७ वैशाख २०८१ शुक्रबार
अर्थ

सात महिनामा ५४ अर्ब बिमा शुल्क संकलन

काठमाडौं - मुलुकका जीवन बिमा कम्पनीले करिब ५४ अर्ब तीन करोड रुपैया बिमा शुल्क आर्जन गरेका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा १९ जीवन बिमा कम्पनीले उक्त बिमा शुल्क आर्जन गरेका हुन्। जीवन तथा निर्जीवन बिमा कम्पनीको नियामक निकाय बिमा समितिका अनुसार सो अवधिमा यी जीवन बिमा कम्पनीले नवीकरण बिमा शुल्कमार्फत ३५ अर्ब १६ करोड, प्रथम बिमा शुल्कमार्फत १७ अर्ब ९० करोड र वैदेशिक रोजगार बिमामार्फत एक अर्ब ४४ करोड गरी कूल ५४ अर्ब तीन करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।

यी जीवन बिमा कम्पनीले सो अवधिमा ६६ लाख २५ हजार आठ सय ४७ जीवन बिमालेख तथा आठ लाख ५३ हजार ३७ वैदेशिक रोजगार बिमालेख जारी गरेको समितिले जनाएको छ। समितिका अनुसार सो अवधिमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा शुल्क आर्जन गरेका छन्।

सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्स करिब १६ अर्ब ११ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। त्यस्तै सोही अवधिमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। त्यसैगरी, एलआइसी नेपाल बिमा शुल्क बढी आर्जन गर्नै दोस्रो स्थानमा छ। कम्पनीले माघ मसान्तसम्म करिब आठ अर्ब ८४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको समितिले जनाएको छ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थानले सो अवधिमा ६ अर्ब १८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ भने नेसनल लाइफ इन्स्योरेन्सले सो अवधिमा चार अर्ब ६० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। समितिका अनुसार सो अवधिमा दुई अर्बभन्दा बढी बिमा शुल्क आर्जन गर्ने कम्पनी एसियन लाइफ र युनियन लाइफ कम्पनी रहेका छन्। सो अवधिमा एसियन लाइफले दुई अर्ब ६५ करोड, युनियन लाइफले दुई अर्ब ८८ करोड बिमा शुल्क आर्जन गरेका हुन्।

त्यस्तै सो अवधिमा पाँचवटा जीवन बिमा कम्पनीले एक अर्बभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन्। बिमा समितिका अनुसार सूर्या लाइफले एक अर्ब ९१ करोड, मेटलाइफले एक अर्ब ७२ करोड, प्राइम लाइफले एक अर्ब ६९ करोड, गुराँस लाइफले एक अर्ब ११ करोड, रिलायबल लाइफले एक अर्ब २६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।

समितिका अुनसार चालु आवको माघ मसान्तसम्म आठ जीवन बिमा कम्पनीले एक करोडभन्दा कम बिमा शुल्क आर्जन गरेका छन्। सो अवधिमा सिटिजन लाइफले ९६ करोड, ज्योति लाइफले ८९ करोड, रिलायन्स लाइफले ७१ करोड, आइएमई लाइफले ६९ करोड, सन नेपाल लाइफले ६७ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेक छन्।

त्यस्तै सानिमा लाइफले ४८ करोड, प्रभु लाइफले ३८ करोड र महालक्ष्मी लाइफले ३० करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको समितिले जनाएको छ। हाल मुलुकभर २० निर्जीवन बिमा कम्पनीसहित ३९ वटा बिमा कम्पनीले जीवन तथा निर्जीवन बिमासम्बन्धी सेवा प्रदान गर्दै आएका छन्।

प्रकाशित: १५ फाल्गुन २०७६ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App