानीसमेत गरेर चार करोडभन्दा बढी खर्च भइसकेको छ। भौतिक संरचना निर्माण पूरा भइसकेको छ,’ उनले भने, ‘हाल उद्योगमा भवन र ग्रेडिङ मेसिन मात्रै रहेको छ। जुस उत्पादन गर्ने मेसिन पूरा भएको छैन। उद्योग वाणिज्य महासंघको एक गाँउ, एक उत्पादन परियोजनाअन्तर्गत उक्त उद्योग निर्माण सुरु गरिएको भएको थियो।

उद्योग वाणिज्य महासंघको नेतृत्व परिवर्तनसँगै लगानीमा हात झिकेपछि सरकारले दिने बाँकी करिब दुई करोड रोकिएकाले उद्योग अलपत्र परेको सञ्चालक बताउँछन्। उद्योगले निर्माण पूरा गरी परीक्षणका रुपमा जुनारको जुस पनि तीन वर्षअघि नै उत्पादन गरेको भए पनि हाल सञ्चालनमा आउन नसकेको उद्योग वाणिज्य संघ सिन्धुलीका अधिकृत रामुकमार राजभण्डारीले जानकारी दिए। उद्योग सञ्चालनमा आउन नसक्नुको कारण भने आफूलाई पनि थाहा नभएको उनले बताए।

पाँच कट्ठा क्षेत्रफलमा निर्माण भएको उद्योगको कुल लागत ६ करोड रुपैयाँ रहने प्रारम्भिक अनुमान थियो। नेपालमै जुनार उत्पादनमा प्रशिद्ध सिन्धुली जिल्लामा उक्त उद्योग स्थापना भएपछि आफूहरुले जुनार खेतीबाट राम्रो आम्दानी लिन सफल हुने जुनार किसानको अपेक्षा थियो। तर उद्योग अलपत्र परेसँगै किसानको अपेक्षासमेत वर्षौदेखि अलपत्र परेको छ। जिल्लामा एक हजार पाँचसय ३५ हेक्टरभन्दा बढी जमिनमा जुनार खेती भएको छ। विशेषतः जुनार, भुँइकटहर र आँपलाई प्रशोधन गरी गुणस्तरीय फलफूल बजारमा पु¥याउने उद्देश्यले उक्त उद्योग निर्माण सुरु भएको थियो। उक्त फलफूल प्रशोधन उद्योगमा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्य समेतको लगानी रहेको सञ्चालक समितिले जनाएको छ।

समितिका सेयरधनि सदस्य कृष्णप्रसाद गौतम भौतिक संरचना निर्माणको सबै काम सकिएर मेसिन ल्याउन नसकी उद्योग सञ्चालनमा नआएकाले लगानी गर्ने किसान निरास बनेका बताउँछन्। मेसिन ल्याउन एक करोड २५ लाख रुपैयाँ चाहिन्छ, त्यो छैन,’ उनले भने, ‘फलफूललाई प्रशोधन गरेर प्याकिङ गरी अन्तर्राष्ट्रिय गुणस्तरको जुनार, भुँइकटहर र आँपलाई बजारमा पु-याउने मुख्य उद्देश्य रहेको हो, तर अब थप लगानी गर्न सक्ने अवस्था सञ्चालक समितिमा देखिएन।

जुनार किसानको समेत लगानी सेयर रहेको उक्त फलफूल उद्योग सञ्चालनमा आउन नसकेपछि किसान चिन्तित बनेका छन्। जिल्लामा पहिलो पटक खुल्न लागेको उद्योग नै अलपत्र बनेपछि थप उद्योग खोल्न कुनै लगानीकर्ता आउन नसकेको किसान बताउँछन्। निर्माणाधीन उद्योग सञ्चालनमा आउन नसकेपछि फलफूल प्रशोधन उद्योगका नाममा अरु उद्योग कुनै दाताबाट खुल्ने सम्म्भावना नरहेको स्थानीय बताउँछन्।

प्रकाशित: १५ फाल्गुन २०७६ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App